Prakash Adhikari July 28, 2021

काठमाडौं, १३ साउन । भीडभाड हुने ब्यबसायबाहेकका अधिकांश व्यवसायहरु खुला गर्दा पनि नेपालमा कोरोना भाइरसको संक्रमण र मृत्य पुनः उकालो लाग्न थालेको देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगत २४ घण्टाको अवधिमा थप ३ हजार ८ सय ४० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३३ जनाको कोभिड १९ का कारणले मृत्यु भएको जनाएको छ।

बुधवार अपरान्ह सार्वजनिक  गरिएको बिवरण अनुसार  १५ हजार ८ सय ८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ४ हजार ९ सय २२ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १ हजार ९ सय ९३ जना सङ्क्रमणमुक्त भएका छन्।

मृतकको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवको सङ्ख्या समाविष्ट भएको मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ७ लाख ४६ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९ हजार ७ सय ९१ पुगेको छ।

सङ्क्रमण पुष्टि हुने दर वृद्धि

अहिले कुल परीक्षणको झन्डै २४.३ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले दैनिक सङ्क्रमण पुष्टि हुने दर बढेका तथा जोखिम अझै कम नभइसकेको भन्दै सबैलाई सावधान हुन आग्रह गर्नुभएको छ।

विज्ञहरूले पनि यसलाई उच्च दर मानेका छन्।

कहाँ छन् सङ्क्रमित ?

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले २९ हजार ४ सय जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ। यो विगतका सातामा भन्दा बढी भएको मन्त्रालयले जनाएको छ।

तीमध्ये झन्डै २ हजार ८ सय जना संस्थागत आइसोलेशनमा र अन्य घरमै छन्।

संस्थागत आइशोलेशनमा सङ्क्रमितमध्ये अहिले ६ सय ११ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १ सय ६८ जना भेन्टिलेटरमा छन्।

अहिले पुष्टि भएका सङ्क्रमितमध्ये ५ सय ५९ जना काठमाडौं, २ सय ६ जना ललितपुर र ९४ जना भक्तपुरमा फेला परेका हुन्।

कोभिड परीक्षण

कोभिड परीक्षण

 

डा. अधिकारीका अनुसार गण्डकी प्रदेशमा जाँचिएका नमुनामा सङ्क्रमण पुष्टि हुने दर ६२ प्रतिशतभन्दा बढी छ।

अहिले कास्कीमा ३ सय १६ जनामा कोभिड पुष्टि भएको हो। त्यसैगरी झापामा १ सय ९४, मोरङमा १ सय ८९, सुनसरीमा १ सय ७६ र चितवनमा १ सय ८५ जना सङ्क्रमित फेला परेका छन्।

मन्त्रालयको तथ्याङ्कअनुसार काठमाडौंमा ५ हजार ८ सय १५ जना, ललितपुरमा १ हजार ३ सय १ जना र भक्तपुरमा १ हजार १६ जना गरी उपत्यकामा कुल ८ हजार १ सय ३२ जनामा सक्रिय सङ्क्रमण छ।

कतिले लगाए खोप ?

खोप

खोप

नेपालमा ३५ लाख ४४ हजार जनाले कम्तीमा एक मात्रा खोप पाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उसको विवरणअनुसार नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या १५ लाख नाघेको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म ८८ लाख ८२ हजार मात्रा खोप प्राप्त भएकोमा ५० लाख ४७ हजार मात्रा प्रयोग भइसकेको छ।

अहिलेसम्म  कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र नेपाल आएका छन्।

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने कोभिशील्डको र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।

कोभिशील्डको पहिलो मात्रा लगाएका झन्डै १३ लाख ६७ हजार जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन्।(बीबीसीबाट)

 

Share Now

Leave a comment.