Prakash Adhikari February 21, 2018

भवानीपुर,देवदह(रुपन्देही),९ फागुन। विभिन्न हत्या,फिरौती र अपहरणमा स‌ंलग्न मनोज पुन र उनका सहयोगी सोम आले बुधबार बिहान भएको प्रहरीको इन्काउण्टरमा मारिएका छन्।

देवदह नगरपालिका–४ भवानीपुरमा बुधबार बिहान साढे ३ बजे रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवाली सहितको टोलीसंग उनको टोलीको इन्काउण्टर भएको थियो ।

३ वर्षदेखि ‘मोष्ट वान्टेड’को सूचीमा रहेका उनी प्रहरीको गोली लागेर घाइते भएका थिए। उनको लुम्बिनी अञ्चल अस्पतालमा ल्याएपछि मृत्यु भएको हो। पुनसँगै उनका सहयोगी सोम आलेको पनि मृत्यु भएको छ।

गत वर्ष देवदहमा भएको युवा संघका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्याका साथै गत असोजमा काठमाडौंमा व्यवसायी महासंघका तात्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा उनको संलग्नता रहेको प्रहरीले बताएको थियो। यस्तै गत पुस २२ गते उनले देवदहमा वसन्त पौडेलको हत्या गराएका थिए। नेपाल प्रहरीको सीआईबीसहितको टोली केही दिनदेखि उनको खोजीका लागि खटिएको थियो।

गोवामा पक्राउ

मनोज पुनसहित सोम आले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(बीआईबी)ले भारतको गोवामा ३ दिन पहिले पक्राउ गरेको थियो ।

प्रहरीले पुनलाई पक्राउ गर्न एक विशेष टोली नै खटाएको थियो। नेपाल प्रहरीले सईको कमाण्डमा खटाएको विशेष टोली पुनलाई नियन्त्रणमा लिन उसलाई भेटिने सम्भावित ठाउँहरुको खोजी गर्दै करिव ३ महिनादेखि भारतमा कार्यरत रहेको थियो।

सोही टोलीले उनलाई फागुन ६ गते भारतको गोवाबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।्््

कानुनी कारबाही चलाउदा पुन शक्ति प्रयोग गरेर उम्किने भय देखेकोले उसलाई मिलेसम्म इन्काउण्टरमा व्यवस्थापन गर्न सीआइबीले निर्देशन दिएको थियो ।

रुपन्देही एमालेका पूर्व कार्यकर्ता रहेका पुन हत्या, धम्की र फिरौतीमा संलग्न रहि एकपछि अर्को एमालेकै कार्यकर्ताको हत्यामा संलग्न रहेपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुनुपूर्व नै पुनलाई कार्वाही गर्न प्रहरीलाई निर्देशन दिएका थिए।

पुनले पछिल्ला दिनमा युवा संघ र एमालेका नेता कार्यकर्ताहरुलाई धम्क्याउन थालेका थिए । पुनको समूहले एमालेका स्थानीय नेता सिद्धिचरण भट्टराई लगायतलाई धम्क्याउँदै आएको थियो।

पुनकै समुहले करिव दुई महिना अगाडी काठ व्यवसायी तथा यूवा संघका नेता वसन्त पौडेल बल्लुलाई हत्या गरेको थियो भने यूवा संघकै दुर्गा तिवारीलाई १ बर्ष पहिले हत्या गरेको थियो।

यूवा संघ रुपन्देहीका तत्कालिन कोषाध्यक्ष समेत रहेका पुन आपसी लेनदेनको कुरामा मनमुटाव भएपछि आफ्नो समूह बनाएर धम्की फिरौती र हत्यामा संलग्न रहँदै आएका थिए।

बुटवलमा यूवा संघका नेताहरुको हत्यामा संलग्न रहेको पुन समुहले काठमाडौं समिरमानसिंह बस्नेत समुहसँग मिलेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको समेत हत्या गरेको जिम्मा लिएको थियो।

Share Now

Leave a comment.