काठमाडौं, ९ फागुन । संघीय संसद्को शपथग्रहण फागुन २० गते हुने भएको छ।
संसद सचिवालयले बुधबार सूचना जारी गर्दै निर्वाचित सांसदहरुलाई शपथ ग्रहणका लागि उपस्थित हुन आग्रह गरेको छ।
राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरुलाई आ आफ्ना सभाका जेष्ठ सदस्यले शपथ गराउने छन्।
संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले दुवै सभाको शपथग्रहण समारोह अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा हुने उल्लेख गरेका छन्।
प्रतिनिधिसभाको शपथग्रहण फागुन २० गते अपराह्न ४ बजे हुनेछ।
यस्तै राष्ट्रियसभाको सपथग्रहण समारोह अपराह्न ५ बजे हुनेछ।
त्यसको १ घण्टाअगावै राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्किने पोशाकमा निर्वाचन आयोगको प्रमाणपत्रसहित उपस्थित हुन ससद् सदस्यहरूलाई सचिवालयले आग्रह गरेको छ।
त्यस्तै कुनै सदस्यहरुले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यसकोे सदस्यले व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित तीन दिनअघि नै संघीय संसदको सचिवालयमा उपलब्ध गराउन आग्रह गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम फागुन २१ गतेका लागि संसद्को पहिलो अधिवेशन आह्वान गरिसकेकी छिन्।