Prakash Adhikari August 10, 2021

काठमाडौंं, २६ साउन । नेपालमा थप ४ हजार ९ सय ४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३५ जनाको कोभिड१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ९१ हजार नाघेको छ भने मृतकको सङ्ख्या १० हजार१ सय ५० पुगेको छ।

मङ्गलवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १९ हजार १ सय २३ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ५ हजार ९ सय ६ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

अहिले कुल परीक्षणको १९.४ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा २ हजार १ सय १५ जना सङ्क्रमणमुक्त भएका छन्।

नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।

सङ्क्रमितमध्ये ३३ हजार ९ सय ८५ जना घरमा तथा ३ हजार ३ सय ४७ जना संस्थागत आइसोलेशनमा छन्।

अहिले ७ सय ६१ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १ सय ७६ जना भेन्टिलेटरमा छन्।

काठमाण्डू उपत्यकामा अन्यत्रभन्दा बढी सङ्क्रमित फेला पर्ने क्रम अहिले पनि जारी छ।

देशभरि भएका सङ्क्रमितमध्ये काठमाडौं उपत्यकामा हुनेको सङ्ख्या झन्डै ३० प्रतिशत छ।

उपत्यकामा कोरोनाभाइरस सङ्क्रमण. तीन जिल्लामा झन्डै ११ हजार सक्रिय सङ्क्रमित. साउन २५ गते अपराह्णसम्मको तथ्याङ्क.

उपत्यकामा कोरोनाभाइरस सङ्क्रमण। तीन जिल्लामा झन्डै ११ हजार सक्रिय सङ्क्रमित। साउन २५ गते अपराह्णसम्मको तथ्याङ्क।

बढ्दो सङ्क्रमणलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले उपत्यकाभित्र राति ८ बजेपछि अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेका छन्।

भदौ ८ गतेसम्म थप भएको उपत्यकाको निषेधाज्ञामा अवधिमा सार्वजनिक निजी निर्माण सामग्री बोक्ने ढुवानी साधनहरू भने बेलुका ९ बजेपछि बिहान ५ बजेसम्म मात्र सञ्चालन गर्न भनिएको छ।

स्थानीय ढुवानीका साधनहरू बिहान ९ देखि ११ सम्म र अपराह्ण ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइनेछैन। बाँकी गतिविधिहरू भने यसअघिकै निषेधाज्ञाको निरन्तरता दिइएको छ।

कतिले लगाए खोप

अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या २७ लाख पुगेको मन्त्रालयले जनाएको छ।

कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र नेपाल आएका छन्।

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने कोभिशील्डको र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।

के छ भारतको स्थिति ?

छिमेकी भारतमा विगत १ सय ४७ दिनयताकै सबैभन्दा कम कोरोनाभाइरस सङ्क्रमित पाइएको त्यहाँको सरकारी तथ्याङ्कले देखाएको छ।

भारत सरकारले मङ्गलवार बिहान प्रकाशित गरेको तथ्याङ्कअनुसार २४ घण्टाको अवधिमा भारतमा केवल २८ हजार २ सय ४ सङ्क्रमित भेटिएका थिए।

भारतले अहिलेसम्मकै उच्च निको हुने दर पनि मङ्गलवार पुष्टि गरेको छ।

सरकारी तथ्याङ्क अनुसार भारतमा ९७.४५ प्रतिशत सङ्क्रमित निको भएका छन् ।

 

Share Now

Leave a comment.