सानेपा (ललितपुर), ३ आषाढ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्ने भएको छ ।
१४ औं महाधिवेशनको कार्यतालिका अनुमोदन गर्न बिहीबार दिउँसो २ बजे बी.पी.नगर सानेपामा अविस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।
कोरोना महामारी र क्रियाशील सदस्यताको काम समयमा हुन नसकेपछि शनिबार बसेको पदाधिकारी बैठकले संशोधित महाधिवेशन कार्यतालिका तयार पारेको छ । आजको बैठकमा सो कार्यतालिका पारित गर्ने कार्यक्रम छ ।
नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यतामाथि छानविन सकेर असार २० गतेभित्र पार्टी सभापतिलाई बुझाइसक्नुपर्ने छ । प्रस्ताव गरिएको छ । क्रियाशील सदस्यहरुको नामावली सभापतिबाट हस्ताक्षर भई असार २४ गते पार्टीको निर्वाचन समितिलाई बुझाउने कार्यतालिका बनेको छ ।
भदौ १६ को महाधिवेशनलाई लक्षित गरी वडा अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव गरिएको छ । गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते हुनेछ ।
प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन साउन १६ गते हुनेछ भने प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका क्षेत्रीय अधिवेशनहरू साउन २० गते गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ ।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेका जिल्लाहरुको जिल्ला अधिवेशन एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाहरुको अधिवेशन पनि साउन २० मै हुनेछन् ।
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुको जिल्ला अधिवेशन साउन २४ गते हुनेछ ।
संशोधित तालिकाअनुसार प्रदेश समितिहरूको अधिवेशन २०७८ भदौ १ र २ गते हुनेछ भने महाधिवेशनको मिति भदौ १६–१९ गतेसम्म प्रस्ताव गरिएको छ ।
कोरोना महामारी, मनसुनी बर्षाले देशमा आएको बाढी र पहिरो तथा देश विकसित नयाँ राजनीतिक परिस्थितिलाई मध्यनजर गरी महाधिवेशन गर्ने विकल्पका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।


















