Prakash Adhikari July 21, 2021

 

काठमाडौं, ६ साउन । नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष उत्तम नेपालीको आज बिहान निधन भएको छ ।

काठमाडौँ किलागल टोलमा विसं १९९४ वैशाख १८ गते जन्मनुभएका ललितकलाकर्मी नेपालीको मुटुसम्बन्धी समस्याको उपचारका क्रममा मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टरमा निधन भएको हो ।

किलागलमा पिता विष्णुप्रसाद कर्माचार्य र माता रत्नदेवीका कोखबाट जन्मनुभएका नेपालीसँग निजामती सेवाको पनि लामो अनुभव थियो ।

तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य नेपालीले चौध पटकभन्दा बढी एकल चित्रकला प्रदर्शनी गर्नुभएको थियो ।

साहित्यकार नेपालीका लेख, रचना र कविता पहिलोपटक विसं २०२१ मा मधुपर्कमा प्रकाशित भएको थियो । उहाँको ‘बिना शीर्षक’ कविता सङ्ग्रह २०६१ सालमा प्रकाशन भएको छ । कवि र साहित्यकारको मुहारचित्र बनाई प्रदर्शन गर्नुभएका उहाँ राष्ट्रिय प्रतिभा पुरस्कार २०५४ र सुप्रबल जनसेवा श्री तृतीय पदकबाट सम्मानित हुनुभएको थियो । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

सिद्धहस्त चित्रकार

चित्रले धेरै कुरा भनिरहे झैँ वा बोलिरहे झैँ लाग्ने गरी क्यान्भास रङ्ग््याउन सिद्धहस्त नेपाली आधुनिक चित्रकलाका मुर्धन्य व्यक्तिको नाम हो उत्तम नेपाली ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान गठनका बेला प्राज्ञसभा सदस्य छनोट सिफारिस समितिको सदस्यसमेत हुनुभएका नेपाली जीवनको उत्तराद्र्धमा लाग्दा रोगले थलिनुभयो । सकुञ्जेल जीवनलाई क्यान्भासबाट टाढा जान दिनुभएन ।
क्यान्भासलाई त्यही युवा जोशमा रङ्गाउन नसके पनि अन्य कलाकारका लागि प्रेरणाको स्रोत नेपाली रङ्गिएका क्यान्भास ललितकला क्षेत्रलाई छाडेर आज सदाका लागि बिदा हुनुभएको छ ।

कला, साहित्य र चलचित्रमासमेत राम्रो दख्खल राख्नुभएका उहाँको मुख्य पेशा भने आधुनिक चित्रकला नै थियो । शुरुशुरुमा मानिसले बहुलठ्ठीपन भनेर हेला गर्ने अमूर्तकलालाई स्थापित गर्नमा उहाँको महत्वपूर्ण योगदान छ । नेपाली ललितकला क्षेत्रको विकासमा अमूल्य योगदान पु¥याउनुभएका नेपालीको ८४ वर्षको उमेरमा आज बिहान ४ ः ३० बजे काठमाडौँस्थित शिक्षण अस्पतालमा निधन भएको परिवारले जनाएका छन् । श्वासप्रश्वास समस्याका कारण निधन भएको ज्वाइँ सुनिल रञ्जीतले जानकारी दिनुभयो । उहाँमा मुटुलगायत अन्य रोगसमेत थियो ।

काठमाडौँ महानगरपालिका–३ बाँसबारी घर भएका नेपालीका श्रीमती मन्दिरासहित दुई छोरा उद्यमप्रसाद र सुुद्यमप्रसाद तथा दुई छोरी ममता र प्रकृति छन् । अमेरिकामा रहँदा पाँच वर्षअघि उहाँमा हृदयाघात भएको थियो । अमेरिकामा उत्कृष्ट उपचार सेवा प्राप्त हुँदा बाँच्न सफल भएको सुनिलले सुनाउनुभयो । त्यसपछि शरीर विस्तारै कमजोर हुँदै गएको थियो ।

बीचमा नेपाल आएर केही समय बसेपछि उहाँ पुनः अमेरिका फर्कनुभएको थियो । अमेरिकामा रहँदा श्वासप्रश्वासमा समस्या देखिएपछि बिना अक्सिजन बस्न नसक्ने हुनुभयो । आफ्नै भूमिमा मृत्युवरण गर्ने उहाँकै इच्छाअनुसार तीन महिनाअघि उपकरणको सहायतामा नेपाल ल्याइएको थियो ।

