Prakash Adhikari July 1, 2021

भरतपुर(चितवन) , १७ आषाढ । अविरल परेको बर्षाले चितवन र नवलपरासी पूर्वका ठाउँ ठाउँमा क्षति पुर्याएको छ । निरन्तर परिरहेको बर्षाले खोला बढ्दा चितवनको खैरहनीस्थित बाबा ग्यास उद्योगमा खोला पसेको छ भने नवलपरासीको गैडाकोटमा डाभर्सन बगाएको छ ।

चितवनबाट प्राप्त समाचारमा जनाइए अनुसार  खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पु¥याएको छ । कयर खोलाले उद्योगमा क्षति पु¥याएको हो । उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिण्डर वगाएका छन् ।

उहाँले भन्नुभयो, “यहाँका सिलिण्डर वगाएर सौराहा सम्म पुगेका छन् ।”वाढीले उद्योगको संरचनामा नोक्सान पु¥याएको छ । उद्योगमा १० देखि १५ हजार सिलिण्डर रहन्छ । के कति सिलिण्डर वगायो र अरु नोक्सान कति भयो भन्ने बारेमा एकिन भइसकेको छैन ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निरन्तरको वर्षाले पूर्वी चितवनको खैरहनीसँगै रत्ननगर, राप्ती र कालिका नगरपालिका प्रभावित भएको बताउनुभयो । स्थानीय खोलाहरु बढेर पुलहरु उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि खटिएको छ ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार पूर्वी चितवनका खगेरी, कयर र लदरी खोलाले खैरहनी नगरपालिका वडा नम्बर १,२,३,८ र ९ सँगै रत्ननगर नगरपालिकाको वडा नम्बर ३ शान्ति चोक डुवानमा परेको छ । कतिपयलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको उहाँले बताउनुभयो । लदरी खोलाको चैनपुर चोकबाट भित्र रहेको नयाँ पुल बाढीले वगाएको छ । लोथर र राप्ती खोलासमेत वढ्दै गएको भन्दै उहाँले सौराहा पनि डुवानको खतरामा रहेको जानकारी दिनुभयो ।

गैँडाकोटको  डाइभर्सन  चट्; सडक अबरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ ।

सडक विस्तारका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित थुम्सीमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो ।

सडक विस्तारका लागि निर्माण गरिएका सात वटा डाइभर्सनमध्ये बाढीले चार वटा बगाएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गएरातिदेखि नै अविरल वर्षाका कारण आएको बाढीले डाइभर्सन बगाएपछि आज बिहानदेखि नै राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध भएपछि सयौं गाडी गैंडाकोट र रजहरमा रोकिएका छन् । सडक भत्किएकै स्थानमा जाम नहोस् भनेर दुवैतर्फका गाडी त्यहीँ रोकिएको प्रहरीले जनाएको छ ।

अहिले पनि पानी परिरहेका कारण डाइभर्सन पुनःनिर्माण गरेर सडक सञ्चालन गर्न कठिन भएको उहाँको भनाइ छ । सडकदेखि उत्तरतर्फको भागसमेत बाढीले डुबाएपछि त्यहाँको पानीको सतह नघटेसम्म डाइभर्सन बनाउन कठिन हुने प्रहरीको अनुमान छ । राजमार्ग फराकिलो पार्ने क्रममा गैंडाकोट र भेडाबारीबीचको जङ्गलमा पुराना पुल भत्काएर चारवटा डाइभर्सन बनाइएको थियो ।

Share Now

Leave a comment.