काठमाडौं,१२ फागुन । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बस्दैछ ।
बिहान ९ बजेका लागि निर्धारित बैठकमा संसदीय दलको विधान परिमार्जन, संसदको आसन्न अधिवेशनमा पार्टीका संभावित रणनीति रपार्टीको संसदीय दलको नेता चयनलगायत विषयर्मा छलफल हुनेछ ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन सम्पन्न भइसके पनि दलको नेता चयन गरेको छैन ।
पार्टी सभापति शेरबहादुर देउवा दलको नेता बन्न इच्छुक छन् भने यसै बर्ष सम्पन्न स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले अनपेक्षित हार व्यहोरेकोले वैकल्पिक नेतृत्वको खोजी संसदीय दलको नेता चयनबाट दिनुपर्ने धारणा पनि कांग्रेसमा प्रबल भएर आएको छ ।
पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहले संसदीय दलमा निर्वाचन लड्ने संकेत दिइसकेका छन भने वर्तमान महामन्त्री शशांक कोइरालाले सर्वसम्मति भए आफू नेता बन्ने अभिव्यक्ति दिइसकेका छन् ।
आजको बैठकमा पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा निर्वाचित सबै सदस्यहरुलाई आमन्त्रण गरिएको छ ।
कांग्रेसको प्रतिनिधिसभामा ६३ र राष्ट्रियसभाका १३ गरी ७६ सांसद् छन् ।
आजको बैठकले दलको नेता चयन प्रक्रिया सुरु गरे पनि सांसद्ले शपथ लिएपछि मात्रै नेता चयन गर्ने तयारी कांग्रेसको छ ।