Prakash Adhikari February 22, 2018

 

काठमाडौं, १० फागुन । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक यही फागुन १३ गते आइतबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी नगर सानेपा, ललितपुरमा बस्ने भएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा आज जारी गरिएको विज्ञप्तिमा सो सो कुरा जनाइएको हो ।

बैठकमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुलाई सहभागिताको लागि आमन्त्रण गरिएको छ ।

आइतबार बस्ने केन्द्रीय समितिको बैठकमा यस बर्ष भएका स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसले व्यहोर्नु परेको पराजयका सम्बन्धमा समीक्षा हुने अनुमान गरिएको छ ।

यस पूर्व बसेको केन्द्रीय कार्य समितिको बैठकले पार्टीका सबै तहलाई यस बर्ष सम्पन्न तीन वटै निर्वाचनको प्रतिवेदन तयार गरी माथिल्लो निकाय मार्फत केन्द्रीय समितिमा पठाउन अनुरोध गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय समितिको यो बैठकमा पार्टीको केन्द्रीय विभाग र समितिलाई पूर्णता दिने विषयले पनि स्थान पाउने निश्चित जस्तै छ ।

सबै प्रदेशमा प्रदेश सभाको अधिवेशन आरम्भ भैसकेको र सबै प्रदेशमा प्रमुख प्रतिपक्षको स्थानमा रहेको नेपाली कांग्रेसले प्रदेशसभामा उठान गर्नुपर्ने विषय, संसदीय दलको बेठक सञ्चालन, प्रदेश सभामा प्रस्तुतिका विषयमा आफ्ना सांसदहरुलाई प्रशिक्षित गर्न अत्यावश्यक भएको छ । त्यसका लागि केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका पदाधिकारी र सदस्यहरुको मनोनयन अत्यावश्यक भैसकेको पनि छ ।

मुलुकमा प्रदेश सरकार गठन भएर काम गर्न थालिसकेको छ तर नेपाली कांग्रेसले प्रदेश तहमा सांगठानिक संरचना समेत बनाउन सकेको छैन । यस बारेमा पनि बैठकमा कुरा उठ्ने छ ।

यस बाहेक नेपाली कांग्रेसबाट स्थानीय तहमा निर्वाचित भएका पदाधिकारीहरुलाई विकास निर्माण र सुशासनका सम्बन्धमा सहयोग र प्रशिक्षण दिन पनि आवश्यक देखिएको छ । यसका बारमा पनि केन्द्रीय समितिमा छलफल हुने अपेक्षा गरिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय सरकारको नेतृत्व सम्हाल्ने वित्तिकै नेपाली कांग्रेस सभापतिको नेतृत्वमा रहेको पूर्ववर्ति सरकारले गरेका निर्णय, शिफारीस र नियुक्तिहरु उल्ट्याउने घोषणा गरेको विषय पनि कांग्रेसको केन्द्रीय समितिको छलफलका विषय हुने भएको छ ।

नेपाली कांग्रेसको संगठन सशक्त र सुदृढ बनाउने माग उठीरहेको अवस्थामा भैरहेका भातृ तथा शुभेच्छुक संगठनको अधिवेशन गरी सक्षम र योग्य नेतृत्वबाट ससंठन निर्माण गर्ने र शुभेच्छुक एवम् भातृ संस्थाको रुपमा मान्यता दिन आवेदन गरेका विभिन्न पेशासंग सम्बन्धित संस्थाहरुलाई मान्यता दिने विषय पनि यो बैठकमा उठ्नेछ ।

लोकतान्त्रिक पर्यटन व्यवसायी संघलाई यस्तो मान्यता दिने बचन पार्टी सभापतिले सार्वजनिक रुपमै दिइ सकेको अवस्था छ ।

नेपाली कांग्रेसले १२ गते शनिवार संघीय संसदमा निर्वाचित सांसदहरुको बैठक बोलाएको छ । बैठक नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ ।

फागुन १०, २०७४
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७४ फागुन १३ गते आइतबार विहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, बी।पी। नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यज्यूहरुलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव

Share Now

Leave a comment.