मुग्लिन(चितवन), २० आषाढ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ३ फिस्लिङमा सडक भासिएको छ । लगातारको वर्षासँगै आज बिहान सडक भासिएपछि अहिले सवारी साधन एकतर्फी मात्र सञ्चालनमा आएको छ ।
केही महीनाअघि मात्रै कालोपत्र थपिएको सो सडकमा लगातारको वर्षाका कारण छेउ भासिएको हो । काठमाडौँ भित्रिने मुख्य राजमार्ग नै भासिएपछि एकतर्फी मात्र सञ्चालन हुँदा सवारी साधन जाम भएको छ ।
डुम्रे–बन्दीपुर सडक आंशिक सञ्चालन
पहिराले अवरुद्ध डुम्रे–बन्दीपुर सडकखण्ड चारदिनपछि आंशिकरूपमा सञ्चालनमा आएको छ । डिभिजन सडक कार्यालय र जिल्ला प्रशासन कार्यालय तनहुँको सहयोगमा सो सडक मरमत गरिएपछि शनिबारदेखि आंशिकरूपमा सञ्चालनमा आएको हो ।
पृथ्वीराजमार्गको डुम्रेबाट सात किमिको दूरीमा रहेको बन्दीपुर जाने सडकमा ठाउँ–ठाउँमा पहिरो झरेर अवरुद्ध भएको थियो । आंशिकरूपमा सडकखण्ड सञ्चालनमा आएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । “चार दिनदेखि सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या भइरहेको थियो, आंशिकरूपमा भए पनि सञ्चालनमा आएपछि केही सहज भएको छ”, उहाँले भन्नुभयो ।
पहिराले बन्दीपुरका अधिकांश ग्रामीण सडक अवरुद्ध छ । गाउँपालिकाले बन्दीपुर गाउँपालिका–२ ढाडखोलाको पहिरो पनि हटाउन शुरु गरेको छ । पहिरोले ढाडखोला मोटरमार्गमा ठूलो क्षति पु¥याएको छ । ठाउँठाउँमा सडक भासिएको छ । पहिरोले गाउँपालिकाभित्रका सडक, विद्युत्, टेलिफोन, इन्टरनेट र खानेपानीमा क्षति पुगेको छ ।
गाउँपालिकाले बाढीपहिरा पीडित भएकालाई राहत वितरण शुरु गरेको छ । बन्दीपुर–२ का ७९ पहिरो पीडितलाई शनिबार त्रिपाल र चामल वितरण गरिएको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश घर बस्न नमिल्ने गरी जोखिममा परेको छ । “कोही चर्चमा, कोही बाल विकास केन्द्र, कोही विद्यालय र सामुदायिक भवनमा आश्रय लिन बाध्य छन्”, उहाँले भन्नुभयो । बाढीपहिराले गाउँपालिकाभित्रका करिब १७२ घर जोखिममा परेको छ । बन्दीपुर–१, २, ३ र ४ मा बाढीपहिरोबाट बढी क्षति पुगेको जनाइएको छ ।


















