वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), ९ फागुन(बीबीसी) । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले हिउँदे ओलिम्पिक्सका क्रममा उत्तर कोरियाली प्रतिनिधिमण्डलसँग उच्चस्तरीय वार्ता गर्ने योजना बनाए पनि अन्तिम समयमा उत्तर कोरियाली पक्षले वार्ता रद्द गरेको ह्वाइट हाउसले जनाएको छ।
दक्षिण कोरियाको राजधानी सोलमा हिउँदे ओलिम्पिक्सको समयमा उक्त वार्ता हुने ठानिएको थियो।
अमेरिकी अधिकारीहरूका अनुसार पेन्सले प्योङयाङको प्रतिनिधिमण्डलको नेतृत्व गरेकी उत्तर कोरियाली नेता किम जोङ अनकी बहिनी किम यो जोङसँग ओलिम्पिक्सको उद्घाटन समरोहको भोलिपल्ट कुराकानी गर्ने तय भएको थियो।
तर उत्तर कोरियाले पेन्सले प्योङयाङविरुद्ध नयाँ प्रतिबन्धहरू घोषणा गरेको र उत्तरका भगौडाहरूलाई भेटेको भन्दै वार्ता रद्द गरिएको थियो।
अवसर
उक्त गोप्य वार्ता दक्षिण कोरियाली राष्ट्रपतिको निवास ब्लू हाउसमा गर्ने भनेर तय भएको थियो।
त्यही दिनै उत्तर कोरियाली नेताकी बहिनीले दक्षिण कोरियाली राष्ट्रपति मून जे इनलाई उत्तरको भ्रमणको निम्तो दिएकी थिइन्।
कतिपय विश्लेषकहरूले उपराष्ट्रपति पेन्सले ओलिम्पिक्सले दिएको अवसर छोपेर उत्तर कोरियासँग वार्ता गर्ने मौका गुमाएको भन्दै आलोचना गरेका थिए।



















