काठमाडौं, ११ साउन । निषेधाज्ञा खुकुलो पारेर मध्यम तथा लामोदूरीका सार्वजनिक सवारी साधनहरु सञ्चालन भएपछि नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको दैनिक बुलेटिनमा जनाइए अनुसार विगत २४ घण्टामा नेपालमा थप ३ हजार ४ सय २१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २५ जनाको कोभिड१९ का कारणले मृत्यु भएको छ।
सोमवार अपरान्ह सार्वजनिक तथ्याङ्कअनुसार १७ हजार २ सय ७२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ५ हजार ३२ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।
मृतकको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवको सङ्ख्या समाविष्ट भएको मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ७ लाख ३८ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९ हजार ७ सय ३८ पुगेको छ।
अहिले कुल परीक्षणको झन्डै २० प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।
मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १ हजार ६ सय ८६ जना सङ्क्रमणमुक्त भएका छन्।
नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले कुल २७ हजार ९ सय जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ।
तीमध्ये २५ हजार ९३ जना घरमा तथा २ हजार ८ सय १५ जना संस्थागत आइसोलेशनमा छन्।
सङ्क्रमितमध्ये अहिले ६ सय ६९ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १ सय ६६ जना भेन्टिलेटरमा छन्।
अहिले पुष्टि भएका सङ्क्रमितमध्ये ६सय ७७ जना काठमाडौंमा, ३ सय १४ जना झापामा, १ सय ९७ जना ललितपुर फेला परेका हुन्।
सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाडौं उपत्यकाका धेरै हुने क्रम अहिले पनि जारी छ।
कतिले लगाए खोप ?
स्वास्थ्य मन्त्रालयको विवरणअनुसार नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या सोमवारसम्म १४ लाख २३ हजार नाघेको थियो।
अहिलेसम्म नेपालमा कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र नेपाल आएका छन्।

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने कोभिशील्डको र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।
कोभिशील्डको पहिलो मात्रा लगाएका झन्डै १३ लाख ६७ हजार जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन्।
भारतको अवस्था
भारतमा २४ घण्टाको अवधिमा झन्डै ३९ हजार ३ सय ६१ नयाँ सङ्क्रमित थपिएका छन् भने ४ सय १६ जनाले कोभिडसँग सम्बन्धित कारणले ज्यान गुमाएको बिहान प्रकाशित तथ्याङ्कमा उल्लिखित छ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै त्यहाँ अहिलेसम्म ३ करोड १३ लाख जनाभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ।
अहिलेसम्म ४ लाख २० हजारभन्दा धेरैले कोभिडका कारण ज्यान गुमाएका छन्।
यतिखेर भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४ लाख ११ हजारभन्दा धेरै छ।
भारतमा हालसम्म ४३ करोड ५१ लाख जनाभन्दा धेरैले कोभिड खोप लगाएका छन्।
सोमवार बिहानसम्म २४ घण्टाको अवधिमा त्यहाँ १८ लाखभन्दा धेरैले कोभिड खोप लगाएका थिए।(बीबीसीबाट)


















