Prakash Adhikari July 11, 2021

 

निरञ्जन राजवंशी/बीबीसी 
काठमाडौं, २७ आषाढ ।  युरो कप २०२० को सेमिफाइनलमा १-० को अग्रता लिइरहेको बेला डेनमार्कका रक्षक सिमोन केजरले गरेको आत्मघाती गोल प्रतियोगिताको ११ औँ आत्मघाती गोल थियो।
त्यही गोलका कारण इङ्गल्यान्ड विरुद्धको खेलमा डेनमार्क १-१ को बराबरीको स्थितिमा पुग्यो र अन्ततः अतिरिक्त समयमा खेल गुमाउन पुग्यो।
विश्वकपपछि विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको रूपमा रहेको युरो २०२० को फाइनलमा आइतवार राति इङ्गल्यान्ड र इटली खेल्दै छन्।
आफ्नै घरेलु मैदान वेम्बलीमा खेलिने सो फाइनल जिते इङ्गल्यान्ड युरो कपको उपाधि उचाल्ने ११ औँ राष्ट्र बन्नेछ।
त्यस्तै इङ्गल्यान्डले एक गोल मात्रै गरेर जितेमा त्यो उसको प्रतियोगितामा ११ औँ गोल पनि हुनेछ।
यसपालिको युरो कपमा ११ अङ्कको थुप्रै संयोगहरू मिसिएको छ।
कोरोनाभाइरस महामारीले विश्व नै आक्रान्त भएपछि सन् २०२० मा नै हुने तय भएको प्रतियोगिता ११ महिनापछि भइरहेको हो।
खेल ११ जुनमा सुरु भएको थियो भने फाइनल खेल ११ जुलाईमा हुँदैछ।
महामारीले विश्व फुटबललाई नराम्ररी बिथोलिरहेको बेला दर्शकहरूको प्रत्यक्ष उपस्थितिमा भएको युरो कपमा यस्ता थुप्रै कथाहरू लेखिएका छन्।
११ देश आयोजक
युरो कप पहिलोपटक ११ राष्ट्रले संयुक्त रूपमा आयोजना गरेका छन्।
युरोपेली फुटबल महासङ्घका अध्यक्ष मिसेल प्लाटिनीले यूइएफएको ६० औँ वार्षिक उत्सवमा संयुक्त आयोजनाको घोषणा गरेका थिए।
इङ्गल्यान्ड
त्यसपछि थुप्रै देशले आवेदन दिएकोमा अन्ततः ११ देशको ११ सहरले आयोजनाको स्वीकृति पाएको थियो।
ती सहर लन्डन (इङ्गल्यान्ड), सेभिला (स्पेन), ग्लास्गो (स्कटल्याण्ड), कोपनहेगन (डेनमार्क), बुडापेस्ट (हंगेरी), एम्स्टरडम (नेदरल्याण्ड्स), बुखारेष्ट (रोमानिया), रोम (इटली), म्युनिख (जर्मनी), बाकु (अजरबैजान) र सेन्ट पिटर्सबर्ग (रुस) हुन्।
दुई सेमिफाइनल र फाइनल खेल लन्डनको वेम्बली रङ्गशालामा तय गरिएको थियो, जहाँ आयोजक राष्ट्र इङ्गल्यान्डले नै सेमिफाइनल र फाइनल खेल्ने अवसर पायो।
११औँ देशलाई उपाधि?
फाइनलमा विजय हात पारेमा त्यो इङ्गल्यान्डको लागि सन् १९६६ पछिको पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधि हुनेछ।
५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुगेको टोलीको लागि उपाधि विशेष हुने छ नै, युरो कपको हकमा भने त्यो उपाधि जित्ने ११ औँ राष्ट्र हुनेछ।
यसअघि युरो कप १० राष्ट्रले जितिसकेका छन्। पोर्चुगल, स्पेन, ग्रिस, फ्रान्स, जर्मनी, डेनमार्क, नेदल्याण्ड्स, चेकोस्लोभाकिया, इटली र सोभियत सङ्घले युरो जितेका छन्।
इटली
इटलीले उपाधि जिते त्यो उनीहरूको लागि उपाधि र ३४औँ खेलसम्म अपराजित यात्राको कीर्तिमान हुनेछ।
इटली भने ठूलो प्रतियोगिताको फाइनलमा पुगेको यो ११ औँ अवसर हो।
