काठमाडौं, १० आषाढ । प्रधानमन्त्री के.पी.शर्मा ओलीको नेतृत्वमा रहेको सरकारद्धारा भएका प्रतिनिधिसभा विघटन लगायतका गैरसंवैधानिक कदमको विरुद्धमा कानूनी र राजनीतिक लडाई गरिरहेका नेपाली कांग्रेससहितका ५ राजनीतिक दलका नेताहरुले मुुलुकमा लोकतन्त्रमाथि खतरा उत्पन्न हुनुको साथै परिस्थिति निकै गम्भीर भएको बताउनु भएको छ ।
विपक्षी गठबन्धनका तर्फबाट आज राजधानीमा आयोजित विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको अन्तरक्रियामा सरकारको विरुद्धमा उत्रिनुभएका ५ राजनीतिक दलका नेताहरुले सो कुरा बताउनुभएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार सरकार बनाउन प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सांसदहरुलाई आह्वान गरेपछि प्रतिनिधिसभाको बहुमत १ सय ३६ भन्दा बढी १ सय ४९ सदस्यको हस्ताक्षरसहित आफूहरुले गरेको दावी अस्वीकार गरेर राष्ट्रपति भण्डारीले संविधानका साथै लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार गर्नूभएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा कांग्रेस सभापति देउवाले राष्ट्रिय हितको संरक्षण, नेपालको संविधान, लोकतन्त्र, संसद्को रक्षा तथा जनतालाई महामारी एवम् प्राकृतिक विपत्तिबाट जोगाउने उद्देश्यका साथ ५ राजनीतिक दलको संयुक्त मोर्चा बनेको अवगत गराउनुभयो ।
सरकारबाट भएका कतिपय गैरसंवैधानिक र राष्ट्रहित विपरितका कार्य र निर्णयहरु अदालतबाट रोकिएको जनाउँदै उहाँले राष्ट्रिय स्वार्थ र जनताको हितलाई सर्वोपरी राख्दै संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन, सामाजिक न्याय, समावेशी लोकतन्त्र, कानूनी शासन र समृद्धिलाई आफूहरुले साझा गन्तव्यका रुपमा लिएको बताउनुभयो ।
उहाँले आवश्यक परेमा जनपरिचालनको दिशातर्फसमेत अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा सभापति देउवाले नेपालको गौरव र स्वाभिमानलाई ध्यानमा राख्दै मुलुकका बारेमा नेपालीले नै निर्णय गर्ने कुरामा अटल विश्वासका साथ बदलिँदो विश्व परिवेशमा राष्ट्रिय हितको रक्षा लोकतान्त्रिक प्रणालीको आधारमा गर्नुपर्ने मान्यता स्पष्ट गर्नुभयो ।
उहाँले प्रधानमन्त्री ओलीले दुई–दुई पटक प्रतिनिधिसभाको विघटन गर्ने, अध्यादेशमार्फत शासन सञ्चालन गर्ने, स्वतन्त्र न्यायालय तथा संवैधानिक निकायलगायत राज्य संयन्त्रमाथि हस्तक्षेप गर्ने, कोरोनाविरुद्धको पहिलो खोप लगाएकालाई दोस्रो खोप नपाउने स्थिति सिर्जना गर्ने, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट जनधनको सुरक्षाका लागि प्रभावकारी पूर्व तयारी नगरेको आरोप लगाउनुभयो ।
देशको परिस्थिति अत्यन्त गम्भीर
पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति अत्यन्तै गम्भीर अवस्थामा पुगको बताउनुभयो ।
प्रतिनिधि सभासहित सत्ता जोगाउन श्रृखलाबाद्ध रुपमा असंवैधानिक कदम चालेकोमा प्रधानमन्त्रीको आलोचना गर्दै नेकपा माओवादीका अध्यक्ष प्रचण्डले देशलाई सुधार गर्ने शक्ति एकठाउँमा उभिने मौका जुटाइदिएकोमा उहाँलाई धन्यवाद पनि दिनुभयो ।
पत्रकारहरुको प्रश्नको जवाफ दिंदै माओवादी अध्यक्ष प्रचण्डले अहिले बनेको गठबन्धन अवसरवादी नएको उल्लेख गर्दै अहिले २०६२।६३ को आन्दोलनकारी र देशलाई सकारात्मक दिशामा लैजान चाहने शक्ति एक ठाउँमा उभिन पुगेको बताउनुभयो । उहाँले ५ दलीय गठबन्धन लामो प्रयासपछि बनेको र दीर्घकालसम्म रहने पनि बताउनुभयो।
नेपाली जनताद्धारा निर्वाचित संविधानसभाले बनाएको संविधानको रक्षा गर्ने उद्देश्यसहित बनेको वर्तमान गठबन्धन समय अनुकूल परिमार्जन लैजा ने पनि बताउनुभयो । उहाँले लोकतन्त्रको मौलिक पक्षको संरक्षण तथा संबर्धन र राष्ट्रियताको रक्षाको लागि गठबन्धनलाई कायम राखिने प्रतिबद्धता पनि जनाउनुभएको थियो ।
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेकपा एमालेभित्रको संघर्ष अलि पेचिलो भएको पनि उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्री ओली प्रतिगमनको पर्याय भैसक्नुभएको उल्लेख गर्दै ओली र माधव नेपाल तथा ओली र प्रचण्डका विचमा लोकतान्त्रिक मूल्य,मान्यताको रक्षा र संविधानको पालनाका विषयमा तुलना गर्नै नसकिने पनि बताउनुभयो ।
‘ओलीले बयलगाडा भन्दै गर्दा गणतन्त्रको झण्डा बोक्ने माधव नेपाल उस्तै उस्तै होइन। प्रश्न उठनसाथ प्रधानमन्त्री छोड्ने प्रचण्ड र प्रधानमन्त्री छोड्नपरे कुर्सी भाच्छु भन्ने ओली उस्तै-उस्तै होइन,’ नेकपा माओवादीका अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामी विदेशीसँग सुमधुर सम्बन्ध राख्न चाहान्छौं।तर अनावश्यक चलखेल स्वीकार्य छैन भनेको हो।’
माओवादी अध्यक्ष प्रचण्डले नयाँ नेतृत्व फुत्त आउने नभई केही समय अहिले भइराखेका नेतालाई नै धोइपखाली गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री रहनुभएका नेकपा माओवादी अध्यक्ष प्रचण्डले संवैधानिक निकायहरूमा हस्तक्षेप गरी सरकारले काम गर्न नसक्ने अवस्थामा पुर्याएको पनि आरोप लगाउनुभयो।
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले एमसिसीको विषय ठूलो नभएको र छलफलबाटै टुंग्याइने बताउनुभयो ।