निरञ्जन राजवंशी
काठमाडौं,२६ आषाढ(बीबीसी) । ब्रजिलका कट्टर नेपाली समर्थक नुतन बज्राचार्यलाई यस पटक कोपा अमेरिका फुटबल प्रतियोगिता खल्लो लागिरहेको छ।
युरोपका सहरहरूमा भरिभराउ दर्शकमाझ उचाइ छोइरहेको युरो २०२० ले ब्रजिलका बन्द रङ्गशालामा चुपचाप चलिरहेको कोपा अमेरिकालाई नराम्ररी छायामा पारेको देखिन्छ।
र, त्यसलाई पछ्याइरहेका विश्वभरका दर्शकहरूलाई पनि।
ब्रजिली फुटबलको पुराना पारखी बज्राचार्य भन्छन्, “ब्रजिलको खेलमा पहिलेको जस्तो स्वाद छैन। ब्रजिली छवि हराए जस्तो, के नपुगे-नपुगे जस्तो खेल। तर आर्जेन्टिना विरुद्धको फाइनल चाहिँ गजब हुनेछ।”
कोरोनाभाइरस सङ्क्रमणको खतराका माझ समस्यै समस्याहरूको बीच सुरु भएको कोपामा प्रतिस्पर्धा भन्दा बढी आलोचना र विवाद भयो।
ब्रजिली जनताको तीव्र विरोध, व्यवस्थापकीय कमजोरी, बन्द रंगशाला र युरो कपसँग जुधेको तालिकाका कारण प्रतियोगिताले सोचे जस्तो चर्चा पाएन।
तर एउटा चिज भने सोचे जस्तै, चाहे जस्तै भयो।
त्यो हो आर्जेन्टिना र ब्रजिल बीच फाइनल भिडन्त।
परम्परागत फुटबल दुस्मनी
विश्व फुटबलमा दक्षिण अमेरिकाको नेतृत्वकर्ता बन्ने होडको विवाद र अहिले निश्चित रूपमा मेस्सी र नेयमार बीचको भिडन्त।
यी कट्टर प्रतिद्वन्द्वी बीच फाइनलमा भेट हुने भएपछि विश्व फुटबलको ध्यान एकाएक माराकाना रङ्गशालामा केन्द्रित हुन पुगेको छ।
अब आइतवार बिहानको खेलले दक्षिण अमेरिकी दुस्मनी मैदानमा देखिनेछ। त्यसले पक्कै पनि हलिउड स्टाइलको शीर्षक दिनेछ।
यसमा कुनै विमति छैन की आर्जेन्टिना र ब्रजिलले विश्वका महान् खेलाडीहरू जन्माएको छ।
पेले, जिको र गारिञ्चादेखि अल्फ्रेडो डि स्टेफानो, डियागो म्याराडोना र एडोल्फो पेडेरनेरा यही दुई राष्ट्रमा जन्मिए।
अनि रोनाल्डो, रोनाल्डिन्हो र काकासँगै गाब्रियल बाटिस्टुटा, रोमन रिक्विल्मे र फेर्नान्डो रेडोन्डोसम्म पनि।
अहिले महानतमको सूचीमा चढिसकेका मेस्सी अनि इतिहास कोर्दै गरेका नेयमार मैदानमै छन्।
कोलम्बिया
कोलम्बियाले पेरुलाई ३-२ ले हराउँदै कोपा अमेरिका २०२१ प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ
फुटबल भिडन्तको इतिहास
आइतवारको भिडन्त हेर्नु अगाडि यी दुई राष्ट्रको फुटबल दुस्मनी सम्झिनै पर्छ।
भन्नै पर्दा इतिहासमा आर्जेन्टिना-ब्रजिल बीचको फुटबल महासङ्ग्रामले राम्रा र नराम्रो दुवै इतिहास छोडेको छ।
सन् १९२५ त्यति बेला दक्षिण अमेरिकी च्याम्पियनसिपको नामले खेलिने प्रतियोगितामा क्रिसमस डेमा भएको फाइनल भिडन्त युद्धमा नै परिणत भयो।
रामोन मुटिसले ब्रजिलका अर्थर फ्रेडनरिचलाई गरेको फाउल मुक्कामुक्कीमा पुग्यो।
त्यसमा पछि दुवै टोलीका खेलाडी नै संलग्न भयो अनि त्यो बढेर दर्शकहरू बीचको भिडन्तमा परिणत हुन पुग्यो।
कुनै खेलाडीलाई रातो कार्ड देखाइएन र खेल ब्रजिलले २-० ले जित्यो। त्यसपछि एक दशकसम्म यी दुईको भेट भएन।
ब्राजिलको केही विवादास्पद विजय बाहेक ३० र ४० को दशकमा आर्जेन्टिनाले फुटबलमा दबदबा राख्यो।
सन् १९३९ को घटना त अकल्पनीय थियो।
