काठमाडौं, २८ साउन। लुम्बिनी प्रदेश प्रमुखले गठबन्धन सरकार निर्माणका लागि दिनुभएको अन्तिम समय रेखाभित्रै विपक्षी गठबन्धनले बहुमतको सरकार बनाउने दावी पेश गर्ने भएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई आज दिउँसो ३ बजेसम्मको समय दिएर नयाँ सरकारको लागि पेश गर्न आह्वान गर्नुभएको थियो ।
विपक्षमा रहेका कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले आज सरकारको नेतृत्वमा दाबी पेश गर्ने तयारी गरेका छन् ।
विपक्षी गठबन्धनका तर्फबाट माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीको रुपमा सारिएको छ। गठबन्धनका दुई मुख्य दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रकाबीच आठआठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
सहमति अनुसार सुरुको आठ महिनाका लागि माओवादी नेता केसीलाई अघि सारिएको हो ।
मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी दलका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि बुधबार प्रदेशसभामा उक्त अविश्वास प्रस्तावमाथि छलफल राखिएको थियो । तर प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल भइरहेका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभयो । उहाँको राजिनामा स्वीकृत गरेपछि प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठन गर्नका लागि बुधबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आह्वान गर्नुभएको थियो ।
प्रदेश सभामा बहुमत सिद्ध गर्ने अवस्था नभएकोले राजिनामा दिनुभएका प्रदेश मुख्य मन्त्री शंकर पोखरेलले सरकारको निमित्त दावी गर्ने रुचि देखाउनुभएको छैन । यसैले आज विपक्षी गठबन्धनले दावी पेश गरेपछि प्रदेश प्रमुख शेरचनले गठबन्धनले अगाडि सारेका मुख्यमन्त्रीका उम्मेद्वार कुलबहादुर के.सी.लाई नियुक्त गरी शपथ ग्रहण गराउने निश्चित जस्तै छ ।
नयाँ मुख्यमन्त्री नियुक्त भएपछि कांग्रेस र जसपालाई समेत समेटेर मन्त्रिपरिषद् गठन गर्ने तयारी भएको माओवादीले जनाएको छ ।
गठबन्धनमा सामेल राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नभई बाहिरबाटै समर्थन गर्ने जनाएको छ ।
आज मुख्यमन्त्रीसँगै माओवादी केन्द्रबाट एकजना, नेपाली कांग्रेसबाट एकजना र जसपाबाट तीन जनालाई समेटेर मन्त्रीहरुको नियुक्ति र शपथ ग्रहण गर्ने तयारी छ ।
मन्त्रिपरिषद्मा माओवादीले दाङका दामा शर्मा, इन्द्रजित चौधरी, गुल्मीका सुदर्शन बराललाई पठाउने संभावना छ भने नेपाली कांग्रेसले पाल्पाका बीरबहादुर राना वा दाङका डिल्लीबहादुर चौधरीमध्ये एकजनालाई पठाउने संभावना छ ।
जनता समाजवादी पार्टीबाट कपिलवस्तुका सहसराम यादवको नेतृत्वमा बर्दियाकी सुमन शर्मा रायमाझी र पाल्पाकी पुरमति ढेंगा मन्त्री बन्नुहुने छ । तीनजना मध्ये दुई जना विनाविभागीय मन्त्री बन्ने सहमति भएको बताइएको छ ।


















