काठमाडौं, २८ आषाढ । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतले सोमवार गरेको फैसलाको स्वागत गर्नुभएको छ।
आफ्नो नेतृत्वमा १ सय ४६ जना सांसद र लोकतन्त्रप्रेमी अधिवक्ता तथा नागरिकहरुका तर्फबाट असंवैधानिक ढंगले गरिएको प्रतिनिधिसभा विघटन बदर गरी संसद पुनस्थापना गर्न र राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेबमोजिम प्रतिनिधिसभाका १ सय ४९ जना सांसदहरुको हस्ताक्षरसहित नयाँ सरकार बनाउन आफूले गरेको दावी अनुसार प्रधानमन्त्री नियुक्त गराउन परमादेश माग गर्नु भएका देउवाले सिर्वोच्च अदालतबाट सो अनुरुप फैसाला आएपछि त्यसको स्वागत गर्नुभएको हो ।
सर्वोच्चको फैसला आएपछि एक वक्तव्य जारी गर्दै उहाँेले उक्त फैसलाले “देश र जनताको हितमा संयम र एकताका साथ समर्पित भएर कार्य गर्न” सबैलाई थप जिम्मेवार बनाएको बताउनुभएको छ।
वक्तव्यमा देउवाले भन्नुभएको छ “कसैले पनि यसलाई व्यक्तिगत जित र हारको विषयका रूपमा नलिइ लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्छ भन्ने अपिल र आग्रह पनि म गर्न चाहन्छु। ”


















