Prakash Adhikari July 4, 2021

फणीन्द्र दाहाल / बीबीसी न्यूज नेपाली

काठमाडौं, २० आषाढ । कोरोना भाइरसको महामारीविरुद्धको खोप किन्ने नेपालको प्रयास चीनबाहेक अन्य मुलुकसंग सफल भएको र निकट भविष्यमा पनि सफल हुने देखिएको छैन ।

विभिन्न देशमा रहेका खोप उत्पादकहरुले सन् २०२१ भित्र नेपाललाई खोप विक्री गर्नसक्ने आश्वासनसम्म दिएका छैनन् । तर सरकारी अधिकारीहरुले कोरोना महामारीको संभाव्य विस्तारलाई रोकेर नेपाली जनतालाई यस घातक भाइरसबाटमुक्त राख्न खोप खरिद गर्ने प्रयासहरु त्यागेका छैनन् । सन २०२१ मा किन्ने सफलता नमिले २०२२ भने पनि खोप खरिद गर्न प्रक्रियाहरू अघि बढाइएको छ ।

चीनबाट खरिद गरिएको कोरोनाभाइरस विरुद्धको खोप आगामी साताबाट आपूर्ति हुन लाग्दा सरकारी अधिकारीहरूको यस्तो भनाइ आएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलका अनुसार हालसम्म भारतको सीरम इन्स्टिच्यूट अफ इण्डियाले उत्पादन गरिरहेको अक्सफर्ड आस्ट्राजेनेकाको कोभिशील्ड खोप र चीनको सिनोफार्म कम्पनीले विकास गरेको भेरोसेल खोप नेपालमा प्रयोग भइरहेको छ।

गएको माघ १४ गतेबाट खोप अभियान सुरु भएयता अहिलेसम्म नेपालको जनसङ्ख्याको लगभग ९ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको र ३ प्रतिशतले दुवै मात्रा खोप लगाएको बताइन्छ।

चिनियाँ खोप कसरी आउँदैछ ?

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलका अनुसार आगामी असारको २४ गतेबाट निरन्तर रूपमा चिनियाँ खोपको आपूर्ति हुने जानकारी आफूले बताउनुभएको छ।

“जुलाईको आठ तारिखपछि प्रत्येक हप्ता जस्तै गरी खोपको आपूर्ति हुन्छ। एकैचोटि धेरै ल्याएर भण्डारण गर्नसक्ने हाम्रो क्षमता पनि छैन। अहिलेसम्म हाम्रो भण्डारणको जुन क्षमता छ त्यसको अत्यधिक प्रयोग हुने गरी खोप आउँछ र त्यो केन्द्रमा नै रहँदैन।”,  डाक्टर पौडेलले भन्नुभयो, “सातवटै प्रदेशमा बाँडिन्छ र खोप वितरण सम्बन्धी पहिल्यै बनेको योजना अनुसार लक्षित समूहलाई खोप दिँदै जानेछौँ।”

भेरो सेल खोप

भेरो सेल खोप

चीनबाट खरिद गरिएको खोपको परिमाण र मूल्यबारे सरकारले केही बताएको छैन।

तर कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख बालानन्द शर्माले ४० लाख चिनियाँ खोप (२० लाख जनसङ्ख्यालाई पुग्ने) खरिद गर्ने हिसाबले काम अघि बढेको बताइसक्नुभएको छ।

नेपालसँग केन्द्र र प्रदेशमा गरी लगभग २० लाख खोप भण्डारण गर्ने क्षमता रहेको बताइन्छ।

यसअघि नेपाललाई चीनले १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा उपलब्ध गराएको थियो।

अहिलेको खरिदबाहेक चीनबाट नेपालले थप खोपहरू सन् २०२१ भित्रै भित्र्याउन सक्छ कि सक्दैन त्यो प्रष्ट छैन।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर तारानाथ पोखरेलका अनुसार चीनबाट खोप आएपछि विपद् प्रभावित जिल्ला सहितका क्षेत्रलाई प्राथमिकतामा राखेर खोपको वितरण गरिनेछ।

कोभिशिल्ड खोपबारे के हुँदैछ ?

