Prakash Adhikari August 9, 2021

न्यूयोर्क(संयुक्त राज्य अमेरिका), २५ साउन(बीबीसी) । मानवीय गतिविधिले वायुमण्डल, समुद्र र जमिनमा विश्वव्यापी तापक्रम स्पष्ट रूपमा बढाइरहेको भन्दै संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलले तयार गरेको प्रतिवेदनले प्रचण्ड गर्मी, अति वर्षा, सुक्खा र चक्रवातजस्ता परिणाम विश्वभरि नै देखिन थालेको जनाएको छ।

विगतका क्रियाकलापले हरितगृह ग्यास उत्सर्जन शताब्दीऔँसम्म जारी रहने र त्यसले समुद्र एवं त्यसको सतहलाई असर गर्ने प्रतिवेदनमा औँल्याइएको छ।

तर अझै खराब परिणाम नआओस् भन्नका लागि अवसर रहेको र त्यसका निम्ति कार्बनडाइअक्साइड, मिथेन र अन्य हरितगृह ग्यास कटौती गर्न सकिने प्रतिवेदनले सुझाएको छ।

उच्च खतराको घण्टी

यो शताब्दीमा विश्वव्यापी तापमान १.५ डिग्री सेल्सियसले अथवा त्यो भन्दा बढीले वृद्धि हुने प्रतिवेदनले अनुमान गरेको छ। ‍

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन ूकोड रेडू अर्थात् मानव जातिका लागि उच्च खतराको घण्टी भन्नुभएको छ।

कोइला र अन्य जीवाश्म इन्धनले पृथ्वीलाई ध्वस्त गर्नु अगाडिको जनाउ घन्टीजस्तो सुनिनुपर्ने उहाँले बताउनुभयो।

जलवायु मामिलासम्बन्धी अमेरिकी दूत जन केरीले विश्वव्यापी तापमान १.५ सेल्सियसले बढ्नुअघि नै त्यसलाई सीमित तुल्याउन विश्व एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घको अर्को सम्मेलन आयोजना गर्न लाग्नुभएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भविष्य सुरक्षित राख्नका लागि अर्को दशक निकै महत्त्वपूर्ण रहेको बताउनुभयो।

स्वीडेनकी अभियानकर्मी ग्रेटा टुनबेर्गले प्रतिवेदनले जारी सङ्कट पुष्टि गरेको तर त्यसविरुद्ध साहसिक निर्णयहरू लिने कुरा व्यक्तिमा निर्भर गर्ने बताउनुभएको छ।

प्रतिवेदनका मुख्य बुँदा
-सन् १८५० देखि १९०० को बीचमा भन्दा सन् २०११ देखि २०२० को बीचमा विश्वव्यापी जमिनको सतहको तापक्रम १.०९ सेल्सियसले बढी रह्यो
-विगत पाँच वर्षमा सन् १८५० यताकै सर्वाधिक गर्मी भएको छ
-सन् १९०१ देखि १९७१ सम्मको तुलनामा समुद्रको सतह तेब्बरले बढेको छ
-विश्वव्यापी हिमनदीहरूमा हिउँ हराउनु र आर्कटिकमा हिउँ घट्नुको मुख्य कारक मानव प्रभाव रहेको देखिन्छ
-लूसहित अति गर्मीका घटना बारम्बार हुन थालेको र सन् १९५० को दशकयता झन् कडा भएको छ जबकि चिसोका घटना कम हुन हुनुका साथै कम कडा हुन थालेको छ

Share Now

Leave a comment.