Prakash Adhikari June 15, 2021

काठमाडौं, १ असार । नेपालमा मनसुन प्रवेश गरेको हप्ता दिन पुगेको छैन तर बंगालको खाडीबाट उत्पन्न मनसुनी वायुप्रणाली पूर्वी नेपालबाट प्रवेश गरेर सूदुरपश्चिम छिचोल्न नभ्याउदै पश्चिम नेपालका हिमाली र पहाडी जिल्लाहरुमा बाढी र पहिरोको प्रकोप देखा परेको छ । सामान्यत बाढी र पहिरो नसुनिने वरु हिउँदमा हिमपातका खबर आउने हिमाल पारिका जिल्ला भनिने मनाड. र मुस्ताड.मा पनि बाढीको प्रकोप देखा परेको छ । मनाड.को सदरमुकाम चामे जोखिममा परेको छ भने मुस्ताड.को लुप्रा गाउँ जोखिममा परेको छ ।

मनाड.मा ३ सय विस्थापित

लगातारको वर्षाका कारण आएको बाढीले विस्थापित भएका मनाङका तीन सय जनालाई सुरक्षित ठाउँमा सारिएको छ।

डुबानमा परेकाहरुलाई मंगलबार स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको टोलीले स्थानान्तरण गरेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) विष्णु लामिछानेले जानकारी दिनुभएको छ ।

ताल गाउँ, चामे बजारका स्थानीयबासीसँगै जोखिममा रहेका अन्यलाई पनि सुरक्षित ठाउँमा सार्न स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली खटिरहेका छन्।

नासोँ गाउँपालिका–१ ताल गाउँका ५० घर र जिल्ला सदरमुकाम चामेका पाँच घर डुबानमा परेको छ । अहिलेसम्म प्राप्त जानकारी अनुसार चामेकै तीन घर बगाएको छ भने १६ घर उच्च जोखिममा रहेको छ ।

सिडिओ लामिछानेका अनुसार बाढीले तिमाङ खोलाको बेलिब्रिज, मनाङको नयाँ बजारमा रहेको घट्टेखोलाको काठेपुल बगाएको छ भने पक्की पुलमा आंशिक नोक्सानी पुर्याएको छ।

यस्तै, जिल्लाको हुलाक कार्यालय र तिमाङ खोलामै रहेको ३२ किलोवाटको स्यल्क्यु खोला लघु जलविद्युत गृह बगाएको उनले बताए। लघु जलविद्युत बगाएपछि त्यहाँ बत्तीको आपूर्ति पूर्णरुपमा ठप्प भएको छ ।

त्यस्तै, धारापानीको केही घरमा क्षति पुगेको छ भने, नासोँ गाउँपालिका—१ स्थित ताल बजारमा रहेको सबै घरहरु उच्च जोखिम बनाएको छ ।

 

मुस्ताड.को लुप्राका १५ घर उच्च जोखिममा

मुस्ताङमा बाढीका कारणन १५ घर उच्च जोखिममा परेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढी आएको हो ।

सोमबार दिउँसो लुप्रा खोलामा एक्कासि लेदोसहितको बाढी आएको गाउँपालिका प्रमुख फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिनुभयो । ‘‘माथितिर जमेर बसेको हिउँ हुन्छ । त्यही हिउँ पग्लने र एकैचोटी ठूलो पानी पर्दा बाढी आएको हो’’, उहाँले भन्नुभयो । अहिले सो क्षेत्रमा निरन्तर बर्षा भैरहेको छ ।

खोलामा बाढी आएको जानकारीपछि जिल्लाका सुरक्षा निकायबाट उक्त क्षेत्रको अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले हिमताल फुटेकोबारे जानकारी नभए पनि हिमपहिरोको सम्भावना भएको बताउनुभयो ।

बेँसीशहर—चामे सडक अवरुद्ध

आइतबारदेखि निरन्तर वर्षाले आज बाढीसहित पहिरो जाँदा बेँसीशहर—चामे सडक, खेल मैदान र बङ्गुर बगाएको छ । मनाङ जोड्ने बेँसीशहर चामे सडकअन्तर्गत जिल्लाको बेँसीशहर नगरपालिका—६ स्थित खरखरे भीरस्थित सडक बाढी पहिराले बगाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार मस्र्याङ्दी नदीले सडक काटको छ भने भीरबाट ठूलाठूला ढुङ्गासहितको पहिरो आएकोले सडक अवरुद्ध भइरहेको छ । यहाँ करीब ३० मिटर सडक भासिएको छ ।

