Prakash Adhikari July 22, 2021

विष्णु पोखरेल । बीबीसी न्यूज नेपाली

काठमाडौं, ७ साउन । तीन दशकअघि इन्डियन पिस-किपिङ फोर्स (आईपीकेएफ) अन्तर्गत श्रीलङ्कामा खटिएका भारतीय सेनामा कार्यरत नेपालीहरू

“..रेम्बो, रेम्बो… एलएमजी टु… ”  तीन दशक बितिसक्यो तर आँखा लोलाएका बेला अहिले पनि देवभक्त राई (५६) का कानमा यी शब्दहरू गुञ्जिरहन्छन्।

चाहेर पनि उहाँ आफ्ना कानमा अन्तिम पटक ती शब्द गुञ्जिएको २३ मे १९८९ को दिनलाई बिर्सन सकिरहनुभएको छैन।

‘आफैँमा घटेको घटना त जीवनभरि याद रहने रहेछ’, उहाँ भन्नुहुन्छ ।

घटना लडाइँको मैदानको हो। तर उहाँ आफ्नै देशमा वा आफ्नै देशका खातिर लड्नुभएको थिएन।

न त उहाँ जुन देशको सेनामा भर्ती हुनुभएकोे थियो, त्यसको सीमा रक्षाका लागि नै लडाइँमा होमिनुभएको थियो।

३२ वर्षअघिको घटना सम्झिँदा अहिले पनि उहाँलाई ‘त्यो अनाहकको लडाइ’ थियो जस्तो लाग्छ।

“त्यहाँ गएर न हामीले कुनै उपलब्धि पायौँ न हामीलाई पठाउने देश (भारत)ले नै केही पायो। सबैलाई नोक्सान मात्र भयो”, भूतपूर्व भारतीय गोर्खा सैनिक राईले बीबीसीसँग भन्नुभयो।

पूर्वी नेपालको सुनसरीमा बसोबास गर्ने राईले ३२ वर्षपछि स्मरण गरेको उक्त घटना श्रीलङ्काको हो।

त्यसबेला उहाँ इन्डियन पिस(किपिङ फोर्स (आईपीकेएफ) अन्तर्गत श्रीलङ्कामा तमिल विद्रोही विरुद्धको लडाइँमा खटिनुभएको थियो।

श्रीलङ्कामा प्रेमबहादुर थापा

श्रीलङ्कामा भारतीय सेना
श्रीलङ्कामा गृहयुद्ध जारी रहेका बेला भारतले त्यहाँ शान्ति स्थापनाका लागि भन्दै सेना पठाएको थियो।

भारत सरकारका दाबीमा उसको प्रमुख उद्देश्य थियो( तमिल विद्रोहीहरूलाई हतियार बिसाउन मनाउनु।

तर शान्तिका नाममा श्रीलङ्का पुगेको केही हप्तापछिदेखि नै विद्रोही लिबरेसन टाइगर्स अफ तमिल इलम (एलटीटीई)सँग भारतीय सेनाको लडाइँ सुरु भयो।

उक्त लडाइँमा भारतीय सेनाका करिब १२ सय सैनिकहरू मारिएको विवरण छ।

त्यसमध्ये कैयौँ भारतीय सेनाको गोर्खा राइफल्समा कार्यरत नेपाली नागरिकहरू पनि थिए।

उक्त अभियानलाई भारतीय सैन्य क्षेत्रका कतिपय विज्ञहरूले हालसम्मकै असफल अभियान भनेर चर्चा गर्छन्।

श्रीलङ्कामा सेना पठाएकै कारण पछि तमिल विद्रोहीको योजनामा भारतीय प्रधानमन्त्री राजीव गान्धीको हत्या समेत भएको बताइन्छ।

गान्धीको निर्णय अनुसार सन् १९८७ को जुलाई महिनामा भारतीय सेना श्रीलङ्का पुगेको थियो।

सन् १९९० सम्म उक्त सेना त्यहाँ रह्यो र कैयौँ भारतीय सैन्य मामिला विज्ञहरूका भनाइमा ‘एउटा असफल अभियानका रूपमा’ भारत फर्कियो।

श्रीलङ्काको गृहयुद्धमा गोर्खा सैनिकको प्रयोग

विश्वका अन्य कैयौँ लडाइँमा जस्तै श्रीलङ्काको गृहयुद्धमा पनि भारतीय सेनामा कार्यरत कैयौँ नेपालीहरू सहभागी हुन पुगेका थिए।

त्यस्तैमध्येका एक राई सन् १९८८ डिसेम्बरमा श्रीलङ्काको ट्रिङ्कुमाली पुग्नुभएको थियो।

