काठमाडौं, १३ साउन । भाषा परीक्षा पास गरी कोरिया जान नपाएका नेपालीहरुलाई कोरिया लैजान आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता नेपालका लागि कोरियाका राजदूतले व्यक्त गर्नुभएको छ ।
नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क चोङ सुकले बुधबार अर्थमन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेटका क्रममा सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
भेटमा अर्थमन्त्री जनार्दन शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरुलाई कोरिया जाने वातावरण बनाइदिन आग्रह गर्नुभएको थियो ।
मन्त्री शर्माले कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट गर्नुपर्ने सबै काम गर्न सरकार तत्पर रहेको प्रतिबद्धता जनाउँदै कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन समेत आग्रह गर्नुभएको थियो।
‘इपीएस अन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौं युवाहरु बेरोजगार बसेका छन् । यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु’, मन्त्री शर्माले भन्नुभयो ।
जवाफमा राजदूत सुकले रोकिएको इपीएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिंदै नेपालीहरुको मेहनती बानी र इमान्दारिताबाट कोरियाली रोजगारदाताहरु खुशी रहेको बताउनुभएको थियो । भेटमा राजदूत सुकले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकहरुलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिनुभएको थियो।
भेटको क्रममा अर्थमन्त्री शर्माले कोभिड १९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसको लागि कोरियाको तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गर्नुभयो।
उहाँले नेपालको स्वास्थ्य, शिक्षा र प्रविधिको क्षेत्रमा कोरियाले गरिरहेको सहयोगप्रति आभार समेत प्रकट गरे। कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत लगायतका क्षेत्रमा लगानी समेत गर्दै आइरहेको छ ।
कोरियाको लगानीमा भक्तपुरको ठिमी, नुवाकोट, धनगढी र मुगुमा सुविधासम्पन्न अस्पताल निर्माण भएको छ भने महोत्तरीको बर्दिवासमा मोडेल पोलिटेक्निक कलेजको स्थापना गर्दैछ।
राजदूत सुकले कोरियाली लगानी रहेको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको काममा भइरहेको ढिलाइ बारे चासो राखेका राख्नुभएको थियो। उहाँले आयोजनामा ढिलाई हुँदा लागत बढ्न जानेतर्फ चिन्ता व्यक्त गर्नुभएको थियो।
मन्त्री शर्माले उक्त आयोजना सरकारको पनि प्राथमिकताको क्षेत्र भएकाले काममा गति दिनेतर्फ पहल गर्ने जानकारी दिनुभएको थियो ।


















