काठमाडौं, ३० आषाढ । कोरोना सङ्क्रमणको दर फेरि बढ्न थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ ।
मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता प्रा डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
मङ्गलबार २ हजार ३ सय ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि थियो । यसैगरी सोमबार २ हजार ३ सय ७० मा र आइतबार १ हजार ८ सय३१ मा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
८ हजार १ सय ८ जनाको पिसीआर विधिबाट परीक्षण गर्दा २ हजार १० जनामा सङ्क्रमण पुष्टि भएको हो । ४ हजार ९ सय १६ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट निधन हुनेको सङ्ख्या ९ हजार ४ सय ३० पुगेको छ । यस अवधिमा १ हजार ६ सय ६ जना सङ्क्रमणमुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ६ सय ४७ जना रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये २४ हजार ९९ जना होम आइसोलेसनमा र २ हजार ५ सय ४८ जना संस्थागत आइसोलेसनमा रहेको जनाइएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४२५ जना सङ्क्रमित भेटिएका छन् । जसमध्ये काठमाडौँमा २ सय ९४, भक्तपुरमा ६७ र ललितपुरमा ६२ जना सङ्क्रमित भेटिएका हुन् । हालसम्म ३७ लाख ३० हजारले खोप लगाएका छन् । ११ लाखले दुवै चरणको खोप पूरा गरेको कार्यक्रममा जानकारी दिइएको छ ।
कोरोनाका कारण स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएमा ११३३ टोल फ्रि नं २४ सै घण्टा खुला रहने मन्त्रालय जनाएको छ । स्वास्थ्य सावधानी अपनाउँदै भौतिक दूरी कायम गर्न, सकेसम्म बाहिर ननिस्कन र निस्कनु परेमा अनिवार्यरुपमा मास्कसहित स्वास्थ्य सुरक्षाका विधि अपनाउन पनि मन्त्रालयले आह्वान गरेको छ ।


