त्यस्तै मस्र्याङ्दी गाउँपालिका—४ रामबजारमा रहेको  बाघेता युवा क्लवको खेल मैदान मस्र्याङ्दी नदीले बगाएको छ । क्लबका अध्यक्ष विष्णु गुरुङका अनुसार नदीमा पानीको बहाव वृद्धि हुँदा १० मिटर जति खेलमैदान बगाएको र अझै खेल मैदान बगाउने क्रम जारी रहेको छ । खेल मैदान यसै वर्ष गण्डकी प्रदेश सरकारको रु २० लाख र मस्र्याङ्दी गाउँपालिकाको रु पाँच लाख गरी रु २५ लाखमा निर्माण गरिएको थियो ।

त्यस्तै, सोही वडाको जगतमा चन्द्रबहादुर गुरुङको बङ्गुर फार्मसहित ५०÷ ५० किलोको दुई वटा बङ्गुर बगाएको वडाध्यक्ष सुमन गुरुङको भनाइ छ । निरन्तर परेको पानीले विभिन्न स्थानबाट बाढी आउनुका साथै मस्र्याङ्दी नदीलगायत खोलाहरुमा पानीको बहाव बढिरहेकाले अझै क्षति हुन सक्ने वडाध्यक्ष गुरुङको भनाइ छ । उहाँले भन्नुभयो, “भौतिक क्षति भएपनि हालसम्म मानवीय क्षति भने हुन पाएको छैन ।”

यस सडकखण्डमा पर्ने सोही वडाको रामबजार पनि बाढीले केही घरहरु उच्च जोखिममा परेको वडाध्यक्ष गुरुङले बताउनुभयो । यहाँ विसं २०७५ मा पनि केही स्थानीयवासीलाई बाढीले बगाएको थियो भने घरहरुमा क्षति पुगेको थियो ।

सुपरदोर्दी ‘ख’ मा बाढी 

पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट जलविद्युत् आयोजनामा दोर्दी खोलामा आएको बाढी पसेको छ । केही दिनबाट निरन्तर परेको पानीले आज बिहान दोर्दी खोलामा बाढी आउँदा यस आयोजनाको बाँधस्थल भरिएर आयोजनाको सुरुङ, पार्किङ स्थललगायतका स्थानमा बाढी पसेको हो ।

आयोजनाको मुख्य सिरुङमा बाढी पस्न थालेसँगै सुरुङभित्र काम गर्दै गरेका ५०÷६० जना कामदारको सहकुशल उद्धार गर्न सफल भएको आयोजनाले जनाएको छ । आयोजनाका साइट इन्चार्ज रमेश सिग्देलका अनुसार आयोजनाको विभिन्न भागमा दोर्दी खोलामा आएको बाढी छिरेको छ । हालसम्म आयोजनामा रहेको एउटा ट्याक्टर, पम मेशिनलगायतका सामग्री बाढीले बगाएको छ । आयोजनामा करीब रु १० करोडको क्षति भएको बताइएको छ ।

बाढीले बाँघ स्थलमा रहेको सिमेन्ट बालुवा खोल्ने ब्याटिङ प्लान्ट बगाउन लागेको आयोजनाका लेखा अधिकृत रामबहादुर काफ्लेले बताउनुभयो । खोलामा असामान्य बाढी आएकाले अझै आयोजनामा क्षति हुन सक्ने उहाँको भनाइ छ । यस आयोजनामा बाढी पसेसँगै सबै निर्माणका कार्य राकिएको आयोजनाले जनाएको छ ।

