संजीव गिरी / बीबीसी न्यूज नेपाली
काठमाडौं,३० आषाढ । प्रधानमन्त्रीका रूपमा आफ्नो दोस्रो कार्यकालमा ४१ महिना नेपालको शासनको नेतृत्व गर्नुभएका केपी शर्मा ओलीसँग कार्यकारी प्रमुखका रूपमा इतिहास रच्ने स्वर्णिम अवसर भए पनि आफू केन्द्रित राजनीतिमा रुमलिँदा त्यो गुमेको राजनीतिक विश्लेषकहरूले बताएका छन्।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकृत गरी नेपाल कम्युनिस्ट पार्टीको (नेकपा) निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भनिएका ओलीले जति जस पाउनुभएको छ त्यति नै अपजस पार्टीलाई सम्हाल्न नसक्दा लिनुपरेको उनीहरूको तर्क छ।
नेपालको पछिल्लो राजनीतिक इतिहासमा झन्डै दुईतिहाइ बहुमतसहित शक्तिशाली बन्नुभएका प्रधानमन्त्री ओलीको मङ्गलवार बहिर्गमन भइरहँदा उहाँको कार्यकालमा सकारात्मक उपलब्धिभन्दा पनि नकारात्मक पक्ष बढी देखिएको कतिपय विश्लेषकहरूको भनाइ छ।
देशको कार्यकारी नेतृत्वका हिसाबमा उहाँको मूल्यांकन गर्दा भने २०७२ सालमा पहिलो पटक प्रधानमन्त्री बन्दाको अवस्था, नेकपाबाट प्रधानमन्त्री बन्दाको अवस्था र पछि एमालेले नेतृत्व गरेको सरकारका हिसाबले छुट्टा छट्टै रूपमा मूल्यांंकन गरिनुपर्ने आलोचकहरूको तर्क छ।
विकासका नारा भाषणमै सीमित
दोस्रो पटक प्रधानमन्त्री बनेपछि ओलीले बारम्बार दोहोर्याउँदै आएक नारामध्ये एकमा “समृद्ध नेपाल, सुखी नेपाली” पर्ने गर्छ।
सरकारले उक्त लक्ष्य प्राप्तिका लागि ५५ सूचक समेत सार्वजनिक गरेको थियो जसमा उच्च र समतामूलक राष्ट्रिय आयदेखि सुशासन र मानव पूँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग लगायतका विषय समेटिएका छन्।
तर दीर्घकालीन, मध्यकालीन र अल्पकालीन व्यावहारिक कार्यक्रम बनाउने विषयमा ओली चुकेको राजनीतिक विश्लेषक कृष्ण पोखरेल बताउनुहुन्छ।
अलि बढी काल्पनिक, अलि बढी हावादारी रेलका कुरा, पानीजहाजका कुरा, उहाँले भन्नुभयो।
राजनीतिक विश्लेषक श्याम श्रेष्ठ ओलीले आफ्नो चुनावी घोषणापत्रको पाँच(दश प्रतिशत पनि कार्यान्वयन गर्न नसकेको बताउनुहुन्छ।

केही महिनाअघि ओलीले पुनर्निर्माण पछि धरहराको उद्घाटन गर्नुभएको थियो
“उहाँको घोषणापत्र त कागजको खोस्टो भयो”, श्रेष्ठले भन्नुभयो,”न त नेपाली सुखी रहन सके, न त नेपाल समृद्ध भयो।”
पदमा रहँदा विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखेको भन्दै आएका ओली ‘प्रचारमुखी भएको” पनि आरोप लाग्ने गरेको छ।
पछिल्लो समय मेलम्चीको पानी काठमाडौं ल्याउनेदेखि धरहरा र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गर्न निकै तत्परता देखाएको भनिने गरेको छ।
