Prakash Adhikari July 30, 2021

सिड्नी(अष्ट्रेलिया), १५ साउन । अष्ट्रेलिया सरकारले सिड्नीमा थप गरिएको लकडाउन कार्यान्वयनका लागि सयौँको सङ्ख्यामा सेना परिचालन गरेको छ।

गत जुन महिनामा फैलिन सुरु भएको डेल्टा भेरिअन्टका कारण झन्डै ३,००० मानिस सङ्क्रमित भएका छन् भने ९ जनाको मृत्यु भएको छ।

पाँच सातायता लकडाउन जारी रहे पनि देशको सबैभन्दा ठूलो सहर सिड्नीमा सङ्क्रमण फैलिने क्रम जारी छ।

शुक्रवार थप १ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको छ।

तर लकडाउन कार्यान्वयनका लागि सैन्य हस्तक्षेपबारे प्रश्न उठेको छ। धेरै मानिसले त्यसलाई अनावश्यक मानेका छन्।

कम्तीमा अगस्ट २८ तारिखसम्म कायम रहने लकडाउनले मानिसलाई आवश्यक व्यायाम, किनमेल वा हेरचाहका लागि वा अन्य कारणबाहेक घरबाट निस्कन प्रतिबन्ध लगाएको छ।

अष्ट्रेलियन डिफेन्स फोर्सका सैनिकहरू धेरै सङ्क्रमण फैलिएका स्थानहरूमा लकडाउनसम्बन्धी नियम पालना भए वा भएको हेर्न प्रहरीसँगै खटिनेछन्।

लकडाउनमा १० किलोमिटरभन्दा लामो यात्रा गर्न नपाइने नियम लगाइएको छ।

स्टेट पुलिस मिनिस्टर डेभिड एलिअटले सिड्नीका केही मानिसले आफूहरूलाई नियम लागु नहुने ठान्ने भएकाले पछिल्लो कदम सहयोगी हुने बताएका छन्।

स्वास्थ्य अधिकारीहरूद्वारा उपलब्ध गराइएको सूचनाअनुसार मुख्यतया अनुमतिमा हुने गरेका हिँडडुलका कारण नै सङ्क्रमण बढिरहेको सङ्केत पाइएको छ।

अस्ट्रेलियाका वकिलहरूको गठबन्धनले सेना परिचालनलाई उदार लोकतन्त्रमा सशस्त्र फौजको चिन्ताजनक प्रयोग गरिएको प्रतिक्रिया दिएको छ।

सङ्क्रमणले विशेषगरी अत्यावश्यक क्षेत्रमा काम गर्ने मानिसलाई तथा सहरका गरिब एवं जातीय विविधता भएको पश्चिमी क्षेत्र र दक्षिणपश्चिमी बाह्य भेगमा ठूला परिवारहरूलाई प्रभावित पारेको छ।

आलोचकहरूका अनुसार ती क्षेत्रले पहिलाबाटै लक्षित नीतिगत कदम चालिरहेका छन्।

सिड्नीका बाँकी भागमा भन्दा ती क्षेत्रमा प्रतिबन्धात्मक कदमहरू कडा रहेको आलोचकहरू बताउँछन्।

कोभिड

कोभिड

“हाम्रा मानिसहरू विपन्न क्षेत्रमा बस्छन् र उनीहरूले पहिल्यैबाट निसाना बनाइएको र सीमान्त पारिएको महसुस गरेका छन्”, एक नगरप्रमुख स्टीभ क्रिस्टोले भन्नुभयो।

“उनीहरूले ऋण तिर्न, बहाल तिर्न, खाने कुरा किन्न र काम गर्न सक्दैनन्। अहिले उनीहरूले लकडाउन कार्यान्वयन गराउन सडकमा सेना परिचालन गरेका छन् र यो कदम यी मानिसहरूका निम्ति ठूलो विषय बन्नेछ”, उहाँले एसबीबएससँग भन्नुभयो।

अन्य मानिसले खोप कार्यक्रमलाई अगाडि बढाउन र प्रभावित समुदायहरूलाई सहयोग उपलब्ध गराउन आग्रह गरेका छन्।

अस्ट्रेलियामा वयस्क जनसङ्ख्यामा खोप लगाउने प्रतिशत १३ छ।

 

Share Now

Leave a comment.