Prakash Adhikari August 15, 2021

काठमाडौं, ३१ साउन । माइनस ७० डिग्री सेल्सीअसमा भण्डारण गरिने कोभिड १९ विरुद्धको फाइजर खोप केन्द्र र प्रदेशहरूमा भण्डारण गर्न मिल्नेगरी संरचनाहरू निर्माण गर्ने प्रक्रिया अघि बढाइएको स्वास्थ्य सेवा विभागका एक वरिष्ठ अधिकारीले बताउनुभएको छ।

सरकारले ६० लाख फाइजर खोप खरिद गरिएको र त्यो आगामी पौष र माघ महिनासम्ममा नेपालमा आइसक्ने बताइरहँदा उक्त खोपको भण्डारण पूर्वाधार नेपालमा उपलब्ध छैन।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुखले खोप भण्डारणको क्षमता विस्तारको कामलाई अघि बढाइएको र सन् २०२२ को प्रारम्भमा फाइजर खोप राख्न मिल्ने किसिमको चिस्यानसहितको भण्डारण क्षमता जडान भइसक्ने बताउनुभयो।

बिहीवार प्रतिनिधिसभाको बैठकमा बोल्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले हाल देशभर २५ लाख खोप भण्डारण गर्ने क्षमता रहेको बताउनुभएको थियो।

भण्डारण क्षमता  बढाउन जरुरी

आगामी असोज महिनासम्म थप ९० लाख मात्राभन्दा बढी खोप ल्याउने लक्ष्य राखेको सरकारले माघ महिनासम्म मोडेर्ना र फाइजरसहित कुल ५ करोड २२ लाख मात्रा खोप नेपाल ल्याइसकिने जनाएको छ।

त्यसमा माइनस ७० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने फाइजर खोप पनि पर्छ।

उक्त खोप अमेरिकी औषधि नियामक निकाय एफडीएका अनुसार साधारण फ्रिजमा एक महिनासम्म मात्र भण्डारण गर्न मिल्छ।

तर हालसम्म धेरै चिसोमा राख्नुपर्ने त्यस्तो खोप भण्डारण गर्ने व्यवस्था नेपालमा नभएकाले त्यसको लागि खरिदको प्रक्रिया अघि बढाइएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले बताउनुभयो।

‘अहिले हामीलाई मुख्य चुनौती फाइजर खोपको लागि हो। त्यो भण्डारण गर्न ठाउँ एकदमै कम चाहिने भएपनि अहिले हाम्रो भण्डारणको क्षमता लगभग शून्य हो। अब हामी त्यसलाई विस्तार गर्दैछौँ।’ पोखरेलले भन्नुभयो ।

खोप

 

उहाँले विश्वव्यापी खोप साझेदारी कार्यक्रम कोभ्याक्सबाट नेपालले निकट भविष्यमा नै ‘कोल्ड चेन’ को व्यवस्थासहित एक लाख मात्रा फाइजर खोप प्राप्त गर्ने बताउनुभयो ।

उहाँले विभिन्न दातृनिकायले सहयोग गर्न खोजिरहेको भन्दै माइनस ७० डिग्रीसम्मको चिस्यान कायम राखेर खोप भण्डारण गर्न सकिने फ्रिजरहरू बजारमा सहजै उपलब्ध नभइरहेको बताउनुभयो ।

‘हामी खरिदको प्रक्रियामा पनि छौँ र मन्त्रालयबाट बजेट स्वीकृति लिन खोजिरहेका छौँ। केही साझेदारहरूले सहयोग गर्ने भनिरहनु भएको छ। हामीसँग त्यस्ता फ्रिजर छैनन्। त्यसको निर्माण र सञ्चालनका लागि कोभ्याक्सले हामीलाई सहयोग गर्ने भन्ने कुरा छ। मलाई लाग्छ त्यो सन् २०२२ मा मात्रै हामीले तयार पार्न सक्छौँ।’

कस्ता पूर्वाधार ?