रियो डे जेनेरियोमा रोका कपको नामले दुई खेल तय भएको थियो। ज्यानुअरीको अन्तिम साता भएको पहिलो खेल आर्जेन्टिनाले ५-१ ले जित्यो।
अर्को हप्ता हुने दोस्रो खेलमा ब्रजिललाई बदला लिनु थियो। खेलमा ब्राजिलले १ गोलको अग्रता लियो तर आर्जेन्टिनाले २ गोल फर्कायो। फेरी ब्रजिलले गोल गरेर खेल बराबरीमा ल्याए।
तर खेल सकिनै लाग्दा रेफ्रीले ब्रजिलको पक्षमा पेनाल्टी दियो। निर्णयबाट क्रुद्ध आर्जेन्टिनाका अर्कादियो लोपेजले रेफ्रीमाथि हातै हाले। प्रहरीले उनलाई पक्राउ गर्यो।
तनाव यति बढ्यो कि रेफ्रीको निर्णय र पुलिस हस्तक्षेपको विरोधमा आर्जेन्टिनाको टोलीले मैदान नै छोडे। अनि ब्रजिलले खाली पोस्टमा गोल गरेर ३-२ ले खेल जित्यो।
त्यसपछिका दिनहरूमा जब जब यी दुई टोली भिडे, त्यसमा दुस्मनी कहिल्यै घटेन, नाटकीय मोडहरू आइरह्यो।
पेले
अनि दुश्मनीले नयाँ मोड लियो दुई महान् खेलाडी पेले र म्याराडोनाको प्रतिस्पर्धामा। पेलेले १९५८ देखि १९७० को बीचमा ब्रजिललाई तीन वटा विश्वकप जिताए।
आर्जेन्टिनालाई ब्रजिल फुटबलमा महान् राष्ट्र भएको स्वीकार्न बाध्य पारियो।
जब फुटबलमा म्याराडोनाको युग सुरु भयो, पर्खाइमा रहेको अर्जेन्टिना जुरमुरायो। दुवैले विश्व फुटबलमा अब्बलको इतिहास कोर्न आआफ्नै ढङ्गले व्याख्या गरिरह्यो।
यो सब यी दुईबीच फुटबल विरासतको युद्ध थियो।
यी दुई बीचको प्रतिस्पर्धाले कुनै पनि बेला उग्र रूप लिई हाल्थ्यो।
जस्तै १९९० को विश्वकपको राउन्ड अफ १६ को भेटमा आर्जेन्टिनाले खेल १-० ले जित्यो।
तर ब्रजिलका ब्रान्कोले आर्जेन्टिनाको ट्रेनिङ स्टाफले पानीको बोटलले प्रहार गरेको आरोप लगाएपछि सो घटना ‘होली वाटर गेम’ को रूपमा विवादित बन्यो।
आर्जेन्टिना
अर्को वर्षको कोपा अमेरिकामा त बबालै भयो। लिगमा भएको सो भेटमा पाँच खेलाडीले रातो कार्ड पाए र खेलमा पाँच गोल भयो। खेल आर्जेन्टिनाले ३-२ ले जित्यो।
दुस्मनीको यो सिलसिला जारी नै छ।
फाइनल अगाडि ब्रजिली कप्तान नेयमारले जिस्किँदै तर गम्भीर भएर उपाधि भिडन्तमा आर्जेन्टिना चाहेको र उसलाई हराउने प्रतिक्रिया दिइसकेका छन्।
अझ आगोमा ध्यू थप्ने काम ब्रजिली राष्ट्रपतिले गरेका छन्।
राष्ट्रपति जाइर बोल्सोनारोले आर्जेन्टिनी समकक्षी अल्बर्टो फर्नान्डेजसँग अनलाइन बैठकमा भनेछन् – “फाइनलमा ब्रजिल ५-० जित्नेछ।
“जवाफमा फर्नान्डेज मुस्कुराए मात्र।
मेस्सीविरुद्ध नेयमार
३४ वर्षीय मेस्सी फुटबलको उत्तरार्द्ध देशलाई उपाधि जिताउन चाहन्छ।
यति लामो फुटबल जीवनमा राष्ट्रलाई ठूलो उपाधि दिलाउन नसक्नुको पीडा मेट्ने अनि यो उपाधि म्याराडोनाप्रति समर्पित गर्ने उनको चाहना हो।
नेयमारले पनि आफ्नो कप्तानीमा कहाँ ठूलो उपाधि जितेको छ र। २०१९ को कोपा जित्दा चोटले सताइएको उनी टोलीमा थिएनन्।
त्यसैले नेयमार उपाधि घर बाहिर जान दिने पक्षमा छैनन्।
यी दुईले जितेको भनेको ओलिम्पिक ट्रफी मात्रै हो। मेस्सीले सन् २००८ मा र नेयमारले २०१६ को ओलिम्पिक जित्यो। तर दुवैको नाममा कोपा र विश्वकप छैन।
दुई असल मित्र मेस्सी र नेयमारले बार्सिलोनामा सँगै खेल्ने क्रममा २०१५ को च्याम्पियन्स लिग जितेका थिए।