“तामाकोशी न उहाँले थालेको हो। यो त पाइपलाइनमा भएको परियोजना हो। त्यसमा उहाँलाई जस जाँदैन। धरहरा र रानीपोखरी चाहिँ उहाँले बनाएर देखाउनुभयो तर त्यसमा पनि ठूलो ग्याप (धेरै समय) भने भयो”, उहाँले भन्नुभयो।
महामारी नियन्त्रणमा कमजोरी
पदबाट बाहिरिँदै गर्दा निवर्तमान प्रधानमन्त्री ओलीले कोरोनाभाइरस नियन्त्रण तथा रोकथामसम्बन्धी विषयमा आफूले गरेका कामको चर्चा गर्न सोमवार उल्लेख्य समय खर्च गरे पनि यथार्थ त्योभन्दा भिन्न देखिएको जानकारहरू बताउँछन्।
उहाँको करिब साढे तीन वर्षको कार्यकालमा पाँच जना स्वास्थ्यमन्त्री फेरिनु महामारी नियन्त्रणमा सरकार पटक्कै गम्भीर नरहेको पुष्टि हुने कतिपयको भनाइ छ।
उहाँले महामारीलाई गम्भीरतापूर्वक लिनुभएको थिएन भन्ने त झन्डै दुई महिनाअघि मात्रै उनले नेपालमा कोरोनाभाइरस सङ्क्रमण ुयो तहसम्म बढ्छ भन्ने आफूले नठानेकोु बताएपछि प्रमाणित भएको थियो।
विभिन्न अनलाइन सञ्चारमाध्यमले त्यस बेला प्रकाशित गरेका भिडिओमा उहाँले भन्नुभएको छ, “यस रूपमा नेपालमा कोभिड बढ्छ भन्ने मैले ठानेको थिइनँ। मैले के ठानेको थिएँ भने हाम्रो इम्यून सिस्टम (प्रतिरोध प्रणाली) धेरै बलियो छ, त्यस कारण अलिअलि सर्ला तर यस तहमा चाहिँ वृद्धि हुन सक्दैन जस्तो लागेको थियो। तर यस तहमा वृद्धि भयो।”

पीसीआर परीक्षणका लागि स्वाब दिँदै ओली
“सामान्य इम्यून सिस्टमले (प्रतिरोधी क्षमता)ले पनि यसलाई रेजिस्ट (रोक्न) गर्न सक्दो रहेनछ। यद्यपि इम्यून सिस्टमको (रोग प्रतिरोधी क्षमताको) काम छैन (भन्ने) होइन। त्यो जति मात्रामा मानिसहरू रिभाइभ (निको) भएका छन् त्यसमा इम्यून सिस्टमको अवश्य नै भूमिका हुन्छ। यससँग इम्यून सिस्टमको भूमिका नहुने होइन।”
कोरोनाभाइरस महामारीलाई सामान्य रूपमा लिएका कारण पछि त्यो ओेलीकै लागि प्रत्युत्पादक हुन पुगेको पोखरेल बताउँनुहुुन्छ।
श्रेष्ठले पनि सरकारले महामारीका बेला ल्याइएको औषधिदेखि अन्य विभिन्न विषयमा भ्रष्टाचार आरोपका खेप्नुपरेको र उहाँको मन्त्रिपरिषद्का एक सदस्यले त पद नै छाड्नुपरेको स्मरण गराउनुभयो ।
तुलनात्मक रूपमा स्थिर सरकार भए पनि पार्टीको आन्तरिक विवादमा व्यस्त रहँदा नेपाल खोप प्राप्तिदेखि अनेक सहयोग जुटाउने विषयमा पछाडि परेको सामाजिक सञ्जालमा टिप्पणी हुँदै आएको छ।
दल व्यवस्थापनमा पनि समस्या
देशको प्रधानमन्त्रीका साथै नेकपाका अध्यक्ष समेत रहेका ओली चुकेको अर्को महत्त्वपूर्ण पाटो आफ्नो दलको आन्तरिक व्यवस्थापन रहेको विश्लेषकहरू बताउँछन्।
