काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसलाई सुस्पष्ट विचार र मजबूत संगठनयुक्त बनाउने संकल्प लिएर कांग्रेसका युवा केन्द्रीय सदस्यहरुले पुनर्जागण अभियान आरम्भ गरेका छन् ।
काँग्रेस नेताहरु चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ्, गुरु घिमिरे, प्रदीप पौडेल सहितका नेताहरुले नेताहरुले राष्टिय प्रजातन्त्र दिवसको अवसर पारेर पार्टीको पुनर्जागरण अभियान थालेका हुन्।
सो अभियानमा नेपाली काँग्रेसका पाका नेताहरु पुरुषोत्तम बस्नेत, होमनाथ दाहाल सहित विभिन्न जिल्लाका सभापतिहरुले पनि अभियानमा ऐक्यवद्धता जनाएका छन्।
नेपाली युवाहरुको इच्छा र आकांक्षालाई संबोधन गर्न सक्ने, मुलुकलाई विकसित र समृद्ध बनाउने,लोकतान्त्रिक परिपाटीको संरक्षण गर्न सक्ने,राष्ट्र्यिता मजबूत बनाउने र संसारमा गर्वगर्न लायक समुन्नत मुलुक बनाउने सक्षम पार्टीको रुपमा नेपाली कांग्रेसलाई अगाडि बढाउन युवा नेताहरुले अभियान थालेका हुन् ।
नेपाली कांग्रेसका युवा नेता एवम् पूर्व मन्त्री नवीन्द्रराज जोशीको संयोजकत्वमा सोमबार नक्सालको होटल क्राउन प्लाजामा आयोजित भेलामा इञ्जिनियर, कानून व्यवसायी, शिक्षक,प्राध्यापक, योजनाविद्,अर्थविद्,सञ्चारकर्मी र पार्टीका केन्द्रीय सदस्यहरु, पूर्व सांसदहरु, पार्टीका विभिन्न भातृ एवम् शुभेच्छुक संगठनका पदाधिकारी एवम् केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थियो ।
भेलामा प्रस्तुत गरिएको संक्षिप्त अवधारणा पत्रमा नेपाली कांग्रेसलाई आन्तरिक लोकतान्त्रिक संस्कृतिसहितको पार्टी बनाउने, पार्टीले नेतृत्व पर्नै पर्ने सामाजिक आन्दोलनका मुद्दाहरुलाई पहिचान गर्दै पार्टीभित्र निस्तेज हुँदै गएको सामाजिक आन्दोलनको भावनालाई पूर्नजागृत गरेर सामाजिक आन्दोलनको नेतृत्व गर्ने अवस्थामा पुर्याउन यो अभियान प्रारम्भ गरिएको उल्लेख गरिएको छ ।
संविधान निर्माण पछिको परिवर्तित सन्दर्भमा पार्टीको आदर्श र सिद्धान्तको पुनव्र्याख्या आवश्यक भएको उल्लेख गर्दै अवधारणापत्रमा संविधानले निर्दिष्ट गरेको संघीय तथा समावेशी संरचना र बदलिँदो आर्थिक, सामाजिक परिवेश अनुसार संगठनको पुनर्संरचना गरेर कांग्रेसलाई पूर्ण लोकतान्त्रिक, समावेशी गतिशील र अनुशासित पार्टी बनाउन अभियान थालिएको अवधारणापत्रको खाकामा उल्लेख गरिएको छ ।
।