Prakash Adhikari August 12, 2021

कायममुकायम प्रधानसेनापति रथी प्रभुराम शर्माले पूर्ण नेतृत्व सम्हालेपछि राष्ट्रिय सुरक्षा सुदृढ बनाउन साङ्गठनिक पुनर्संरचना पूरा गर्दै सीमा सुरक्षा सहितका क्षेत्रमा जोड दिनुपर्ने विज्ञहरूले बताएका छन्।

प्रधानसेनापति पूर्णचन्द्र थापा सेनाको प्रचलन अनुसार अवकाश पाउनु एक महिनाअघि सोमवारदेखि घर बिदामा बस्नुभएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा बलाधिकृत रथी शर्माले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नुभएको छ।

भदौ २४ गते प्रधान सेनापति थापाको कार्यकाल सकिएपछि शर्माले ९० हजारभन्दा बढी फौज रहेको नेपाली सेनाको नेतृत्व सम्हाल्नुहुनेछ।

पूर्ण रूपमा जिम्मेवारी सम्हाले लगत्तै प्रधानसेनापतिले आफ्नो प्राथमिकता सहितको मार्ग निर्देशन जारी गर्ने अभ्यास रहेको छ।

नेपाली सेनामा ३७ वर्ष निरन्तर सेवा गर्नुभएका शर्मा नेपालको एकीकरण जति नै पुरानो इतिहास रहेको सङ्गठनको नेतृत्व गर्ने ब्राह्मण जातिका पहिलो सेनापति हुनुहुन्छ ।

भावि प्रधान सेनापति शर्माका चुनौती र प्राथमिकता

१) सङ्गठनको पुनर्संरचना सम्पन्न गर्ने

साउनबाट सेनाले दुई दशकदेखि कायम पृतनाको संरचनालाई अन्त्य गर्दै तीन जोर एक भनिने नदीघाँटी प्रणालीमा आधारित सङ्गठनात्मक संरचनालाई कार्यान्वयनमा ल्याएको छ।

त्यस अनुसार सेनाको मुख्यालय जङ्गी अड्डाले रणनीतिक विषय मात्रै हेर्ने र नयाँ कमान्डहरूले सैनिक अपरेसनको विषय हेर्ने बताइएको छ।

उक्त पुनर्संरचनाको काम सम्पन्न हुन छ वर्ष लाग्ने भनिएको छ।

साङ्गठनिक पुनर्संरचनामा शर्मा संलग्न भएकाले त्यसको व्यवस्थित कार्यान्वयन भावी प्रधानसेनापतिको प्राथमिकतामा पर्नेछ ।

कोरोनाभाइरसको महामारीका कारण प्रभावित सामूहिक तालिमलाई निरन्तरता दिने, सुधारलाई संस्थागत गर्दै कार्यान्वयनमा लैजाने र जवानहरूको कल्याणकारी कार्यलाई प्राथमिकतामा राख्ने दृष्टिकोण शर्माबाट आउने देखिन्छ।

महामारीले पछिल्लो दुई वर्षमा तालिमलाई नराम्रोसँग प्रभावित गरेकाले सुरक्षा मापदण्ड अपनाएर तालिमलाई सुचारु गर्नुपर्ने अवस्था छ।

सुरक्षा मामिलाकी विश्लेषक इन्द्र अधिकारी नेतृत्व परिवर्तन र पुनर्संरचनासँगै सेनाको आकारबारे पुनर्विचार हुनुपर्ने बताउनुहुन्छ।

उहाँका अनुसार ूअब प्रविधि र दिमागको प्रयोग गरिएन भने सङ्ख्याबाट मात्रै सुरक्षा सुनिश्चित गर्न सकिँदैन। त्यसैले अब सङ्गठनको आकार र संरचनाबारे सोच बनाएर योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्छ।

२) राष्ट्रिय सुरक्षाको सुदृढीकरण र सीमा सुरक्षा

अवकाशप्राप्त उपरथी पूर्णबहादुर सिलवालका अनुसार राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिको परिधिमा बसेर चुनौतीहरूलाई विश्लेषण गर्नु जरुरी छ।

राष्ट्रिय सुरक्षाको सुदृढीकरण पहिलो प्राथमिकता हुनुपर्ने भएकोले देश र सेना दुवै बलियो हुने गरी आफ्नो योजना तय गर्नुपर्ने अवश्था छ।