१/११ गोर्खा राइफल्समा कार्यरत राई भारतको राजस्थानबाट मद्रास (चेन्नई)सम्म जहाज र त्यहाँबाट पानी जहाजमा श्रीलङ्का पुग्दा निकै उत्साहित थिए।

“शान्ति सेनामा विदेश जान पाइने भयोभन्दा निकै रमाइलो लागेको थियो”, उहाँले स्मरण गर्दै भन्नुभयो।

देवभक्त राई एलटीटीईसँग लड्न सन् १९८८ डिसेम्बरमा श्रीलङ्का पुगेका थिए।

देवभक्त राई एलटीटीईसँग लड्न सन् १९८८ डिसेम्बरमा श्रीलङ्का पुग्नुभएको थियो

तर १९८९ मे २३ को घटनाले उहाँलाई जीवनभरिका लागि गहिरो चोट दियो।

त्यस दिन राईको टोली रोड ओपनिङ पार्टी (आरओपी) अर्थात् बाटो सुरक्षित बनाउने समूहका रूपमा खटिएको थियो।

“जङ्गलमा बाटो खाली गराउँदै गएर हामीले दिउसो साढे तीन बजेतिर ‘लञ्च’ गर्‍यौँ। ‘काउन्टर एट्याक’ हुनसक्छ भनेर हामी ‘पोजिसन चेन्ज’ गरिरहेका थियौँ “, राईले भन्नुभयो।

“मैले रेडियो सेट बोकेको थिएँ। हामी अर्को लोकेसनमा जाने क्रममा थियौँ। एक्कासी म माइनमा परेँ। ठूलो विस्फोटन भयो।”

त्यसपछि उनले कानमा टुईईईऽऽऽ गरेको मात्र सुने। आँखा धमिलो भयो।

“मेरो दाहिने गोडा धुजाधुजा बनाएको रहेछ। एकजना दार्जिलिङको साथी हुनुहुन्थ्यो- कमल राई। उहाँको उपनाम रेम्बो थियो। उहाँ एलएमजी वान अनि म एलएमजी टु, मैले ‘..रेम्बो,रेम्बो.. एलएमजी टु..’ भनेको सुनेँ “, राईले उक्त घटना सम्झँदै भन्नुभयो।

उहाँले बोकेको रेडियो सेट पनि ध्वस्त भयो। घाइते गोडाबाट रगत थाम्न गरिएका हर उपाय असफल भए।

सञ्चार उपकरण नै ध्वस्त भएपछि नजिकैको अर्को सैन्य टोलीलाई उनीहरूले घटनाबारे जानकारी दिन सक्नुभएन।

‘मलाई मेरो अन्तिम यात्रा यो ठाउँमै रहेछ जस्तो लाग्यो, त्यसबेला पूरै परिवारको अनुहार सम्झेँ’, राई भन्नुहुन्छ।

“तर मेरो भाग्य बलियो रहेछ। कसोकसो गरी हाम्रो कमान्डरले कभर लिँदै रोडमा निस्कनु भएछ र एउटा चिर्कटोमा लेखेर बाइकमा आउँदै गरेको एउटा मान्छेलाई ‘नजिकै पाँच किलोमिटर पर आईपीकेएफको टोली छ त्यहाँ दिनू ‘भन्नुभएछ।”

उक्त चिर्कटो गोर्खा फौजकै अर्को टोलीसम्म पुगेपछि उद्धार फौजले राईलाई बचायो।

देवभक्त राई अहिले पनि कृत्रिम गोडाको सहाराले हिड्छन्

देवभक्त राई अहिले पनि कृत्रिम गोडाको सहाराले हिड्नुहुन्छ

तर उहाँको धेरै रगत बगेको र गोडा पूरै बिग्रिन पुगेकाले दाहिने गोडा भने काट्नुपर्‍यो।

त्यसपछि पनि उहाँले भारतीय सेनामै विभिन्न स्थानमा अफिसमै बसेर गर्ने काम गर्नुभयो।

भारतीय सेनामा कुल २८ वर्ष बिताउनुभएका राईले सुबेदार भएर सन् २०१३ मा अवकास पाउनुभयो।

अहिले पनि कृत्रिम गोडाको सहाराले हिँड्ने राई भन्नुहुन्छ, “हामी बाँच्ने त बाँच्यौँ तर त्यो लडाइँमा कति मरे मरे। म अस्पतालमा हुँदा त्यहाँ घाइते राख्ने ठाउँ थिएन।”

गोडा गुमाएको तीन दशकपछि पनि उहाँ सपनामा सद्दे गोडाले दौडिएको देख्नुहुन्छ।

“सपनामा त दौडिरहेको देख्छु तर विपनामा दौडिन सक्दिनँ। सपनामा गोडा छ तर विपनामा छैन”, उहाँ भन्नुहुन्छ।

