भेमाथाड.(सिन्धुपाल्चोक), १७ साउन । हेलम्बु गाउँपालिका–१ भेमाथाङको पहिरोको कारण शनिवार र आइतबार मेलम्ची नदीमा निरन्तर बाढी आएको पाइएको छ ।
शनिवार पनि बाढी आएर मेलम्ची किनारमा विनास गर्नुको साथै आइतबार हेलम्बु गाउँपालिकाको चन्द्रोटे बजारमा रहेको रातो पुललाई बगाएर लगेपछि बाढीको कारण खोज्न हेलिकोप्टर निरीक्षणमा निस्कनुभएका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए अनुसार मानवबस्ती रहित भेमाथाड.मा गत आषाढ १ गते देखापरेको पहिरो नै मेलम्चीको बाढीको मूल कारण हो ।
कमेरो लेदो माटो, गेग्रानको कमजोर भूबनोट भएको त्यो सानो उपत्यकाको भौगर्भिक हिसावले अत्यन्त संबेदनशील रहेको कुरा प्राकृतिक स्रोत विज्ञ डा. रविनराज निरौलाले पहिल्यै बताउनुभएको थियो ।
मेलम्चीको विनासको निरीक्षणको क्रममा आइतबार बिहान हेलिकप्टर निरीक्षणमा निस्कनुभएका अध्यक्ष शेर्पाका अनुसार भेमाथाड.मा पानी नपर्दा पनि फुको पहिरो झर्ने गरेको छ । गत आषाढ १ गते गएको पहिरोले थुनिएको मेलम्ची नदीले बनाएको अस्थायी ताल एकाएक विष्फोट हुँदा त्यहाँको ठूलो भूभाग भासिएको छ र निकै गहिरो हुने गरी धरातल सोहोरिएको छ । त्यसैले नदीको दुवैतिरका पाखाहरुबाट निरन्तर माटो,ढुंगा र ग्रेग्रानहरु झरिरहेको देखिन्छ ।
कमजोर माटो भएकोले पानी परेको बेलामा झन धेरै भूक्षय भएर पानी जम्ने , ताल पर्ने र एकैचाटी फुटेर झन ठूलो विनास मच्चाउने गरेको देखिएको छ , पहिरिन लागेको भागलाई व्यवस्था गर्न बिलम्ब भएमा सो पहिरोले लामो समय दुःख दिने देखिएको छ ।
हेलम्बुका अध्यक्ष शेर्पाले उपलब्ध गराउनु भएको भिडियो क्लिपमा मेलम्ची बिनासको मूलजड यस्तो देखिन्छ :