त्यसमा अन्य नेताहरूको समेत भूमिका रहे पनि शीर्ष तहमा ओली नै रहेकाले त्यसको जस अपजस दुवै उनैले लिनुपर्ने तर्क राजनीतिक विश्लेषकहरूले गर्दै आएका छन्।
दल र पार्टीबीचको सन्तुलन र समन्वय हुन नसक्दा नेकपा नै विभाजन हुने पुगेको बताइन्छ।

प्रचण्ड
माओवादीसँग एकता गरेको जस पाएका ओलीले पार्टी विभाजनको अपजस पनि लिनुपर्ने विश्लेषकहरूको भनाइ छ
“उहाँमा एउटा बिन्दुमा गएर के भयो भन्दा ‘त्यसलाई म हब्रीस भन्छु, आफूबाहेक अरूलाई केही नसोच्ने, आफू नै सबै कुरा हुँ भन्ने घमण्ड उहाँमा यसरी आयो कि उहाँले आफ्नो धरातल बिर्सिनुभयो”, पोखरेलले भन्नुभयो।
त्यसले वामपन्थीविरुद्ध वामपन्थी नै भिड्नुपर्ने अवस्था उत्पन्न हुन गयो।
पार्टीभित्रको एकता भाँडिनुमा ओलीको अहङ्कार नै प्रमुख कारक भएको श्रेष्ठ पनि बताउनुहुन्छ ।

नेपाल र ओली
एमालेमा माधव नेपाल र ओलीको समूहबीच लामो समयदेखि विवाद भइरहेको छ
पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रसँग एकताअघि गरेको सहमतिको पालना र आफ्नै सहकर्मीहरूलाई जिम्मेवारी र पदको समानुपातिक वा न्यायोचित वितरण गरेको भए एकता नभाँडिने पोखरेलको बुझाइ छ।
धेरैले ओलीलाई चतुर नेता भन्ने गरे पनि आफूलाई त्यस्तो नलाग्ने पोखरेलले बताउनुभयो। त्यसको कारक ओलीले पाएको अवसर पुँजीकृत गर्न नसक्नु मुख्य कारण देखिन्छ ।
संविधान संशोधनसम्बन्धी विषयमा एउटा बिन्दुमा दुईतिहाइभन्दा बढी बहुमत सरकारसँग रहे पनि त्यस बेला सम्बोधन नगरिएका विषय आफ्नो सत्ता गुम्ने अवस्था आएपछि मात्रै अध्यादेशमार्फत् सम्बोधन गरिएको पोखरेलले स्मरण गर्नुभयो।
त्यसको कारण पदलाई नै प्रधान मानेर काम गर्नुू रहेको विश्लेषकहरू बताउँछन्।
“परिस्थितिअनुसार झुकाव”
पोखरेलका अनुसार नेपालमा कुनै बेला ओलीलाई भारतसँग नजिक नेताका रूपमा हेरिन्थ्यो। तर २०७२ सालमा उहाँ प्रधानमन्त्री हुँदै गर्दा भने परिस्थिति फरक हुन पुग्यो।
ओलीले पदभार ग्रहण गर्दै गर्दा भारतले नेपालमा नाकाबन्दी लगाएको थियो।
त्यसअघि संविधान लेखन कार्यमा ‘भारतले गर्न खोजेको हस्तक्षेपको’ विपक्षमा उभिएपछि ओलीको राष्ट्रवादी छवि निर्माण भएको पोखरेल बताउनुहुन्छ।
त्यो छवि ओली प्रधानमन्त्री हुँदासम्म कुनै न कुनै हिसाबले कायम रह्यो।
भारतले नाकाबन्दी गरेको थियो। या त उहाँले आत्मसमर्पण गर्नुपर्थ्यो या त्यसविरुद्ध उभिनुपर्थ्यो। त्यस बेला ओली त्यसको विरुद्ध उभिनुभयो र त्यसको लाभांश उहाँले अघिल्लो निर्वाचनमा प्राप्त गर्नुभयो ।
