बुटवल(रुपन्देही), १५ साउन । पार्टीको निर्णय तथा निर्देशन उल्लंघन गरेर मन्त्री बनेका लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त हुनुभएको छ ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई उहाँहरु आबद्ध राजनीतिक दलले पार्टी ह्वीप उल्लंघनको आरोपमा साधरण सदस्य समेत नरहने गरी अनुशासनको कारबाही गरिएकोले सो सूचना प्रदेश सभामा दिन आग्रह गरे बमोजिम प्रदेश सभा सचिवालयमा सूचना टाँस गर्नूभएको थियो ।
सांसदबाट पदमुक्त भएका तीनै जना मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा मन्त्री हुनुहुन्छ ।
जसपाको उपेन्द्र यादव पक्षकै निर्णयका आधारमा १४ वैशाखमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयसँगै सुमन शर्मा रायमाझी पदमुक्त हुनुभएको थियो।
तर सर्वोच्च अदालतले ३ जेठमा आफ्नो पक्षमा आदेश दिएपछि सबै जना प्रदेशसभामा फर्किनुभएको थियो । १८ असारमा रायमाझीले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट राजीनामा दिएर यादव पक्षमा फर्कनुभयो भने तीन जना पार्टीको निर्णय विरुद्ध सरकारमा रहिरहनुभयो ।
११ साउनमा यादव पक्षले निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएलगत्तै पार्टीको निर्णय विपरीत सरकारमा सामेल भएको, दलको ह्वीप उल्लंघन गरेको आरोपमा पार्टीले लुम्बिनीका तीन सांसदलाई कारबाही गर्ने निर्णय गर्यो ।
पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको जसपा संसदीय दलका नेता सहसराम यादवले बताउनुभयो ।
प्रदेशसभा सदस्य र पार्टी सदस्य समेत नरहने गरी कारबाही गरेको पत्र जसपा संसदीय दलमार्फत आएकाले राजनीतिक दलसम्बन्धी ऐनअनुसार प्रदेश सभामुखले तीन सांसदलाई पदमुक्त गरेको सूचना टाँस्न लगाउनुभएको थियो ।
सूचना टाँस भएसंग तीन मन्त्रीको सांसद पद गएको छ भने विपक्षमा रहेका तीन सांसदलाई दलीय निर्णय विपरित मन्त्री बनाएर सत्ता जोगाउनुभएका मुख्यमन्त्री शंकर पोखरेल अब प्रदेशसभामा अल्पमतमा पर्नुभएको छ ।


















