काठमाडौं, २ साउन । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै मितिमा हुने पार्टी सभापति शेरबहादुर देउवाले बताउनुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
शुक्रबारको बैठकमा केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानवीन समितिका संयोजक रमेश लेखकले ७५ जिल्लाको विवाद समाधान गरिसकिएको र बारा र सप्तरी बाँकी रहेको विवरण प्रस्तुत गर्नुभएको थियो।
नेपाली कांग्रेसले जिल्ला जिल्लाबाट प्राप्त सदस्यता विवरणमा विवाद देखिएो भन्दै त्यसलाई छानवीन गरी समाधान गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजत्वमा एका समिति गठन गरेको थियो । समितिका सदस्यहरूमा आनन्दप्रसाद ढुङ्गाना, श्यामकुमार घिमिरे, जीवन परियार, प्रदीप पौडेल, कल्याण गुरुङ र योगेन्द्र चौधरी रहनुभएको छ।
अहिले कांग्रेसका क्रियाशील सदस्य ९ लाख पुगेका छन्। तीमध्ये करिब ४८ हजार विदेशस्थित नेपाली जनसम्पर्क समितिको छ।
पार्टीले निर्वाचन निर्देशिकालाई अन्तिम रूप दिन सहमहामन्त्री प्रकाशशरण महत र केन्द्रीय सदस्य मिनेन्द्र रिजाललाई जिम्मेवारी दिइएको छ।
नेता रिजालले पूर्वनिर्धारित समयमै महाधिवेशन हुने बताउनुभएको छ ।
कांग्रेसले वडा अधिवेशन साउन १२ गते तोकेको छ भने केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म छ।
वडा अधिवेशन गर्नु पहिले नै क्रियाशील सदस्यको विवरण सभापति देउवाले निर्वाचन समितिलाई बुझाइसक्नुपर्ने हुन्छ।
आजको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिनेबारे र मन्त्रिमन्डल विस्तारबारे पनि कुनै छलफल नभएको बताइएको छ ।करिब ४ घन्टासम्म चलेको बैठक १४ औं महाधिवेशन केन्द्रित रहेको थियो।


