तमिललाई तालिम दिनेमा गोर्खा पनि

एलटीटीईसँग आमनेसामने लड्ने मात्र होइन कैयौँ तमिल विद्रोही समूहलाई तालिम दिने कार्यमा पनि भारतीय सेनामा कार्यरत नेपालीहरू खटिएका थिए।

त्यस्तैमध्येका एक हुनुहुन्छ, भूतपूर्व भारतीय सैनिक ओमबहादुर थापा।

नवलपरासी निवासी क्याप्टेनबाट अवकासप्राप्त थापा भन्नुहुन्छ, “म पहिलो गोर्खा बटालियनमा थिएँ। सन् १९८९ जूनरजुलाई तिर हामीलाई श्रीलङ्का पठाइयो। त्यहाँ हामीले एलटीटीईविरुद्ध लड्ने तमिलहरूकै अरू ग्रुपलाई तालिम दियौँ।”

उनका भनाइमा ती समूहलाई विशेषगरि साना र व्यक्तिगत हतियार चलाउने तालिम दिइएको थियो।

भारतीय सेनाका भूतपूर्व सुबेदार गम्भीरजङ्ग राई श्रीलङ्का पुगेर एलटीटीईविरुद्ध लड्ने तमिल विद्रोहीहरूलाई आफूले तालिम दिएको बताउँनुहुन्छ।

भारतीय सेनाका भूतपूर्व सुबेदार गम्भीरजङ्ग राई श्रीलङ्का पुगेर एलटीटीईविरुद्ध लड्ने तमिल विद्रोहीहरूलाई आफूले तालिम दिएको बताउँछन्।
श्रीलङ्काको गृहयुद्ध र तमिल विद्रोहबारे लेखिएका पुस्तकहरूमा पनि भारतीय सेनाले तमिल विद्रोहीहरूलाई तालिम र हतियार दिएको उल्लेख गरेको पाइन्छ।

भारतीय सेनाका भूतपूर्व सुबेदार गम्भीरजङ्ग राई पनि सन् १९८९ नोभेम्बरमा श्रीलङ्काको ट्रिङ्कुमाली पुगेर १८० दिन भन्दा बढी समयसम्म एलटीटीईविरुद्ध लड्ने तमिल विद्रोहीहरूलाई आफूले तालिम दिएको स्मरण गर्नुहुन्छ।

“त्यसबेला हामीले उनीहरूलाई साना र मझौलाखाले हतियार चलाउन सिकाएका थियौँ। समुद्रको किनारामा बालुवा नै बालुवा भएको ठाउँमा तालिम दिएको अहिले पनि याद छ” उहाँले भन्नुभयो।

एलटीटीईले भारतीय फौजमाथि हमला गर्न थालेपछि त्यसलाई निस्तेज पार्ने विभिन्न उपायका क्रममा भारतीय सेनाले अन्य तमिल समूहहरूलाई हतियारलगायत सहयोग उपलब्ध गराएको विभिन्न पुस्तकहरूलमा लेखिएको पाइन्छ।

‘अनि, मैले वीर चक्र पाएँ ‘

श्रीलङ्कामा खटिएका गोर्खा फौजले भारत सामेल अन्य लडाइँमा भन्दा बढी अनुपातमा मानवीय क्षति बेहोरेको कतिपयले लेखेका छन्।

उक्त लडाइँमा खटिएका नेपाली नागरिक भूतपूर्व भारतीय सैनिकहरूले पनि ‘आफ्नो जीवनकै सबैभन्दा खतरनाक’ लडाइँका रूपमा त्यसलाई सम्झिएका छन्।

त्यसबेला श्रीलङ्काको जाफ्ना र अन्य क्षेत्रमा एलटीटीईसँग लडाइँ लडेका कैयौँ नेपाली नागरिकमध्ये एक हुनुहुन्छ, गुल्मीका ७५ वर्षीय प्रेमबहादुर थापा।

भारतीय सेनाका अवकासप्राप्त अनररी क्याप्टेन थापा आईपीकेएफ र एलटीटीईबीचको पहिलो चरणको लडाइँमै सामेल भएका थिए।

प्रेमबहादुर थापा

प्रेमबहादुर थापा

गुल्मीका ७५ वर्षीय प्रेमबहादुर थापा एलटीटीईसँगको लडाइँमा सामेल हुनुहुन्थ्यो र उहाँले वीरचक्र समेत पाउनुभएको थियो।

४र५ गोर्खा राइफल्समा कार्यरत उनी सन् १९८७ को जुलाईमा जाफ्ना उत्रेका थिए।

“त्यसबेला शान्ति सेनामा जाने हो खासै खतरा नहोला भन्ने लागेको थियो”, बीबीसीसँग उहाँले टेलिफोनमा भन्नुभयो।

