Prakash Adhikari July 3, 2021

काठमाडौं,१९ आषाढ । गए रातिदेखि आएको निरन्तर वर्षाका कारण आएको बाढीले उदयपुरका  ५०० र झापामा ३५ घर डुबानमा परेका छन् ।

उदयपुरमा बेलका नगरपालिकास्थित तपेश्वरी, आम्बासी र भागलपुर क्षेत्रमा स्थानीय खोलामा आएको निरन्तर बाढी गाउँघरमा पसेपछि तपेश्वरी क्षेत्रका ५०० भन्दा बढी घर डुबान परेका हुन ।

तपेश्वरीका गाउँघरमा बाढी पसेर डुबान हुन थालेपछि बिहानैदेखि सुरक्षाकर्मी सो स्थानमा बाढीपीडिको उद्धार गर्न तयारी हालतमा राखिएको जिल्ला प्रशासन कार्यालयले बताएको छ । बेलका–२ तपेश्वरीका राजकुमार भुजेलका अनुसार गए रातिदेखि आएको निरन्तर बाढीको कारण स्थानीय खोलामा आएको बाढी गाउँघरमा प्रबेश गरेको कारण सडक,खेत जग्गा र गाउँघर बिस्तारै डुबान हुन थालेको हो ।

गए रातिदेखि आम्बासी तपेश्वरीको बगाहा, आम्बासीका खहरे खोलामा निरन्तर आएको बाढी गाउँमा प्रवेश गरेपछी तीन फिटसम्म डुबान हुन थालेको तपेश्वरीका जसबहादुर श्रेष्ठले बताउनुभयो । इलाका प्रहरी कार्यालय बेलका रामपुर ठोक्सिलाका अनुसार बेलकाको आम्बासी, तपेश्वरी र भागपुर क्षेत्रमा स्थानीय खोलामा निरन्तर वर्षाका कारण आएको बाढीले डुबान शुरु गरेको पुष्टि गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलका रामपुरका अनुसार आफूले गाउँलेलाई सतर्क रहन सचेत गराएको र सुरक्षाकर्मी सहयोगका लागि आज बिहानदेखि तयारी हालतमा रहेको इप्रका रामपुरका प्रमुख तेजबहादुर कटुवालले बताउनुभयो । वर्षाका कारण बेलकाको गिदेरी खोलामा आएको बाढीका कारण निर्माण सम्पन्न हुन लागेको गिदेरी पुलमा समेत क्षति पुगेको छ भने सो पुल संरक्षण र मर्मतका लागि पहल शुरु गरिएको इप्रका बेलकाले बताएको छ ।

त्रियुगा नगरपालिका–११ गाईघाटस्थित बरुवाखोलामा भीषण बाढी आएका कारण बरुवाखोलाको कच्ची बाँध भत्कन सक्ने र गाईघाट बजारसमेत डुबानमा पर्ने खतरा बढेको त्रियुगा नगरपालिका–११ ढिम्कीका शिव कार्कीले बताउनुभयो ।

बेलकास्थित तपेश्वरी क्षेत्रमा बाढीले डुबान पर्न थालेपछि अहिले सो स्थानमा कुनै पनि मानवीय घटना घट्न नदिन प्रशासनले सुरक्षाकर्मी सो स्थानमा तयारी हालतमा राखिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईँले बताउनुभयो ।

बगाएर ६५ वर्षीय वृद्धको मृत्यु

उदयपुरको चौदण्डीगढी नगरपालिका सातधारेमा आज स्थानीय हवारखोलाले बगाउँदा ६५ वर्षीय वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार खोलाले बगाएर मृत्यु हुनेमा बेल्टार मदनचोकका गुमशेर राई रहेको प्रहरीले बताएको छ ।

बिहान १०ः०० बजेतिर अर्काे गाउँ जान खोला तर्ने क्रममा बाढीले राईलाई बगाएको थियो भने घटना घटेलगत्तै इलाका प्रहरी बेल्टार र स्थानीयवासीले खोजीका क्रममा बगाएको स्थानभन्दा २०० मिटर तल मृतावस्थामा शव फेला परेको र शवलाई अहिले परीक्षणका लागि बेल्टार अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो ।

झापाका ३५ घर डुबानमा 

अविरल वर्षाका कारण नदीहरुमा आएको बाढी बस्तीमा पस्दा जिल्ला झापाका ३५ घर डुबानमा परेका छन् ।

झापा गाउँपालिका–५ खयरबारीमा २० घर र गौरीगञ्ज गाउँपालिका–७ को आमडाँगीमा १५ घर डुबानमा परेका हुन् । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालका अनुसार विरिङ नदीमा लगाइएको बाँध भत्किँदा झापा गापाका २० घर डुबानमा परिसकेका छन् भने आसपासको बस्ती उच्च जोखिममा रहेको छन् ।

यसैगरी, गौरीगञ्ज गाउँपालिकाको आमडाँगीमा १५ घर डुबानमा परेका छन् । कमल गाउँपालिकाको वडा नं.७ झर्काबाट रतुवा नदीको बाढी गौरादह नगरपालिकाको वडा नं. ५ को बालुबथानतिर पस्ने अवस्थामा छ । अविरल बर्षाका कारण जिल्लाका विभिन्न स्थान जलमग्न भएको र त्यसको विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी कन्काई नदीमा आएको बाढीले शिवसताक्षी नगरपालिका–५ को सिङ्गो बस्ती डुबानको उच्च जोखिममा परेको छ । सशस्त्र प्रहरी हेडक्वाटर २ नम्बर गणका प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले डुबानमा परेका परिवारको उद्धारका लागि सशस्त्र प्रहरीको टोली तैनाथ रहेको बताउनुभयो । पानी नरोकिए र नदीमा पानीको बहाव नघटे उनीहरुलाई आजै सुरक्षित स्थानमा सारिने उहाँले बताउनुभयो ।

Share Now

Leave a comment.