Prakash Adhikari August 1, 2021

–दीपक धिताल

बर्लीन(जर्मनी), १७ साउन ।  गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् जर्मनीका अध्यक्षमा मिलनराज पन्त विजयी हुनुभएको छ । उहाँले आफ्ना निकटतम् प्रतिस्पर्धी निनम्मा राईलाई २५७ मतान्तरले पछाडि पार्नुभएको थियो । निर्वाचन समितिका अनुसार नवनिर्वाचित पन्तले ८८२ र राईले ५७१ मत प्राप्त गर्नुभएकोे थियो ।

उहाँहरु दुवै निवर्तमान कार्यसमितिको उपाध्यक्षसमेत हुनुहुन्थ्यो । दुई खुला उपाध्यक्ष पदमा लोकमणि ढकाल र मेनका त्रिपाठी विजयी हुनुभएको छ । यसअघि महासचिव पदमा रहनुभएका ढकालले अहिले उपाध्यक्ष पदमा ७५१ मत र यसअघि सचिव पदमा रहनुभएकी त्रिपाठीले ५८४ मत ल्याएर उपाध्यक्ष पदमा विजयी हुनुभएको हो ।

महिला उपाध्यक्ष पदमा करुणा तुलाधर राई आफ्नो प्रतिष्पर्धी राजन देवी गौतमलाई १५८ मतान्तरले हराउँदै ७३२ मतका साथ विजयी हुनुभयो । महासचिव पदमा राजेश सुनार ७७५ मतका साथ विजयी हुनुभयो । उहाँ संस्थामा यसअघिका दुई कार्यकाल सचिव रहनुभएको थियो । उहाँका प्रतिद्वन्द्वी सिजन दाहालले भने ५९९ मत प्राप्त गर्नुभएको थियो । उहाँ नेपाली काँग्रेस निकट जनसम्पर्क समितिकासमेतको प्रवक्ता रहनुभएको छ । सचिव पदमा निमा राजभण्डारी अर्याल र सुजन बर्तौला विजयी हुनुभएको छ । उहाँहरुले क्रमशः ९३६ मत र ५३१ मत प्राप्त गर्नुभयो । दुई सचिव पदका लागि भएको निर्वाचनमा तीन जनाको उम्मेदवारी परेको थियो ।

यस्तै एक अन्तरराष्ट्रिय समन्वय परिषद् सदस्य (आइसिसी) पदका लागि भएको निर्वाचनमा सर्वाधिक ९४३ मतका साथ शङ्कर डाँगी विजयी हुनुभएको छ । उहाँले आफ्ना प्रतिस्पर्धी विनोद अधिकारीलाई ५७४ मतको सर्वाधिक फराकिलो अन्तरले पछि पारेर आइसिसीको यात्रा तय गर्नुभएको हो ।

कोषाध्यक्ष पदमा भरत कुमार चलाउने, युवा संयोजकमा सुदिप सापकोटा, सांस्कृतिक संयोजकमा लक्ष्मण जोशी, भाषा तथा बालबालिका संयोजकमा मिरा पौडेल र महिला संयोजकमा सोनी तुलाचन निर्विरोध निर्वाचित हुनुभएको छ ।

एक हजार ५९५ पञ्जीकृत सदस्य रहेको जर्मनीमा एक हजार ४३३ जनाले विद्युतीय प्रणालीमार्फत मतदान गर्नुभएको थियो । कूल मतदातामध्ये ८९ दशमलव ८४ प्रतिशतले मतदानमा भाग लिएको प्रमुख निर्वाचन आयुक्त हरेन्द्र वनेमले जानकारी दिनुभयो ।

अनलाइन भोटिङको जिम्मेवारी स्पेनको साइटल इलेक्सन टेक्नोलोजी नामक कम्पनीले लिएको थियो । स्पेनको सो कम्पनीले तीन लाख २६ हजार भन्दाबढी विद्युतीय निर्वाचन सम्पन्न गरिसकेको छ । यहि कम्पनीले स्पेनको एनआरएनए निर्वाचन पनि सम्पन्न गराएको थियो ।

जापानका अध्यक्षमा पौडेल विजयी

गैरआवासीय नेपाली सङ्घ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी हुनुभएको छ । दशौँ महाधिवेशनबाट अन्य चार प्रतिस्पर्धीलाई पछाडि पारी उहाँ निर्वाचित हुनुभएको हो । जुलाई २५ बाट जारी महाधिवेशननमा नयाँ कार्यसमिति २०२१–२३ का लागि सहमति जुटाउने प्रयास असफल भएपछि आज मतदान भएको थियो ।

निर्वाचन समितिका अनुसार कूल नौ हजार ३९४ मतदाता रहेकामा कूल सात हजार ७६७ मत खसेको थियो । नवनिर्वाचित पौडेलले तीन हजार ३८ र निकटतम् प्रतिस्पर्धी अनिता गुरुङले एक हजार ८६९ मत प्राप्त गर्नुभएको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा नवीन निउरे निर्वाचित हुनुभएको छ । यसपटक कूल २९ पदका लागि ५९ ले उम्मेदवारी दिनुभएको थियो ।

Share Now

Leave a comment.