काठमाडौं, २३ आषाढ । नेकपा (एमाले)को आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले सहमतिका लागि तयार गरिएको खाकाका विषयमा दलका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्ने भएको छ ।
उहाँहरुबीच प्रधानमन्त्री के.पी.शर्मा ओलीले बैशाख २७ गते संसदमा विश्वासको मत लिनुपूर्व पार्टीलाई एकतावद्ध राख्ने सदासयले १० सदस्यीय कार्यदल गठन भएको थियो । आफ्नो पार्टीका २७ जना सांसदहरु विश्वासको मत लिने बैठकमा अनुपस्थित भएर प्रधानमन्त्री अल्पमतमा परी पदमुक्त भएसंगै सो कार्यदल निस्क्रिय रहेको थियो ।
सो कार्यदलको आज सिंहदरबारमा भएको बैठकले प्राप्त परामर्शका आधारमा तयार गरिएको सहमतिको मस्यौदालाई शीर्ष तहमा प्रस्तुत गरी बिहीबार पुनः बैठकपछि ठोस रुप दिइने समझदारी भएको नेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार सहमतिका लागि गम्भीर र सकारात्मकरुपमा छलफल भएको र चाँडै निष्कर्षमा पुगिने छ ।
दलका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा सहमतिमा परिणत गर्न तीन दिनअघिदेखि कार्यदल पुनः सक्रिय भएको छ ।
अध्यक्ष ओली महाधिवेशन आयोजक कमिटी विघटन गराई २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा पार्टी सञ्चालन गर्न तयार भएपछि विभाजनको तहमा पुगेको सत्तारुढ नेकपा एमालेभित्र सहमतिको वातावरण बन्दै गएको छ।
एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव र सर्वोच्च अदालतमा रिट दायर गर्दा पार्टीका २३ निवर्तमान सांसदबाट गरिएको हस्ताक्षर फिर्ता गर्न निर्देशन दिएको थियो हो ।
कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णुप्रसाद रिमाल तथा नेता नेपाल पक्षबाट डा भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त रहनुभएको छ ।


