सीमा सुरक्षामा नेपाली सेनाले थप भूमिका खेल्न सक्ने छ । शान्तिकालमा सीमा सुरक्षाको जिम्मेवारी अर्धसैनिक बलको हो। नेपालमा सशस्त्र प्रहरीले त्यो भूमिका निर्वाह गरिरहेको छ।त्यसलाई पृष्ठपोषण गर्ने शक्तिको रुपमा सेनाले साथ दिनुपर्ने हुन्छ ।

सीमा बिन्दुमा सशस्त्र प्रहरी बलले भूमिका खेलिरहेको भए पनि समग्रमा दुवै सङ्गठनको भूमिका हुन्छ। त्यसलाई समन्वयात्मक ढङ्गले अघि बढाउनुपर्छ।

अनिवार्य अवकाशमा जान लाग्नुभएका प्रधानसेनापति थापाले नेपाल र भारतबीच खुला सिमानालाई नियमन गर्नुपर्ने धारणा राख्नुभएको थियो।

लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभागलाई नेपालको नक्सामा समेट्ने सरकारको निर्णयसँगै नेपाल(भारत सीमा विवाद पछिल्लो समयमा जटिल मोडमा छ।

थापाको कार्यकालमा सेनाले सर्भे तथा सीमा अनुगमन निर्देशनालय खडा गरेको थियो जसले सीमासम्बन्धी दस्ताबेजहरू सङ्कलन गर्ने र सीमा सुरक्षाका बारेमा जानकारी राख्ने बताइन्छ।

३) सैनिक कूटनीति

मे महिनासम्मको आँकडा अनुसार हाल संयुक्त राष्ट्रसङ्घलाई सबैभन्दा बढी फौज उपलब्ध गराउने देशहरूमा बाङ्ग्लादेशपछि नेपाल रहेको छ।

विभिन्न राष्ट्रसङ्घीय मिसनहरूमा ५ हजार ५ सय ७१ जना नेपाली सुरक्षाकर्मी खटिएका छन्।

नेपालले राष्ट्र सङ्घको शान्ति स्थापना कार्यका लागि १० हजार सम्म फौज उपलब्ध गराउन सकिने बताउँदै आएको छ। त्यसमा सैनिक कूटनीति महत्त्वपूर्ण हुने जानकारहरू बताउँछन्।

त्यसबाहेक पछिल्ला वर्षहरूमा नेपाली सेनासँगको सम्बन्धलाई अमेरिकी, भारत र चीनले बढी प्राथमिकतामा राख्ने गरेका बाक्लो सैनिक भ्रमणका आदानप्रदानले देखाउँछन्।

पूर्वउपरथी सिलवाल भन्नुहुन्छ, “नेपालको राष्ट्रिय हितलाई प्रवर्द्धन गर्ने र प्रतिरक्षा गर्ने काम नेपाली सेनाले आफ्नो समकक्षी र त्यहाँका निकायहरूसँग सम्बन्ध राखेर गर्ने हो।ू

उहाँका अनुसार आफ्नो देशलाई के गर्दा फाइदा हुन्छ त्यसका लागि लबिङ गर्ने हो। मुलुकको विदेश नीतिको परिधिभित्र रहेर त्यस्तो काम गरिन्छ ।

नेपाली सेनाको हकमा विदेशी सेनासँग सम्बन्ध राख्ने, तालिमहरू आदानप्रदान गर्ने, भ्रमणहरूमा बोलाउने र सम्बन्ध सुधार्ने जस्ता कामले पनि हाम्रो देशलाई मद्दत पुग्छ ।

४) अस्थिर राजनीतिबीच स्थिरता

दुई पटकको प्रतिनिधिसभा विघटनको प्रयासलाई सर्वोच्च अदालतले रोकिदिएपछि उत्पन्न राजनीतिक परिस्थितिमाझ सेनामा नेतृत्व हस्तान्तरण हुन लागेको हो।

वर्तमान सरकारले तीन वटै तहको चुनाव सम्पन्न गराउनु पर्नेछ।

सुरक्षा मामिला विश्लेषक अधिकारी अस्थिर राजनीतिक अवस्थाले सुरक्षा चिन्ता बढाउने बताउनुहुन्छ।

उहाँका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध वा सीमा सम्बन्धका विषयहरू राजनीतिक समूहका राजनीति गर्ने विषयहरू बन्दै गर्दा राष्ट्रिय सुरक्षामा अप्ठेरो पर्ने स्थिति अवश्य आउन सक्छ। विभिन्न चलखेल हुने, कमजोरीहरू देखा पर्ने र स्वार्थ समूहहरूले प्रभाव बनाउँदै र बढाउँदै जाने हुनसक्छ।