बागलुङमा पाँच घर विस्थापित, सडक अवरुद्ध

वर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर विस्थापित भएका छन् । काठेखोला गाउँपालिका–७ जिरेदीमा घरमाथी र घरमुनीबाट पहिरो गएपछि ती परिवार विस्थापीत भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सदरमुकाम बागलुङ बजार हुँदै रेश जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भासिँदा घरमाथि पहिरो आएको हो । जिरेदीका चित्रबहादुर कार्कीको घरमाथीबाट पहिरो आएको वडाअध्यक्ष प्रेम जिसीले बताउनुभयो । सोही ठाउँकै बलबहादुर जिसी र कृष्ण जिसीलगायतका घर पहिरोको उच्च जोखिममा छन् । सबै परिवारका सदस्यलाई अन्यत्रै सार्न थालिएको छ । वर्षा र पहिरो नरोकिएकाले विस्थापित तीन परिवारलाई सुरक्षित स्थानमा सार्ने लागिएको हो ।

पहिरोका कारण बागलुङ सदरमुकाम र स्थानीय तहबीचको सडक सञ्जाल टुटेको छ । कालिगण्डकी करिडोरको मालढङ्गामा पहिरोले अवरुद्ध गरेको छ । बागलुङ–कुश्मीशेरा सडक, बागलुङ–बरेङ सडक, मध्यपहाडी लोकमार्ग र पालिका मुकामबाट वडाकार्यालय तथा गाउँ वस्ती जोड्ने सबै सडकका ठाउँ ठाउँमा पहिरो खसेको छ ।

सेतीवेणी बजार डुबानमाः १० घर विस्थापित

अबिरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका—६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला र स्याङ्जातर्फको बजार डुबानमा परेको हो ।

कालीगण्डकीमा पानीको सतह २८ वर्षयताकै उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्णरुपमा डुबानमा परेको स्थानीयवासी तिलक पराजुलीले जानकारी दिनुभएको छ । उहाँका अनुसार आज बिहान ४ बजेदेखि बजार क्षेत्र डुबानमा पर्न थालेपछि १० घर विस्थापित बनेका छन् । ती १० घरमा रहेका सामान र मानिसलाई सुरक्षित स्थानमा सारिएको उहाँले बताउनुभयो ।

नदीको बहाब उर्लिएर बजार क्षेत्रमै आइपुगेपछि व्यवसायीहरु सुरक्षित स्थानमा सामान सार्न व्यस्त छन् । “पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायतका सबै संरचना समेत डुबाएको छ”, पराजुलीले भन्नुभयो । बजारवासीलाई संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबिन समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारहरु पनि पूर्ण रुपमा क्षति पुगेको उहाँले बताउनुभयो । पानीको बहाब ह्वात्तै बढेपछि स्थानीयवासी रातभर जाग्राम बसेका थिए । कालीगण्डकी र सेती खोला दुवैको बहाब उच्च हुँदा समस्या भएको हो ।

मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्गजा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीबेणी बजार डुबानको खतरामा पर्ने गरेको हो । सेतीबेणी बजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्गजातर्फको बजार क्षेत्रमा झण्डै २०० व्यापारी तथा सर्वसाधारण त्रसित बनेका हुन् ।

विगत ११ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार बिस्थापित बनेका थिए । विसं २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरुमा सधैँभर त्रास थप्ने गरेको स्थानीय व्यावसायी विष्णु न्यौपानेले बताउनुभयो । कालीगण्डकीमा पानीको सतह बढेपछि कालीगण्डकी ‘ए’ को बाँधका सबै ढोका खोल्न लगाइएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।

तम्घास–रिडी –रुद्रवेणी सडक अवरुद्ध

लगातार वर्षाका कारण पहिरो खसेपछि गुल्मीको तम्घास–रिडी र रिडी–रुद्रबेणी सडक अवरुद्ध भएको छ । तम्घास–रिडी सडक खण्डअन्तर्गत रेसुङ्गा नगरपालिका—१३ को भगाँरी खोलामा गएराति पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । त्यसैगरी गुल्मीकै रिडी–रुद्रबेणी सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका—२ साँघुरेमा आज बिहान सडक माथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि सडक पनि अवरुद्ध भएको छ ।

