Prakash Adhikari July 13, 2021

काठमाडौं, २९ आषाढ। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा उहाँले मन्त्री चयन गर्नुभएका चार जनाले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री देउवालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

सोही समारोहमा राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा मन्त्रीमा सिफारिस भएका चार मन्त्रीहरुलाई पनि शपथग्रहण गराउनुभएको छ ।

प्रधानमन्त्री नियुक्त नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ६ गते संविधानको धारा ७६(५) अन्तरगतको सरकार गठनका लागि आह्वान गर्दा आफ्नो नेतृत्वमा सरकार बनाउन आह्वान गर्ने गठबन्धन दलका तर्फबाट सानो आकारको मन्त्रिपरिषद् बनाउने निर्णय गर्नुभएको थियो ।

सो गठबन्धनमा संलग्न दलहरुमध्ये नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भूसाललाई पहिलो चरणमा मन्त्रिपरिषद्मा प्रतिनिधित्व गर्न पठाएको छ । उहाँहरुलाई क्रमश अर्थ र ऊर्जा र सिंचाई मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने प्रधानमन्त्रीले आफ्नो पार्टीका तर्फबाट बालकृष्ण खाँण र ज्ञानेन्द्र कार्कीलाई मन्त्री बनाउन सिफारिस गर्नुभएको छ । खाँणलाई गृहमन्त्रालय र कार्कीलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

विज्ञप्तिमा धारा छुटेकोले लफडा

सर्वोच्च अदालतले सोमबार २८ घण्टाभित्र प्रतिनिधिसभामा नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह ४ बजे देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्तिका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको परमादेशको मात्र उल्लेख गरेपछि संविधान अनुरुप नियुक्त हुने देशको कार्यकारी प्रमुखको बारेमा धारा ७६(५) उल्लेख गरेर अर्को विज्ञप्ति जारी गर्न अड््डी लिनुभयो ।

यसैले ६ बजेका लागि निर्धारित शपथ ग्रहण राती ८ बजेपछि पुगेको थियो ।

राष्ट्रपतिले नियुक्तिकोे ब्यहोरामा सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिनुभएको थियो ।

Share Now

Leave a comment.