Prakash Adhikari July 12, 2021

काठमाडौं, २८ आषाढ । सर्वोच्च अदालतको सोमबार आएको फैसला रआदेशप्रति विपक्षी पाँच दलका गठबन्धनले प्रारम्भिक प्रतिक्रिया दिँदै आदेशलाई स्वागतयोग्य भनेका छन्।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको आदेशले सत्तापक्षको निर्णयलाई सच्याइदिएको प्रतिक्रिया दिनुभएको छ।

“बालुवाटार र शीतल निवासले आवेगमा जुन निर्णय गरेका थिए सर्वोच्च अदालतले त्यसलाई विवेकपूर्ण ढङ्गले सच्याइदिएको छ।”, शर्माले भन्नुभएको छ, “लिक बाहिर जान लागेको संविधानलाई सर्वोच्च अदालतले ट्र्याकमा ल्याइदिएको छ।”

माधव नेपालको प्रतिक्रिया

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले ‘निरङ्कुश प्रवृत्तिलाई नियन्त्रण गरेको ‘ बताउनुभएको छ।

उहाँले भन्नुभयो, “सम्मानित सर्वोच्च अदालतको फैसलाबाट संविधानको रक्षा भएको छ। लोकतन्त्रको रक्षा भएको छ र संविधानको कानुनी व्याख्या भएको छ।”

उहाँले देउवालाई प्रधानमन्त्री बनाउनका लागि आफूहरूले हस्ताक्षर गरेकाले देउवा स्वतः प्रधानमन्त्री बन्ने दाबी समेत गर्नुभयो।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता देव गुरुङ सर्वोच्च अदालतको फैसला सकारात्मक भएको प्रतिक्रिया दिनुभएको छ।

“फैसला सकारात्मक छ, सही ढङ्गले फैसला आएको छ। हामी यसको सम्मान गर्छौँ “, उहाँले भन्नुभएको छ।

जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले पनि फैसलाको स्वागत गरेको छ।

सो पार्टीको कार्यकारिणी समितिका सदस्य राजेन्द्र श्रेष्ठले भन्नुभएको छ, “संविधानमा जुन व्यवस्था छ त्यसलाई थप व्याख्या गरेर अदालतले नेपाली जनताको चाहानाअनुसार फैसला गरेको छ। यसले संविधानको रक्षा गरेको छ।”

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले चाहिँ सर्वोच्चको निर्णयलाई “राजनीतिक फैसला” भन्नुभएको छ।

सर्वोच्चको निर्णयपछि उनले ट्वीट गर्दै “फैसला कार्यान्वयनमा जटिलता” उत्पन्न हुने र देश “अस्थिरतातर्फ जाने” उल्लेख गर्नुभएको छ।

 

Share Now

Leave a comment.