श्रीलङ्का पुगेको केही महिनापछि नै उहाँ संलग्न सैन्य टोलीसँग एलटीटीईको लडाइँ हुन थाल्यो।

१९८७ को अक्टोबरमा आईपीकेएफमाथिको घातक हमलामध्येको एउटा हमलामा उहाँको प्लाटुन पनि पर्‍यो।

उरुमपराई भन्ने स्थानमा एलटीटीईको घेराबन्दीमा परेको प्यारा कमाण्डोलाई छुटाउँदा जाँदा सो टोली उक्त हमलामा परेको थियो।

“हामी रातभरि हिडेर उरुमपराई पुगेका थियौँ। हामी सडकबाट गएका थियौँ। राति नै हेलिकप्टरबाट झारिएका प्यारा कमाण्डोहरू घेराबन्दीमा परेका थिए”, उहाँले भन्नुभयो।

प्रेमबहादुर थापाले पाएको वीरचक्र

प्रेमबहादुर थापाले पाएको वीरचक्र

‘हामी ३६ जनाको समूहमा थियौँ। तर आक्रमणमा परेर हाम्रो कम्पनी कमाण्डर र सेक्सन कमाण्डर नै शहीद हुनुभयो।’

त्यसबेला ‘अगाडि पनि बढ्न नसक्ने, पछाडि पनि सर्न नसक्ने’ स्थिति भएको उहाँ सम्झनुहुन्छ।

‘कमान्डरहरू मारिएपछि त्यहाँ कमाण्ड गर्ने मान्छे नै भएन। म सुबेदार भएकाले मैले कमाण्ड सम्हाले र हाम्रा कमाण्डरहरूको बडीलाई पनि निकाल्न सफल भए’, थापा भन्नुहुन्छ ।

सिख एलआई रेजिमेन्ट हिस्ट्रीलाई उदृत गर्दै गौतम दाश र एमके गुप्तारेले लेखेको पुस्तक ‘श्रीलङ्का मिसएड्भेन्चर’ मा पनि त्यसबेलका सुबेदार थापाले ‘आफ्नो ज्यानलाई नै खतरामा पारेर कमाण्डरहरूको शव निकालेको’ उल्लेख छ।

उक्त घटनामा ३६ जनाको टोलीमा आधा जतिको आफ्नै आँखा अगाडि निधन भएको देखेको थापा स्मरण गर्नुहुन्छ।

१६ महिना श्रीलङ्काको युद्धमा सामेल भएका थापालाई उक्त घटनामा देखाएको साहसका लागि भन्दै वीरचक्र प्रदान गरियो।

श्रीलङ्कामा प्रेमबहादुर थापा

श्रीलङ्कामा प्रेमबहादुर थापा

वीरचक्र भारतीय सैनिकहरूलाई दिइने तेस्रो ठूलो सैन्य विभूषण हो।

थापाले सन् १९८८ को ज्यानुअरी २६ का दिन राष्ट्रपति रामश्वामी वेङ्कटरमणबाट वीरचक्र विभूषण प्राप्त गर्नुभएको थियो।

“वीरचक्र घोषणा हुँदा म मध्यप्रदेशमा आएको थिएँ। त्यहाँ हाम्रो रेजिमेन्टका नेपालीका परिवार थिए। श्रीलङ्काबाट मलाई नेपालीका परिवारलाई रकम बाड्न (तलब पठाइदिन) पठाइएको थियो। अल इन्डिया रेडियोमा नाम बजेपछि मलाई खुसी लाग्यो”, उहाँले भन्नुभयो।

तीन दशकपछि त्यो लडाइँ सम्झिँदा..

थापालाई तीन दशकपछि उक्त लडाइँ सम्झिँदा त्यस्ता लडाइँ ठिक होइनन् जस्तो लाग्छ।

उहाँ भन्नुहुन्छ, “लडाइँ हुनु ठिक होइन। लडाइँ हुनु भनेको मान्छे मर्नु हो। मान्छे मर्नु भनेको कसै न कसैलाई पीडा हुनु हो। देशलाई पनि ठूलो नोक्सान हुनु हो। आर्थिक रूपमै पनि घाटा हुन्छ।”

तर आफू रोजगारीको बाध्यताले र परम्परागत रूपमा नेपालमा चलेको चलन अनुसार भारतीय सेनामा भर्ती भएको थापाको भनाइ छ।

यद्यपि उहाँले आफ्ना छोराहरूलाई सेनामा भर्ना हुन उत्प्रेरित गर्नुभएन।

“मैले छोराहरूलाई पठाइनँ। हामीले त दुस्ख पाइयो। छोराहरू त अरुथोक गरेर पनि खानसक्छन् भन्ने लागेर मैले नपठाएको हो”, उहाँले भन्नुभयो।

 

Share Now

Leave a comment.