यसअघि इटली छ पटक विश्वकप र तीन पटक युरो कपको फाइनलमा पुगिसकेको छ।
जसमा चार पटक विश्वकप र एक पटक युरो कपको उपाधि जितिसकेको छ। टोलीले सन् १९३६ मा ओलिम्पिक उपाधि पनि जितेको थियो।
कति बेला हुन्छ खेल?
वेम्बलीमा आइतवारको राति नेपाली समय अनुसार सोमवार बिहान पौने १ बजे सुरु हुने खेलमा सारा विश्वको ध्यान केन्द्रित हुनेछ।
विश्व फुटबलका विज्ञहरू इङ्गल्यान्ड र इटली उपाधि सम्भावनाबारे आआफ्नै तरिकाले अनुमान लगाउन व्यस्त छन्।
बाजी बजारमा ५८ प्रतिशतले इङल्यान्डले जित्ने अनुमान गरिएको छ।
नेपाली समर्थकहरूले पनि युरो कपलाई चासोका साथ हेरिरहेका छन्।
इटली
के भन्छन् ११ नम्बर जर्सी लगाउनेहरू?
नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलेका स्ट्राइकरमध्ये राम्रो मानिने गणेश थापाले राष्ट्रिय टोलीमा ११ नम्बर जर्सी लगाउँथे।
युरो कपमा भने उनले खासै चासो नलिएको बताउँछन्।
उनले भने, “म नेपाली फुटबलको मात्र पारखी हुँ। नेपालको खेल चाहिँ जुनसुकै बेला हेर्छु। अरू खेल गहिरिएर हेरेको छैन।”
उनको समयमा प्रत्यक्ष हेर्ने सुविधा पनि नभएकोले बानी नपरेको उनको भनाइ छ।
११ नम्बर जर्सीमा प्रभावकारी प्रदर्शन गर्ने अर्का राष्ट्रिय खेलाडी हुन् हरि खड्का। राष्ट्रिय टोलीबाट १३ गोल गरिसकेका उनी भन्छन्, “यसपालि उपाधि इङ्गल्यान्डले जित्नेछ।”
स्कोर २-१ हुने उनको अनुमान छ।
उनका अनुसार यसपालि इङ्लिस टोलीले आधुनिक फुटबलको शैलीलाई राम्ररी पछ्याएर खेलिरहेको छ।
अनिता बस्नेत राष्ट्रिय महिला टोलीमा ११ नम्बर जर्सी लगाउने खेलाडी हुन्।
गत वर्षको राष्ट्रिय टोलीबाट खेल्दा प्रभावशाली सदस्यको छवि बनाइसकेकी अनिता पनि इङ्गल्यान्डकै पक्षमा छिन्।
उनी भन्छिन्, “गत विश्वकपमा उच्च स्कोर गरेका ह्यारी केन मलाई मन पर्छ। उनलाई पछ्याउँदै गर्दा इङ्गल्यान्ड मेरो मन पर्ने टोली बन्यो। चाहन्छु यस वर्षको युरो कप इङ्गल्यान्डले जितोस् र वर्षौँ लामो उपाधि यात्रामा पूर्ण विराम लागोस्।”
खेलाडीहरू
खेलाडीहरू
इटली कि इङ्गल्यान्ड?
बस्नेतका अनुसार इङ्लिस टोलीको रक्षापङ्क्ति बलियो छ र टिम एकताको भावना यसपालि धेरै छ।
बस्नेतको अनुमानमा पनि स्कोर २-१ ले इङल्यान्डको पक्षमा हुनेछ।
गत वर्ष कोरोनामहामारीका बीच बाङ्लादेशविरुद्ध मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय टोलीबाट पहिलो पटक खेल्दा पुजन उपरकोटीले ११ नम्बरको जर्सी लगाए। त्यसयता विश्वकप छनोट खेलमा उनले त्यही जर्सी पाए।
उनी भने इटलीका समर्थक हुन्। भन्छन्, “इटलीको रक्षापङ्क्ति त सधैँ राम्रो छ नै, यसपालि आक्रमण पक्षमा पनि बलियो छ।”
उनका अनुसार मिडफिल्डमा मार्को भेराट्टी र जोर्गिन्हो राम्रा छन् भने स्ट्राइकरमा बेलोट्टी र चेइसाले राम्रो गरिरहेका छन्।
उपरकोटीले भने, “मेरो अनुमान हो इटली २ इङ्गल्यान्ड १।”

 

Share Now

Leave a comment.