अवरुद्ध सडक खुलाउनका लागि स्थानीय नगरपालिका र गाउँपालिकाले पहल गरे पनि पानी परिरहेका कारण पहिरो पन्छाउन समस्या परेको रेसुङ्गा नगरपालिका—१३ का वडाध्यक्ष खुमबहादुर खत्रीले जानकारी दिनुभयो । बिहानैदेखि सडक अवरुद्ध बनेपछि एम्बुलेन्स, निर्माण सामग्री, दूध र खाद्यान्न ओसारपसार गर्ने यातायातका साधनहरु बीच बाटोमै रोकिएका छन् ।

लगातार वर्षाका कारण जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनारा र पहिरोग्रस्त क्षेत्रका बासिन्दालाई सर्तक रहन र सुरक्षित स्थानमा वसोवास गर्न आग्रह गरेको छ । वर्षाका कारण ठाउँठाउँमा ससाना पहिरो खसेको र सडक भत्किएका कारण जिल्लाको इन्द्रेगौंडा–वामीटम्सार, रुद्रबेणी–पुर्तिघाटलगायत एक दर्जनभन्दा बढी सडकहरु समेत अवरुद्ध छन ।

कर्णाली राजमार्ग अवरुद्ध 

लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।  सुर्खेत–जुम्ला सडकका  ठाउँठाउँमा पहिरो खस्दा राजमार्ग  अवरुद्ध भएको हो ।

दैलेखको किटु, कालिकोटको गगनेखोला, हुल्म, सुनार खोला, पिली सेराबाड़ा, खल्लागाड र भिग्ममा पहिरो खसेको जनाइएको छ । आज पहिरो पन्छाए  पनि वर्षा नरोकिएकोले पुनः अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । “राजमार्ग अवरुद्ध हुँदा कालिकोट, जुम्ला र मुगुका लागि दैनिक उपभोग्य सामान र निर्माण सामग्री बोकेर आएका गाडी बाटोमा रोकिएका छन् ।” उहाँले भन्नुभयो,“वर्षा नरोकिएका कारणले पहिरो पन्छाएपनि पुनः पहिरो आउँदा राजमार्ग खुलाउन समस्या भएको छ ।”

साँफे–मार्तडी राजमार्ग तथा विद्युत् आयोजना अवरुद्ध

अबिरल वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गका विभिन्न ठाउँहरुमा पहिरो आएपछि यातायात अवरुद्ध बनेको हो ।

राजमार्गको बार्जुगाडदेखि मार्तडीका विभिन्न ठाउँमा पहिरो आएपछि अवरुद्ध बनेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले राससलाई बताउनुभयो । उहाँका अनुसार बार्जुगाडको खोलादेखि मार्तडीसम्म पहिरो आउने क्रम नरोकिएकाले राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको अम्कोटमा बढी पहिरो बग्न थालेपछि अन्य क्षेत्रभन्दा जोखिम रहेको छ ।

उहाँले दिएको जानकारी अनुसार सडक विभागलाई राजमार्गमा आएको पहिरो स्काइभेटर लगाएर पन्छ्याउन लगाएपनि वर्षा नरोकिएकाले बाटो खुलाउन सकिएको छैन ।

बार्जुगाड, बल्दे, अम्कोट, पानीनाउलालगायतका पाँच ठाउँमा पहिरो बग्न नरोकिएकाले राजमार्ग खोल्न तत्काल सम्भव देखिएको छैन । माथिबाट पहिरो खस्ने क्रम जारी रहेकाले तत्काल राजमार्ग खुलाउन कठिनाइ भएको प्रजिअ अधिकारीको भनाइ रहेको छ ।

जिल्लाका लागि धनगढीबाट खाद्यान्न लिएर आएका ट्रक र ट्याक्टरहरु बेतालमाडौंँमा रोकिएका छन् । राजमार्ग अवरुद्ध भएपछि बिरामीलाई जिल्ला बाहिर लैजान थप समस्या हुने भएको छ  भने जिल्लामा खाद्यान्न समेत अभाव हुने देखिन्छ ।

यसैगरी जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक पनि अवरुद्ध भएको छ । लगातारको वर्षासँगै बाउली खोला र अनै खोलामा पानीको बहाब बढेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मार्तडी–कोल्टी सडकका विभिन्न ठाउँहरुमा पनि स–साना पहिरो खस्ने गरेकाले उक्त क्षेत्रको सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिनुभयो ।