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर पौडेल नेपालले भारतसँग खरिद सम्झौता गरेको कोभिशिल्ड खोपको बाँकी १० लाख मात्रा उपलब्ध हुनेबारे आफूसँग कुनै जानकारी नरहेको बताउँनुभएको छ।

नेपालले हालसम्म भारतबाट अनुदानमा ११ लाख, खरिद प्रक्रियाबाट १० लाख र विश्वव्यापी खोप वितरण अभियान कोभ्याक्समार्फत् ३ लाख ४८ हजार कोभिशील्ड खोप प्राप्त गरेको छ।

भारतले आपूर्ति रोकेका कारण उक्त खोपको पहिलो मात्रा लगाएका लगभग १४ लाख नेपालीहरूले दोस्रो मात्रा कुरिरहेका छन्।

कोभिड खोप
भारतबाट कोभिशिल्ड खोप नआएकाले पहिलो मात्रा लगाएका १३ लाख जनाभन्दा बढीले दोस्रो मात्रा पाएका छैनन्

पछिल्लो समयमा देशभित्र ुआक्रामकु खोप अभियान सञ्चालन गरेको भारतको विदेश मन्त्रालयका प्रवक्ताले शुक्रवार अहिले आफ्नो मुलुकको प्राथमिकतामा घरेलु खोप कार्यक्रम रहेको बताएका छन्।

नयाँ दिल्लीस्थित नेपाली अधिकारीहरू चाहिँ अवरुद्ध खोप आपूर्तिको विषयमा ुसबै तहमा छलफल चलिरहेकोु र अबको एक महिनाभित्रमा नेपालले पाउनुपर्ने १० लाख मात्रा खोप प्राप्त हुने अपेक्षा गर्छन्।

नयाँ दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले भन्नुभयो, “हामीले सबै तहमा कुरा राखेका छौँ। हाम्रो स्थितिबारे उनीहरू जानकार छन्। खोप चाँडै प्राप्त हुन्छ भन्नेमा हामी आशावादी छौँ।”

नेपालले सीरम इन्स्टिच्यूटसँगै अर्को ५० लाख मात्रा खोप खरिद गर्ने विषयमा यस अघि नै कुरा राखेको भए पनि त्यसमा औपचारिक कुराकानी हुन नसकेको बताइन्छ।

त्यसैगरी मूल्य लगायत कुनै पनि विषय नटुङ्गिएको बुझिन्छ।

नेपालले कोभ्याक्सबाट कति खोप प्राप्त गर्दैछ ?

विश्वव्यापी खोप अभियान कोभ्याक्सले आगामी जुलाई महिनाभित्र नेपाललाई थप खोप उपलब्ध गराउने अपेक्षा अधिकारीहरूले गरिरहेका छन्।

नेपालको कूल जनसङ्ख्याको २० प्रतिशत अर्थात् १ करोड २६ लाख मात्रा खोप उपलब्ध गराउने प्रतिबद्धता कोभ्याक्सले गरेको छ।

हालसम्म उक्त अभियानमार्फत ३ लाख ४८ हजार मात्रा खोप सरकारले प्राप्त गरेको छ।

कोभिड खोप
नेपालमा अहिलेसम्म ७ लाख ५७ हजार जनाले दुवै मात्रा खोप लगाएका छन्

यसै महिनाभित्र न्यूनतम साढे तीन लाख खोप उपलब्ध गराउने अपेक्षा आफूहरूले गरिरहेको डाक्टर पोखरेल बताउँनुहुन्छ।

उहाँले भन्नुभयो, “उनीहरूले साढे ३ लाख भन्दा बढी दिन प्रयास गरिरहेका छन्। जुलाई महिनामै दिन्छु भनिरहेका छन्। तर कोरियामा उत्पादनको समस्या भएर अलिकति ढिलो होला जस्तो छ।”

अघिल्लो हप्ता खोप विज्ञ समूहका संयोजक डाक्टर श्यामराज उप्रेतीले नेपालले कोभ्याक्स मार्फत ६ लाख जोनसन एण्ड जोनसन कम्पनीको खोप प्राप्त गर्नेबारे पत्र प्राप्त भएको बताएका थिए।

तर त्यसबारे थप जानकारी उपलब्ध भइसकेको छैन।

अमेरिका, ब्रिटेन र युरोपेली सङ्घले के भनिरहेका छन् ?

पछिल्लो समय संयुक्त राज्य अमेरिका सहित कतिपय पश्चिमा देशहरूले आफूले नेपाल सहितका देशहरूलाई उपलब्ध गराउने खोपहरू कोभ्याक्स अभियानमार्फत् दिने जनाएका छन्।

यसै साताबाट पाकिस्तान र बाङ्लादेशले संयुक्त राज्य अमेरिकाले उपलब्ध गराएको २५ । २५ लाख खोप प्राप्त गरिरहेका छन्।

श्रीलङ्का, मालदिभ्स र भारतलाई पनि चाँडै खोप उपलब्ध गराउने भनिएको छ।

दुई साता अघि ह्वाइट हाउसले नेपालसहित १८ वटा देशका लागि एक करोड ६० लाख मात्रा खोप उपलब्ध गराउने जनाएको थियो।

