काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन। बिहीबार राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई मोदीले बधाई र सफल कार्यकालको शुभकामना दिएका हुन् ।
टेलिफोन कुराकानीमा मोदीले आफु प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको धारणा ब्यक्त गरेका छन्। मोदीले नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छन्।
जवाफमा प्रधानमन्त्री ओलीले बधाई तथा शुभकामना दिएकोमा मोदीलाई धन्यवाद व्यक्त गर्दै आफ्नो ध्यान विकास र समृद्धिमा केन्द्रित रहेकाले भारतसँगको मित्रता अझ सुदृढ बनाउन प्रयासरत रहने धारणा राखेका थिए।
ओलीले प्रधानमन्त्रीमा नियुक्ति पाएलगत्तै बिहिबार नै मोदीले भारतीय राजदुत मञ्जितसिंह पुरीमार्फत शुभकामना पत्र पठाउँदै प्रधानमन्त्री ओलीको नेतृत्वमा देशले स्थायित्व पाएर आर्थिक विकास र समृद्धि हासिल हुने विश्वास व्यक्त गरेका छन्।
नेपाल र भारतको प्रगाढ विश्वास, सदभाव र पारस्परिक विश्वासमा आधारित युगौं पुरानो सम्बन्धलाई विकास गर्न आफूहरुले उच्च महत्व दिने र त्यसका लागि नेपाली जनता र सरकारको साथमा रहेर विकासका लागि सहयोग गर्न तयार रहेको शुभकामना पत्रमा उल्लेख छ।