नेपालले हालसम्म कोभिड १९ को महामारी देखा पर्नुअघि विभिन्न खोप अभियान सञ्चालन गर्न आफूसँग रहेको क्षमताबाट कोभिड १९

को खोप भण्डारण गरिरहेको परिवार कल्याण महाशाखाका प्रमुख डा. पोखरेलले बताउनुभयो।

सरकारले १२ देखि १८ वर्षको उमेर समूहका किशोरकिशोरीलाई दिने फाइजर र मोडेर्नाको खोपको एक करोड मात्रा सुनिश्चित गरिएको बताउँदै आएको छ।

त्यही भएर ती खोपको भण्डारण क्षमता तल्लो निकायसम्म नै विस्तार गर्नुपर्ने आवश्यकता देखिन्छ।

डा. पोखरेलले केन्द्रमा चारवटा र प्रदेशमा सातवटा माइनस तापक्रममा खोप भण्डारण गर्ने फ्रिजर खरिदको प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

मोडेर्ना

मोडेर्ना खोप १२ देखि १८ वर्षका किशोर किशोरीलाई दिने सरकारले बताएको छ

नेपालले विश्व ब्याङ्क र गाभीमार्फत् ४० लाख मात्रा मोडेर्ना खोप खरिद गर्न यसै साता सम्झौता गरेको छ।

माइनस ५० देखि माइनस १५ डिग्री सेल्सीअसबीचको फ्रिजरमा भण्डारण गरिने उक्त खोप २ देखि ८ डिग्री सेल्सीअस तापक्रम कायम गर्न सक्ने रेफ्रिजेरेटरमा एक महिनासम्म राख्न सकिने बताइएको छ।

हालै ८ लाख मात्रा आस्ट्राजेनेका खोप उपलब्ध गराएको जापान सरकारले सेप्टेम्बर महिनासम्ममा १८ वटा एक ठाउँबाट अर्को ठाउँ लैजान मिल्ने कूलर नेपाललाई उपलब्ध गराउने उहाँको भनाइ छ।

त्यसलाई सातवटै प्रदेशमा पुर्‍याइने उहाँले बताउनुभयोे।

त्यसबाहेक माइनस २५ देखि ३० डिग्रीमा कायम राख्ने कूलर खरिदको प्रक्रिया पनि अघि बढिसकेको उहाँले जानकारी दिनुभयो।

कुन खोप तत्कालै आउँदैछ ?

प्रतिनिधिसभामा बोल्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले आगामी दुई हप्ताभित्र १६ लाख भेरो सेल खोप चीनबाट अनुदानस्वरूप प्राप्त हुने बताउनुभएको थियो ।

चीनबाट खरिद गरिएको ६० लाख भेरो सेल खोप चरणबद्ध रूपमा असोज मसान्तसम्म प्राप्त भइसक्ने उहाँको भनाइ छ।

खोप

त्यसबाहेक भारतलाई पैसा तिरेर पनि प्राप्त हुन बाँकी रहेको कोभिशील्ड खोप चाँडै प्राप्त हुने उहाँले बताउनुभएको छ।

असोज मसान्तसम्म कुल २ करोड ५ लाख खोप प्राप्त हुने र त्यसले नेपालको जनसङ्ख्याको एकतिहाइलाई खोप लगाउने सरकारी भनाइ छ।

डा. पोखरेलका अनुसार यसअघि एक मात्रा मात्र हुने भेरो सेलको भायल प्राप्त भएकाले भण्डारण गर्न बढी स्थान चाहिने गरेकोमा अब पाँच डोजको भायल प्राप्त हुने भएकाले सहज हुनेछ।

पाँच मात्रायुक्त भायल प्राप्त भएको अवस्थामा ४० लाख भेरो सेलको मात्रा भण्डारण गर्न सकिने उनले बताए।

नेपालले शनिवार अपराह्णसम्म पौने ८० लाख जनालाई कोभिड १९ विरुद्धको खोप दिएको छ जसमध्ये पूर्ण मात्रा लगाउनेको सङ्ख्या ३३ लाखभन्दा धेरै छ।

सरकारले माघ महिनासम्म ५ करोड २२ लाख मात्रा खोप नेपाल भित्र्याइसक्ने जनाएको छ।(बीबीसीबाट)

 

Share Now

Leave a comment.