Prakash Adhikari July 10, 2021

हेलम्बु/मेलम्ची (सिन्धुपाल्चोक),२६ आषाढ । सरकारले मेलम्ची–हेलम्बु क्षेत्रका बाढीपीडित नागरिकलाई प्रतिपरिवार रु ५० हजारका दरले सहयोग गर्ने भएको छ । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित पालिकाहरूलाई राहत कोष तथा सामग्री हस्तान्तरण गर्नुभएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट ३६६ घरपरिवारलाई रु ५० हजारका दरले जम्मा रु एक करोड ८३ लाख सहयोग हस्तान्तरण गरिएको हो । मेलम्ची खानेपानी आयोजनाबाट हेलम्बु गाउँपालिकालाई रु दुई करोड ५० लाख, मेलम्ची नगरपालिकालाई रु एक करोड ३६ लाख, पाँचपोखरी थानपाल गाउँपालिकालाई रु दुई करोड र इन्द्रावती गाउँपालिकालाई रु १५ लाख बराबरको तारजाली हस्तान्तरण गरिएको हो । त्यसैगरी साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडबाट एक हजार ५०० बण्डल जस्तापाता उपलब्ध गराइएको छ ।

त्यसैगरी निर्माण व्यवसाय प्रवद्र्धन कोषबाट हेलम्बु गाउँपालिकालाई रु छ लाख र मेलम्ची नगरपालिकालाई रु चार लाख सहयोग घोषणा गरिएको छ । प्रधानमन्त्री ओली र धर्मपत्नी राधिका शक्य, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, पूर्वमन्त्री शेरबहादुर तामाङ, सम्बन्धित मन्त्रालयका सचिव तथा प्रतिनिधिसहितको टोलीले स्थलगत अवलोकन गरेको थियो ।

मेलम्चीको बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित मेलम्ची बजारको बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको स्थलगत अवलोकन गर्दै मेलम्ची बजारले भोगिरहेको प्राकृतिक क्षतिको दीर्घकालीन समाधान खोज्दै बजारलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गरी त्यस ठाउँमा तरकारी तथा फलफूल खेती गरिने योजनाबारे जानकारी दिनुभयो ।

उहाँले राजनीतिक आस्थाभन्दा माथि उठेर मानवीय रुपमा बाढी प्रभावितलाई सहयोग गर्न सबै राजनीतिक दल र सङ्घसंस्थालाई आह्वान पनि गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो,“विपत्का समयमा राजनीति गर्नु उचित होइन, यस समयमा सबै मिलेर सहयोग गर्नुपर्छ, सक्रियताका साथ एकताबद्ध भएर समस्याको समाधान खोज्नुपर्छ ।”

उहाँले बाढी प्रभावितका लागि विभिन्न सङ्घसंस्था र व्यक्तिद्वारा वितरण गरिएको राहत लक्षित समुदायसम्म पुग्न नसकेकाले एकद्वार प्रणालीबाट मात्रै वितरण गर्न आह्वान गर्नुभयो । उहाँले राहत वितरणभन्दा पनि सामाजिक सञ्जालमा प्रचार मात्रै बढी हुने गरेको बताउँदै राहत वितरणका नाममा विभिन्न धर्मको प्रचारप्रसार नगर्न पनि अनुरोध गर्नुभयो ।

प्रधानमन्त्री ओलीले बाढी प्रभावित मेलम्चीका सडक, पुललगायत पूर्वाधारको पुनःनिर्माणको काम तीव्र रुपमा अगाडि बढाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले मेलम्ची बजारमा रहेको चन्द्रशम्शेरद्वारा निर्मित झोलुङ्गे पुललाई संरक्षण गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

उहाँले मेलम्ची खानेपानी आयोजनाको पुनःनिर्माण गरेर कम्तीमा यस वर्षभित्र काठमाडौँ उपत्यकाभित्र पानी ल्याउने व्यवस्था मिलाइने बताउनुभयो । उहाँले भन्नुभयो,“ राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना आयोजना धेरै वर्ष लगाएर सम्पन्न भएकाले पुनःनिर्माणमा लामो समय लगाउनु हुँदैन ।” आयोजनाको सुरुङ परिक्षण भइरहेकाले त्यसमा क्षति कम भएको उहाँको भनाइ थियो ।

सो अवसरमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र पूर्वमन्त्री शेरबहादुर तामाङको समेत सहभागिता थियो ।

Share Now

Leave a comment.