गएको २० दिनअघि स्वास्थ्य समस्या थप बढेपछि चिरायु अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्र हुँदै उहाँको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको थियो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले ललितकलाको विकासमा उहाँले दिएको योगदान महत्वपूर्ण रहेको र उहाँको निधनले कला क्षेत्रमा ठूलो क्षति पुगेको बताउनुभयो ।

चलचित्र र साहित्यमासमेत योगदान

कलासँगै, चलचित्र र साहित्यमासमेत उहाँको योगदान छ । उहाँले गीत र भजनसमेत लेख्नुभएको छ । साहित्यकार ध्रुवचन्द्र गौतम र शङ्कर लामिछानेसँग धेरै नजिक भएर काम गर्नुभएका नेपालीले नेपालको पहिलो चलचित्र ‘आमा’ र अर्को चलचित्र ‘हिजो आज भोलि’ मा अभिनय गर्नुभएको थियो ।

हिजो आज भोलिमा प्रमुख खलनायक भएर खेल्नुभएको ज्वाइँ सुनिलले सुनाउनुभयो । उहाँको मुख्य पेशा भनेको चित्रकला नै हो । मुलुकमा नेपाली आधुनिक कला भित्र्याउनमा उहाँको ठूलो भूमिका रहेको चित्रकार स्मरण गर्छन् ।

उहाँको पहिलो चित्रकला प्रदर्शनीको उद्घाटन तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले गर्नुभएको थियो । कलाकार तथा कला समीक्षक मुकेश मल्लले उहाँको कला जीवनीको बारेमा पुस्तक नै लेख्नुभएको छ । उहाँ जिउँदै हुँदा उक्त पुस्तक विमोचन गर्ने प्रतिष्ठानको योजना अधूरै भए पनि पछि विमोचन गर्ने कुलपति कर्माचार्यले बताउनुभयो ।

उहाँ प्रतिष्ठानका आजीवन सदस्य हुनुहुन्थ्यो । कला लेखक उहाँलाई क्यान्भासका बादशाह तथा आधुनिक कलाका शिखर पुरुष भनेरसमेत स्मरण गर्छन् । उहाँलगायत कलाकारका समूहले दिग्गज कविका रचनाको आधारमा चित्रकलासमेत गरेको थियो । कलामा कविता उतार्ने छुट्टै पहिचानसमेत उहाँमा थियो ।

विसं २०६१ मा ‘उत्तम नेपालीका कविता’ पुस्तकसमेत प्रकाशित छ । कविताको भाव, श्रष्टा, लेखकलाई समेत चित्रमा उतारेर उहाँले नयाँनयाँ प्रयोग गर्नुभएको छ । आधुनिक अमूर्त चित्रकलालाई नेपालमा विस्तार गर्नमा उहाँको योगदान ठूलो छ । बुबा व्यापारको सिलसिलामा भारतको लखनउ बस्ने भएकाले लखनउबाट परम्परागत ‘वाश पेन्टिङ’ सिक्नुभएको थियो ।

उहाँले बनाउनुभएको शिवको ताण्डव नृत्यको चित्र महत्वपूर्ण मानिन्छ ।

भारतबाट २०१८÷१९ सालतिर नेपाल आएपछि धार्मिक चित्र बनाउनुभएको नेपाली त्यसपछि अमूर्तकलामा लाग्नुभएको कला समीक्षक रमेशनाथ खनालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उहाँले कविता र कलाको जीवन्त प्रयोग गर्नुभएको छ, नेपालको साहित्य र कलासम्बन्धी प्रतिष्ठित व्यक्तिका मुहार चित्र बनाउनुभएको र त्यसमा उहाँको आफ्नै शैली थियो ।” उहाँका २५ एकल चित्रकला प्रदर्शनी भएको छ ।

प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले संस्मरणात्मक निबन्ध र कविता लेख्नुभएका नेपालीले विदेशमासमेत कला प्रदर्शनी गर्नुभएको छ । दरबार तथा संयुक्त राष्ट्रसङ्घलगायत ठाउँमा पनि उहाँको कला सङ्ग्रृहीत छ । उहाँले टेली डकुमेन्ट्री बनाएर प्रदर्शनसमेत गरेको पाइएको उपाध्यायले बताउनुभयो । उहाँको आज अपरान्ह १ बजेपछि पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

Share Now

Leave a comment.