काठमाडौं, ५ फागुन । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सम्पन्न भएको छ ।
प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा सम्पन्न भेटवार्तामा दुई नेताबीच आइतबार पार्टी एकता संयोजन समितिको बैठक बोलाएर थप छलफल गर्ने सहमति भएको छ ।
पार्टी एकतामा सहमति नजिक पुगेको दावी गरेका यी दुई दलबीच सरकार गठन भएकै दिन भने विवाद देखिएको थियो ।
दुई नेताहरुबीच करिब ४५ मिनेट वान टु वान वार्ता भएको र वार्तामा पार्टी एकतामा देखिएका समस्याका बारेमा छलफल भएको थियो ।
भेटवार्तापछि माओवादी अध्यक्ष ‘प्रचण्ड ले पार्टी एकताकाबारेमा छलफल भएको प्रतिक्रिया दिए ।
उनले पार्टी एकताका विषयमा कुराकानी भएको र एकताका बारेमा छलफल सकारात्मक रुपमा अगाडि बढिरहेकोले छिटो पार्टी एकता घोषणा गर्ने पहल जारी रहेको प्रतिक्रिया दिएका छन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले भोली पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएकाले त्यसको तयारीका लागि आज दुई अध्यक्षबीच छलफल भएको जानकारी दिए ।
आइतबार बस्ने संयोजन समितिको बैठकपछि मात्र माओवादी सरकारमा सहभागी हुने नहुने टुङ्गो लाग्ने माओवादीले जनाएको छ ।
एकताको टुंगो नलागेसम्म माओवादीले प्रधानमन्त्रीलाई समर्थन गरे पनि सरकारमा सहभागी नहुने अडान राखेको छ।
माओवादी सरकारमा नगएपछि प्रधानमन्त्री ओलीले एमालेका दुई नेतालाई मन्त्रीमण्डलमा राखेर मन्त्रिपरिषद विस्तार गरेका थिए ।
दुई पार्टीबीच पार्टीको वरिष्ठ नेताहरुको पदाधिकार, जिल्ला,प्रादेशिक र स्थानीय समितिहरुको समायोजन र तदर्थ समितिको गठन, एकीकृत पार्टीले अवलम्बन गर्ने राजनीतिक सिद्धान्तका बिषयमा सहमति बन्न सकेको छैन् ।
एमालेले बहुदलिय जनवाद नछोड्ने अडान राखेको छ भने माओवादी केन्द्रले दुबै पार्टीका सिद्धान्त महाधिवेशनमा लगेर टुङ्गो लगाउनुपर्ने बताएको छ ।