बुधवार संयुक्त राज्य अमेरिका स्थित नेपाली राजदूत युवराज खतिवडाले अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया हेर्ने कार्यवाहक उपमन्त्री डिन थमसनसँग भेट गरी नेपाललाई प्राथमिकतासाथ खोप उपलब्ध गराउन अनुरोध गर्नुभएको थियो।

तर नेपाललाई अमेरिकाले दिने भनिएको खोपको परिमाण र पाउने समय अझै प्रष्ट छैन।

अघिल्लो महिना बीबीसीलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा पुरानो मित्र ब्रिटेनले गोर्खाहरूको त्यागका कारण नेपाललाई प्राथमिकतासाथ खोप उपलब्ध गराउनुपर्ने बताउनुभएको थियो।

महामारीको दोस्रो लहरमा भेन्टिलेटर सहितका सामाग्री पठाएको ब्रिटेनले खोप उपलब्ध गराउनेबारे केही बताइसकेको छैन।

युरोपेली सङ्घको नेपालस्थित राजदूतले सदस्य राष्ट्रले कोभ्याक्समार्फत नै नेपाललाई खोप दिने धारणा राखेका विवरण आएका छन्।

पश्चिमा देशका कम्पनीबाट सोझै खोप खरिद कति सम्भव ?

अधिकारीहरूका अनुसार कतिपय खोप निर्माता कम्पनीहरूले सन् २०२१ मा आफूहरूले खोप विक्री गर्न नसक्ने जानकारी नेपाललाई गराएका छन्।

वाशिङ्टन डिसीस्थित अमेरिकी राजदूतावासले अघि बढाएको छलफलमा जोनसन एन्ड जोनसन र मोडेर्नाले सन् २०२२ अघि नयाँ आपूर्ति सम्झौता गर्ने सम्भावना नरहेको बताएको जनाइएको छ।

शुक्रवार राजदूतावासले आफ्नो वेबसाइटमा राखेको जानकारी अनुसार नेपालले जोनसन एन्ड जोनसनसँग ५० लाख र मोडेर्नासँग २० लाख खोप खरिदको इच्छा जनाएको थियो।

जोनसन एन्ड जोनसन खोप

जोनसन एन्ड जोनसन खोप

त्यसबाहेक हालै सफलतापूर्वक खोपको परीक्षण गरी अमेरिकी खाद्य तथा औषधि नियामक निकायको अनुमोदन कुरिरहेको नोभोभ्याक्ससँग पनि नेपाली पक्षले छलफल गरेको थियो।

उसले पनि तत्कालै नेपाललाई खोप उपलब्ध गराउन नसकिने बताएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर पौडेलले खरिदका बारेमा स्वास्थ्य सेवा विभागका महानिर्देशकको संयोजकत्वमा बनेको वार्ता समितिले छलफल जारी राखेको बताउनुभएको छ।

सन् २०२२ का लागि के सोचिएको छ ?

परिवार कल्याण महाशाखाका डाक्टर पोखरेलका अनुसार सन् २०२२ का लागि पनि खोप उत्पादक कम्पनीहरूले ुआपूर्ति सम्झौताु गर्न थालेको उल्लेख गर्दै नेपालले कोभ्याक्स र सोझै कम्पनीहरूसँग छलफल गरिरहेको जानकारी दिनुुभयो।

उहाँले भन्नुभयो, “कोभ्याक्सले हामीलाई निःशुल्क दिने छँदैछ। सस्तो मूल्यमा उनीहरूले उपलब्ध गराउने भनेको झन्डै १ करोड ५० लाख मात्रा खोप पनि किन्न सकिन्छ भनेर कुराकानी भइरहेको छ।”

उहाँले भन्नुभयो, “हामीहरूलाई विश्व ब्याङ्क वा अरू दातृ निकायहरू ऋण दिन पनि तयार छन् भनेर यो विषयमा कुराकानी भइसकेको छ। कोभ्याक्सले पनि नेपाललाई खरिद गरिदिन काम सुरु गरिसकेको छ।”

खोपको आपूर्तिमा असहजता देखिए पनि प्रधानमन्त्री ओलीले सन् २०२१ भित्र सबै नेपालीहरूलाई कोभिड १९ विरुद्धको खोप दिइसक्ने बताउने गर्नुभएको छ।

यसै वर्षको बजेटमा खोपका लागि २६ अर्ब ७५ करोड रुपियाँ छुट्टाइएको छ।

 

Share Now

Leave a comment.