उक्त परिस्थितिले ओलीको क्षमता भन्दा ठूलो छवि बनेको पोखरेल बताउनुहुन्छ।

केपी शर्मा ओली
तर स्थानीय तहको निर्वाचनपश्चात् पहिले गठबन्धन भङ्ग गरेका ओली पुनः माओवादीसँग चुनावी तालमेल गर्दै पार्टी एकीकरणको अवस्थासम्म पुग्नुभयो।
आफ्नो अघिल्लो कार्यकालमा चीनसँग नजिकिएको देखिनुभएका ओली भारतसँग आफ्नो कुरा मिल्दै गएपछि त्यतै तिर ढल्किएको देखिएको पोखरेल बताउनुहुन्छ।
श्याम श्रेष्ठ पनि ओलीको प्रधानमन्त्रीका रूपमा कार्यकाललाई नेकपा र एमालेका बेलामा छुट्ट्याएर हेर्नुपर्ने र त्यसमा उनले फरकफरक रूपमा व्यवहार गरेको देखिएको बताउनुहुन्छ।
ओलीले भारतमा नरेन्द्र मोदीले जस्तै गरी हिन्दू राष्ट्रवादतर्फ नेपालको राजनीति डोर्याउन खोजेको श्रेष्ठको बुझाइ छ।
“सत्ता स्वार्थले होला, पछि वहाँ भारतको लाइनमा जानुभयो। अयोध्यापुरीको राजनीति त्यसकै एउटा पाटो थियो”, श्रेष्ठले भन्नुभयो।
सकारात्मक पाटा के हुन् ?
प्रधानमन्त्रीका रूपमा ओलीले कालापानी र लिपुलेक क्षेत्रलाई नेपालको नक्सामा समेट्नु सबैभन्दा ठूलो र महत्त्वपूर्ण कदम रहेको कैयौँले बताउने गरेका छन्।
हाल नेपालको नक्सामा रहेका कालापानी र लिपुलेक क्षेत्र अहिले पनि भारतको नियन्त्रणमा छ। उसकै नियन्त्रणमा रहेको लिम्पियाधुरा यसअघि नेपालको नक्सामा पनि थिएन।
ओली नेतृत्वको सरकारले जारी गरेको राजनीतिक तथा प्रशासनिक नक्साअनुसार नेपालको क्षेत्रफल समेत विस्तार भएको छ।

ओली नेतृत्वको सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको थियो
श्रेष्ठ पनि यो ओलीको कार्यकालको मुख्य पाटोमध्ये एक रहेको मान्छन्। नेपालका प्रधानमन्त्रीहरूमध्ये ओली सबैभन्दा स्पष्ट वक्ता रहेको पोखरेल बताउनुहुन्छ।
त्यस्तै आफूले अपनाएको नीतिको पछि लागेर हिँड्ने उहाँको पाटो पनि सबल रहेको बताइन्छ।
अडान लिने उहाँको स्वभावको पनि प्रशंसा गरिन्छ। “अडान कति ठिक ठाउँमा पर्यो, कति बेठिकमा त्यो आफ्नो ठाउँमा छ”, श्रेष्ठले भन्नुभयो।
“सत्ता छाडेर जाँदा पनि उनमा कुनै पराजयभाव देखिएको छैन”, उहाँले भन्नुभयो।
ओली अडान लिने नेता भए पनि देश र पार्टीका लागि ूहानिकारकू हुने कुरामा अडिग भएको पनि श्रेष्ठको बुझाइ छ।
त्यसबाहेक पृथक्तावादी आन्दोलनमा लागेका सीके राउत र भूमिगत राजनीतिमा लागेको नेत्रविक्रम चन्द ‘विप्लव’ लाई शान्तिपूर्ण धारमा ल्याउनुलाई पनि कतिपयले उहाँको कार्यकालको उपलब्धिका रूपमा हेर्ने गरेका छन्।
तर पोखरेल भने त्यो ओली मात्रै नभएर दुवै पक्षको आवश्यकताका कारण भएको तर्क गर्नुहुन्छ।


