मार्तडी घटमुना जोड्ने सडक पनि अबिरल वर्षाका कारण अवरुद्ध बनेको छ । बाउली खोलामा पानीको बहाब बढेको र उक्त सडकको विभिन्न ठाउँमा स—साना पहिरो खस्ने गरेकाले सडक अवरुद्ध बनेको हो । गौमुल गाउँपालिकाको केन्द्र घटमुनासम्म जोडिएको उक्त सडकसँगै जिल्लाका अन्य ग्रामीण सडक समेत अवरुद्ध बनेका छन् ।

जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जल विद्युत केन्द्रबाट हुने विद्युत् उत्पादन अनियमित हुन थालेको छ । विद्युत्को नहरमा बालुवा थुप्रिदै गएपछि विद्युत् सेवा अनियमित हुनुको साथै अवरुद्ध हुने गरेको साना जलविद्युत् केन्द्रका व्यवस्थापक दयाराम पण्डितले बताउनुभयो ।

उहाँका अनुसार विद्युत् सञ्चालनका लागि ल्याएको बाउली खोलामा पानीको बहाब बढ्दै गएकोले  नहरमा बालुवा  भरिने गरेकाले विद्युत् अवरुद्ध हुने गरेको छ । खोलामा बाँध नबाँधिएकाले अहिले पानीको बहाब बढ्न थालेपछि नहरमा गएर पानी फर्काउने अवस्था नहुँदा विद्युत् अवरुद्ध बनेको व्यवस्थापक पण्डितको भनाइ छ ।

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

सोमबार रातिदेखिको वर्षाका कारण डोटीको जोरायल गाउँपालिका–१ गैरामा पहिरो आउँदा अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । सडक माथिबाट आएको पहिराका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । पहिरोले राजमार्ग अवरुद्ध भएपछि अहिले तराइँबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर आइरहेका दर्जनौं सवारी साधनबीच बाटोमै रोकिएको प्रहरी चौकी गैराले जनाएको छ ।

सडक डिभिजन कार्यालयको डोजरले पहिरो पन्छाउने काम गरीरहेको स्थानीयवासी मोहन मल्लले जानकारी दिनुभयो । जिल्लामा गएरातिदेखि लगातार वर्षात् भइरहेको छ भने ठाउँठाउँमा पहिरा आएर सडक अवरुद्ध भएको बताइएको छ । पहिराका कारण अवरुद्ध भएको भएको राजमार्ग सञ्चालनका लागि प्रहरी टोली परिचालन गरिएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो ।

नदी तटीय बासिन्दालाई सतर्क रहन आग्रह

स्थानीय प्रशासनले नारायणी, राप्तीलगायतका नदी किनारामा रहने बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेको हो । कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा मौसमको समय शुरु हुन लागेकाले जिल्लाका धेरै स्थानमा बाढी, पहिरो, नदी कटानको सम्भावना रहेकाले आमनागरिकलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

सूचनामा बाढी आएको समयमा नदीमा माछा मार्ने, पौडी खेल्ने र दाउरा सङ्कलनको काम नगर्नरनगराउन अनुरोध गरिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा ठाउँठाउँमा खस्यो ढुङ्गा

नारायणगढ–मुग्लिन सडकखण्डको ठाउँठाउँमा ढुङ्गा र लेदो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकका विभिन्न ठाउँमा ढुङ्गा र लेदो  खसेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार सडकखण्डको सात दोबाटो र घुमाउनेमा ठूलो ढुङ्गा खसेर सडक एकतर्फी सञ्चालनमा आएको छ । कालिखोला, जलवीरे, सत्र किलोलगायतका ठाउँमा ढुङ्गा र लेदो खसेको उहाँले जानकारी दिनुभयो । सडकमा खसेका ढुङ्गा पन्छाउनका लागि डिभिजन सडक कार्यालयसँग समन्वय भइरहेको उहाँले बताउनुभयो । निरन्तरको वर्षाका कारण ढुङ्गा पन्छाउन कठिन भएको उहाँले जानकारी दिनुभयो ।

