काठमाडौं, २९ आषाढ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको छ।
राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिइसकेपछि सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले जतिसक्दो छिटो सबै नागरिकको पहुँचमा खोप पुर्याउने निर्णय गरेको हो।
छोटो समयका लागि बसेको बैठकले सरकारको प्रवक्तामा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई चयन गरेको छ।
मंगलबार राती ८ बजेपछि प्रधानमन्त्रीमा देउवासहित ४ जना मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको थियो।
राष्ट्रपति भण्डारीबाट मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री नियुक्त हुनुभएका प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले गृहमन्त्रीमा नेपाली कांग्रेसका बालकृष्ण खाँण, अर्थमन्त्रीमा नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा, उर्जामन्त्री माओवादी केन्द्रका पम्फा भुसाल र कानुनमन्त्रीमा नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीलाई नियुक्त गर्नूभएको थियो ।
संविधानले संघीय मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय बनाउन सकिने व्यवस्था गरेको छ।
बाँकी २० मन्त्रीहरु एक दुई दिनमा नै थपिसक्ने तयारी गठबन्धनले गरेको छ।


















