Prakash Adhikari July 1, 2021

काठमाडौं , १७ आषाढ । मनकामना स्मार्ट लघुवित्तले आज असार १७ गतेबाट आइपीओ बिक्री खुला गरेको छ ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ०.५ प्रतिशत अर्थात ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुने १९ हजार ४ सय ५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ ।
सर्वसाधारणलेबाँकी ३ लाख ६३ हजार ४ सय९२ कित्ताका लागि आवेदन दिनुपर्ने छ ।

मनकामनाको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
छिटोमा असार २१ गतेसम्म र सो दिनसम्म सबै सेयर बिक्री नभएमा भने असार ३१ गतेसम्म सेयर बिक्री खुला रहने छ ।

कम्पनीले एनएमबि क्यापिटल बिक्री प्रबन्धक नियुक्त गरेको छ । लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा तथा मेरो सेयरमार्फत अनलाइन आवेदन पनि दिन सक्ने व्यवस्था गरिएको छ ।

मनकामना स्मार्ट लघुवित्तलाई ‘क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ रेटिङ दिएको छ । यसले निष्कासनकर्ता कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड (साविकको मनकामना लघुवित्त वित्तीय संस्था लिमिटेड) कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित भएको कम्पनी हो ।

यस लघुवित्तको रजिष्टर्ड कार्यालय रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. ५ मा रहेको छ । मनकामना स्मार्ट लघुवित्त २०७४ असोज २५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको थियो ।

यसले २०७४ माघ १० गते ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट इजाजत पाएको थियो ।

साविकको मनकामना लघुवित्त वित्तीय संस्था लिमिटेडले साविकको स्मार्ट लघुवित्त वित्तीय संस्थालाई गाभेर २०७७ साउन ११ गतेदेखि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकीकृत कारोबार सुरु गरेको हो ।

हाल यस लघुवित्तले लुम्बिनी प्रदेशभित्रका १२ जिल्लाहरुमा ३७ वटा शाखा कार्यालय स्थापना गरी कारोबार गर्दै आइरहेको छ ।

यस लघुवित्तको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ छ । जारी पुँजीमध्ये ८ करोड २२ लाख ५० हजार रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । बाँकी ३ करोड ८९ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागिएको हो । आइपीओपछि चुक्ता पुँजी जारी पुँजी बराबर अर्थात १२ करोड ११ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

आइपीओपछि कम्पनीमा संस्थापक हिस्सा ६७.८९ प्रतिशत र सर्वसाधारण हिस्सा ३२.११ प्रतिशत हुनेछ ।

चालु आर्थिक वर्षको अन्त्यसम्म मनकामना स्मार्टले ३ करोड २१ लाख २० हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७८–७९ मा ६ करोड ४६ लाख ९० हजार रुपैयाँ र आव २०७९–८० मा १० करोड ३२ लाख ५९ हजार रुपैयाँ नाफा कमाउने अनुमान छ ।
लघुवित्तको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी देवसिंह बिष्टले सम्हाल्नुभएको छ । अर्थशास्त्रका स्नातकोत्तर बिष्टसँग साविकको सुदूर पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चल ग्रामीण विकास बैंकमा शाखा प्रबन्धक, ईलाका प्रबन्धक र विभागीय प्रमुख भई कार्य गरेको अनुभव छ ।

उहाँसंग ग्रामीण बैंकहरु मर्जर पश्चात बनेको ग्रामीण लघुवित्त वित्तीय संस्थामा महाशाखा प्रमुख तथा क्षेत्रीय प्रबन्धक भई काम गरेकोसमेत गरी कुल २३ वर्षको कार्य अनुभव रहेको छ ।

कम्पनीको चार आधारभूत शेयरधनीमा अजय गोयन्का, अमित कुमार गोयन्का , सन्दीपकुमार अग्रवाल र जुली चाचन हुनुहुन्छ ।

Share Now

Leave a comment.