गण्डक ब्यारेजका सबै ढोका खुला

लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । मङगलबार नारायणी नदीको देवघाट जल मापन केन्द्रमा नदीले चेतावनीको सतह पार गरेपछि यस क्षेत्रमा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको नवलपरासी पूर्व नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनुभयो ।

गण्डक ब्यारेजमा ढोका खोल्ने समयमा दुई लाख क्युसेक पानी मापन गरिएको थियो । सोमबारदेखि परेको लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बाहव बढ्दा यसले पु¥याउने क्षतिलाई ध्यानमा राख्दै भारतीय पक्षसँगको समन्वयमा सबै ढोका खोलिएको पंगेनीले बताउनुभयो ।

गण्डक ब्यारेजमा दुई लाख पचास हजार क्युसेक पानीलाई चेतावनीको तह र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ । पानीको सतहले चेतावनीको तह पार गर्नुपूर्व नै दुवै पक्षको सहमतिमा सबै ढोका खोलिएको उहाँले बताउनुभयो ।

निमार्णको समयमा गण्डक ब्यारेजको क्षमता ७ लाख क्युसेक प्रतिसेकेन्ड भए पनि अहिले यसले ४ देखि ५ लाख क्युसेक प्रतिसेकेन्ड मात्र भार बहन गर्न सक्ने अनुमान छ । नदीमा पानीको सतह बढेपछि गण्डक कमाण्डका स्थानीयलाई सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले आग्रह गरेको छ ।

अविरल वर्षाको कारण नवलपुर सहित देशभरको जनजीवन प्रभावित भएको छ । नवलपुरमा भने अहिलेसम्म केही अप्रिय घटना नभएको भएपनि नदी तटीय क्षेत्रका स्थानीयलाई सर्तक रहन प्रशासनले अनुरोध गरेको छ । नवलपुरको पहाडी क्षेत्रमा पहिरो र भित्री मधेशमा बाढी तथा तल्लो क्षेत्रमा डुवानको जोखिम रहने गर्छ ।

नवलपुरको गिरुवारी, अरुणखोला, विनयी, केरुङ्गे, लोकाहा, बौलाह, झरही, जय श्री लगायतका खोलाहरुमा बढ्दो पानीको सतहका कारण जोखिम रहेको छ । सो आसपासमा जमिन कटान सहित बाढी र डुवानको खतरा रहने हुँदा त्यसतर्फ सजग रहन प्रशासनले अनुरोध गरेको हो ।

जिल्लाको मध्यविन्दु नगरपालिकाको विभिन्न स्थान, कावासोती नगरपालिकाको केरुङ्ग क्षेत्र र नारायणी तटीय क्षेत्र, रजहर, पिप्रेहनी, गैंडाकोट, त्रिवेणी लगायतको क्षेत्रमा वर्षेनी बाढी तथा डुवानले ठूलो क्षति पु¥याउने गरेको छ । यस वर्ष मनसुनको आगमनसँगै यसको प्रभावको पूर्व आँकलन गर्ने र सो बाट हुन सक्ने क्षतिलाई सक्दो कम गर्ने गरी जिल्ला विपद व्यवस्थापन समितिले तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी पँगेनीले बताउनुभयो । सोही योजना अन्र्तगत नारायणी नदीमा पानीको सतह बढ्न थाले पछि नै सबै ढोका खुल्ला गरिसकेको उहाँले बताउनुभयो ।

गत वर्ष मध्यविन्दु नगरपालिका–३ रतनपुर क्षेत्रमा नारायणी नदीले बस्ती क्षेत्रमा नै कटान गरेको थियो । त्यस्तै सो कटान क्षेत्रबाट पानी पसेको खण्डमा मध्यविन्दु नगरपालिकाको नदी तटीय क्षेत्रमा ठूलो क्षति पुग्न सक्ने अनुमान समेत गरिएको थियो । विगतमा समयमा व्यवस्थापन गर्न ध्यान नपुग्दा भएको क्षति र जोखिम न्यूनिकरणमा विपद् व्यवस्थापन समितिलाई सजग गरेको पंगेनीले बताउनुभयो ।

 

Share Now

Leave a comment.