तर धर्म र सङ्घीयतालाई विभिन्न राजनीतिक पक्षले मुद्दा बनाउन थाले पनि राष्ट्रिय सुरक्षाको अन्तिम अस्त्र मानिने नेपाली सेना राजनीतिमा हाम फाल्ने सम्भावना आफूले नदेखेको उहाँले बताउनुभयो।

५) सुशासन र पारदर्शिता

आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै कार्यकाल आरम्भ गरेका प्रधानसेनापति थापाको कार्यकालमा आर्थिक अनियमितता र नक्कली शैक्षिक प्रमाणपत्र सहितका अनियमिततामा उच्च अधिकारीसहित कैयौँलाई कारबाही गरिएका विवरण आएका थिए।

शान्ति सैनिक छनौटमा भनसुन हुनसक्ने अवस्था समाप्त पारेको भन्दै थापाको प्रशंसा भएको थियो।

विश्लेषक अधिकारी कैयौँ त्यस्ता अनियमितता प्रमाणित भएको उल्लेख गर्दै सुशासनको हिसाबले त्यो साधारण कदम भएको बताउनुहुन्छ।

भावी प्रधानसेनापतिले त्यसलाई पछ्याए नेपाली सेनाको छवि थप सुध्रिने उहाँको बुझाइ छ।

अधिकारी जस्ता कैयौँ विश्लेषकहरूले नेपाली सेनाले आफ्नो सङ्गठनको कल्याणकारी कोषलाई प्रत्यक्ष व्यवसायका क्षेत्रमा परिचालन गर्न नहुने र सेनाले आफूलाई एउटा विशुद्ध सुरक्षा सङ्गठनको रूपमा कायम गर्नुपर्ने बताउँदै आउनुभएको छ।

प्रधानसेनापति थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै कार्यकाल आरम्भ गर्नुभएको थियो

६) महामारी र विपद् व्यवस्थापन

कोरोनाभाइरसको महामारीसँग जुझ्न अग्रमोर्चामा खटिने निकायमध्ये नेपाली सेना पनि पर्छ।

विपद् व्यवस्थापन र राष्ट्रिय निकुञ्ज जस्ता प्राकृतिक सम्पदाको सुरक्षाको जिम्मेवारी पनि पाएको सङ्गठनको भूमिका भावी दिनमा अझ बढ्ने उपरथी सिलवाल बताउनुहुन्छ।

यसै साता सार्वजनिक भएको एउटा राष्ट्र सङ्घीय प्रतिवेदनले जलवायु परिवर्तन मानव जातिका लागि उच्च खतराको घण्टी रहेको उल्लेख गरेको छ।

उपरथी सिलवाल विगतमा हिमतालबाट पानीको सतह घटाउने सहित विपद् व्यवस्थापनका क्षेत्रमा नेपाली सेनाको अरू निकायभन्दा बढी अनुभवी भएकाले अझ क्षमता विस्तार गरिनुपर्ने बताउँनुहुन्छ।

कायममुकायम प्रधानसेनापति शर्माको परिचय

रथी शर्माले सन् १९८४ मा श्री पुरानो गोरख गणबाट आफ्नो सैनिक जीवन आरम्भ गर्नुभएको थियो।

भारतबाट न्याश्नल डिफेन्स कोर्स गर्नुभएका शर्माले अमेरिकाका विभिन्न शिक्षालयहरूबाट तालिमहरू गर्नुभएको छ।

नेपाल(भारतबीच वार्षिक रूपमा सञ्चालन हुने सुरक्षासम्बन्धी उच्चस्तरीय बैठकहरूमा भाग लिएको अनुभव पनि उहाँमा छ।

उहाँ युद्ध कार्य महानिर्देशक, संभाररथी महानिर्देशक र बलाध्यक्षजस्ता जङ्गी अड्डा भित्रका महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै नेपाली सेनाको दोस्रो उच्च पद बलाधिकृतमा पदोन्नति हुनुभएको हो ।

राष्ट्र सङ्घको पूर्वी टिमोर र कङ्गोमा रहेको मिसनमा खटिने नेपाली फौजको कमान्ड गर्नुभएका शर्मा सन् २००८ देखि २०११ सम्म बाङ्ग्लादेशको ढाकामा सैनिक सहचारी हुनुहुन्थ्यो।

त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गर्नुभएका कायममुकायम प्रधान सेनापति शर्माले भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफीलसम्म अध्ययन गर्नुभएको छ।(बीबीसीबाट)

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*