दुई गोल र तीन एसिस्ट (गोलको अवसर जुराएका ) गरेका नेयमार फर्ममा छन् र उनले घरेलु मैदानमा खेलको खेल अहिलेसम्म हारेको छैन।
फेरी ब्राजिलले पछिल्लो तीन वर्षमा प्रतिस्पर्धात्मक खेल हारेको पनि छैन।
नेयमार
सन् २०१९ मा आर्जेन्टिनासँग उसले साउदी अरेबियामा एउटा मैत्रीपूर्ण खेल हार्यो। त्यसमा पनि नेयमार अनुपस्थित थिए।
आर्जेन्टिनाले खेल १ -० ले जित्यो । गोल कसले गर्यो होला। पक्कै पनि मेस्सीले।
जारी खेलमा मेस्सीले ४ गोल र ५ एसिस्ट गरेका छन्। अर्थात् उनी पूर्णतः फर्ममा देखिएका छन्।
तर सम्झिनुपर्ने तथ्य के पनि हो भने पछिल्लो समय मेस्सीले प्रतिस्पर्धात्मक खेलमा ब्राजिल विरुद्धको खेल जित्न सकेको छैन।
तर इतिहास अहिले उही माराकाना रङ्गशालामा फर्किएको छ। जहाँ मेस्सीले २०१४ को विश्वकप उपाधि जर्मनीसँग गुमाएको थियो।
त्यो चोट र भयानक पीडा बिर्सने मुड मेस्सीले बनाइसकेका छन्। सेमीफाइनल जितेपछि उनले भनेका थिए, “म देशलाई उपाधि दिलाउन चाहन्छु।”
अर्थात् मेस्सीले आफ्नो सम्पूर्ण अनुभव र क्षमता माराकानामा पस्किने पक्का छ।
को बन्ला विजेता?
अब कुरा गरौँ फेरी नेपाली समर्थककै।
पछिल्लो समय युरोपेली फुटबलसँग नजिकिन थालेकोले हो, युरोपको खेलमा नेपाली समर्थकको चासो बढेको छ। तर यसमा कुनै शङ्का छैन की नेपालमा ब्रजिल र आर्जेन्टिनाका समर्थकहरूको अझै कमी छैन।
नूतन बज्राचार्य र विकास मल्ल जस्ता नेपाली समर्थकहरू आ-आफ्नै टोलीले जित्ने दाबी गर्छन्
आर्जेन्टिनाबाट प्रभावित भएर त्यसकै जर्सीलाई ब्रान्ड बनाएको मनाङ मर्स्याङ्दीका खेलाडी पदाधिकारी प्राय मेस्सीको टोलीका समर्थक हुन्।
तर मनाङ मर्स्याङ्दीका महासचिव अनिल गुरुङ अहिले ब्रजिलका पक्का समर्थक बनेका छन्।
उनी भन्छन् – ” ब्रजिल पूर्ण टोली हो। उसको रक्षापङ्क्ति मजबुत छ अनि अग्रपङ्क्तिमा नेयमार।”
उनलाई मेस्सीले गडबड गर्न सक्ने डर पनि छ। उनको अनुमानमा खेल २-१ ले ब्राजिलको पक्षमा हुनेछ।
राष्ट्रिय टोलीका पूर्वरक्षक नारायण मानन्धरको मन पर्ने टोली पनि ब्रजिल र उसको रक्षापङ्क्ति हो।
भेट्रान थिएगो सिल्भा, मार्कुनोस र इडेर मिलिताओ उनलाई मन पर्ने रक्षापङ्क्तिका खेलाडी हुन्, जसले ६ खेलमा २ गोल मात्र खाएका छन्।
उनी भन्छन् – “आर्जेन्टिनाको खेल मेस्सी केन्द्रित छ। सबै खेलाडी मेस्सीबाट वा उनी मार्फत गोल निकाल्ने योजनामा खेल्छन्। त्यस्तो टिमलाई रोक्ने रणनीति बुन्न सजिलो हुन्छ।”
“तर ब्रजिल त्यस्तो होइन।”
तर राष्ट्रिय टोलीका पूर्वगोलकिपर विकास मल्ल भन्छन्, ” यसपालि उपाधि आर्जेन्टिनाको हो। परिस्थिति पनि भाग्यले पनि आर्जेन्टिनालाई साथ दिने मलाई विश्वास छ।”
ब्राजिलका प्रभावशाली मिडफिल्डर जेसुस नहुनु पनि कम्ती पीडाको विषय होइन। उनले चिले विरुद्धको खेलमा हानेको ‘फ्लाइङ चेस किक’ ले फाइनल नै गुमाउनु पर्यो।
मल्ल भन्छन्, “मेस्सी मात्र होइन, गोलकिपर इमिलियानो मार्टिनेजले प्रमाणित गरेको छ कि यसपालि आर्जेन्टिना कति बलियो टोली हो भनेर। फेरी दुर्भाग्यको आर्जेन्टिनानै सिकार हुन्छ भन्ने छैन। यसपालि भगवान्ले पनि हेर्नेछ।”