Prakash Adhikari July 28, 2021

 

टोकियो(जापान), १३ साउन । नेपालकी जलपरी गौरिका सिंहलाई टोकियो ओलम्पिकमा अन्तर्राष्ट्रिय चर्चा कमाउने मौका नजुरे पनि राष्ट्रिय कीर्तिमान कायम गर्ने संयोग भने जुरेको छ ।

गौरिकाले १ सय मिटर महिला फ्रिस्टाइल पौडी १ मिनेट ११ मिलिसकेन्डमा पूरा गर्दै बुधबार आफ्नै नामको राष्ट्रिय कीर्तिमानमा सुधार गर्नुभएको हो ।

टोकियो अक्वाटिक्स सेन्टरमा भएको प्रतियोगितामा आफ्नो समूहको प्रतियोगितामा उहाँ तेस्रो बन्नुभयो । उहाँको समूहमा चार प्रतिस्पर्धी थिए । हिट्स १ मा गौरिकासँगै नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका खेलाडीले प्रतिस्पर्धा गर्नुभएको थियो । खेलमा नाइजेरियाकी एबियोला उगुन्बानयोले ५९.७४ सेकेन्डसाथ पहिलो हुनुभयो ।

खेलमा समयको आधारमा शीर्ष १६ खेलाडी सेमिफाइनलमा प्रवेश पाउने छन् । मिलिसेकेण्डको आधारमा विजेता तय हुने भएकोले गौरिकाको यो ओलम्पिक यात्रा यही टुंगिएको मानिएको छ ।

१८ वर्षीया गौरिकाको गृष्मकालीन ओलम्पिकमा दोस्रो सहभागिता हो यो । यसअघि उहाँले रियो ओलम्पिक २०१६ मा प्रतिस्पर्धा गर्नुभएको थियो । त्यतिबेला उहाँ ११ हजार बढी खेलाडीमध्ये सबभन्दा कम उमेरकी खेलाडी भएर विश्वमै चर्चा पाउनुभएको थियो ।

गौरिका त्यस बेला १३ वर्ष २ सय ५५ दिनकी हुनुहुन्थ्यो र आफ्नो हिट्समा पहिलो हुनुभएको थियो ।

नेपालले आयोजना गरेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) २०१९ मा चार स्वर्ण, २ रजत र ३ कांस्यसहित नौ पदक जित्नुभएकी उहाँले घरेलु प्रतियोगितामा सात वर्षयता कीर्तिमान कायम गरिरहनुभएको छ ।

भारतको गुवाहाटीमा भएको १२ औं साग २०१६ मा पनि गौरिकाले १ रजत र ३ कांस्यसहित ४ पदक जित्नुभएको थियो ।

 

पौडीकै १ सय मिटर पुरुष फ्रिस्टाइल खेल अलेक्जेन्डर शाहले ५३.४१ सेकेन्डमा पूरा गर्दै १८ औं फिना वर्ड च्याम्पियनशीप २०१९ मा बनाएको ५६.२८ सेकेन्डको कीर्तिमानमा सुधार गर्नुभएको थियो ।

 

Share Now

Leave a comment.