Prakash Adhikari July 7, 2021

काठमाडौं, २३ आषाढ । नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धनको मूल्य मूल्य बढाएको छ।

निगगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको निगमले जनाएको छ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ।

एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ। खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १४२५ रुपैयाँ पर्नेछ।

निगमले आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु ८४ कायम भएको जनाएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर इन्धनको १९ अमेरिकी डलर वृद्धि गरिएको छ।

अब अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर ७५४ कायम भएको छ।

यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जनाएको छ।

निगमका अनुसार आजदेखि बढेको मूल्य लागू हुनेछ।

निगमलाई अझै घाटा

नेपाल आयल निगमले पेटोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्य हालसम्मको उच्च रहेकोले आजदेखि लागू हुने मूल्यबृद्धि गर्दा पनि निगम अझै घाटामा रहने जनाएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा पेट्रोलमा प्रतिलिटर ७ रुपैया ४५ पैसा, डिजलमा ४रुपैया ३५ पैसा र ग्यासमा एलपी ग्यासमा प्रति सिलिण्डर ३१९ रुपैया ३२ पैसा घाटा हुने जनाइएको छ । यो घाटा र पेट्रोलियम पदार्थको बिक्रीमो अवस्था हेर्दा १५ दिनमा नै निगमलाई ९१ करोड ३५ लाख रुपैया घाटा हुनेछ । यसमध्ये एलपी ग्यासको कारोबारबाट ४७ करोड २२ लाख र पेट्रोल तथा डिजलको कारोबारबाट ३१ करोड ४० लाख रुपैया घाटा हुनेछ ।

निगमले हालको मूल्य समायोजन पछि पनि सीमावर्ती भारतीय बजार रक्सौलमा भन्दा नेपालतिरको वीरगञ्जमा पेट्रोल ३६ रुपैया ६९ पैसा र डिजल ४३ रुपैया ४४ ले सस्तो रहेको निगमले जनाएको छ ।

Share Now

Leave a comment.