बालुवाटार (काठमाडौं), ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी ) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बीच सोमबार साँझ पार्टी एकताको प्रारम्भिक आधारमा सहमति भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न पार्टी एकता संयोजन समितिको बैठकमा दुई दलबीच पार्टी एकताका लागि तय गरिएका प्रारम्भिक आधारमा सात बूँदे सहमति कायम भएको छ ।
सहमति पत्रमा दुवै पार्टी अध्यक्ष सहित नेकपा एमालेका चार र माओवादी केन्द्रका तीन नताले हस्ताक्षर गरेका छन ।
एकता संयोजक समितिको बैठकले एकीकृत नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय गरेको छ।
नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)का बीचमा बनेको एकीकरणका प्रारम्भिक आधारहरु
१) एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ ।
२) पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहने छ ।
३) ने.क.पा. (एमाले) ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. (माओवादी केन्द्र)ले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्वयक परिमार्जन र विकास गर्न सकिने छ ।
४. नेकपा एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलिय जनवाद’ अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्ना श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निमार्ण गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।
५. उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।
६. महाधिवेशनसम्म पार्टीको मूल नेतृत्व र केन्द्रीय बैठकहरुको अध्यक्षता दुबै पार्टीका वर्तमान अध्यक्षद्वारा आलोपालो प्रणालीबाट गरिने छ । र सरकारको नेतृत्वमा समेत सोही आलोपालो प्रणाली अपनाइने छ ।
७. आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ ।