Prakash Adhikari August 17, 2021

काठमाडौं, १ भाद्र । तालिबानले द्धन्द्धग्रस्त अफगानिस्तानको राजधानी कब्जामा लिएपछि त्यहाँ कार्यरत १ सय १८ जना नेपाली आज काठमाडौं आइपुगेका छन् । रोजगारीका लागि काबुल पुगेका नेपाली मध्ये अमेरिकी सेनाको पहिलो खेपको उद्धारमा परेका  उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

उनीहरुलाई अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले  उद्धार गरेर कतारको दोहा पुर्याएको थियो । दोहाबाट कुबेत हुँदै उनीहरुलाई काठमाडौं ल्याइएको हो ।

अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा नेपालीलाई पठाउने कम्पनी एफएसआई वर्ल्डवाइड नेपालका सञ्चालक बुद्धिबहादुर गुरुङले ३ सय ८५ जना नेपालीलाई अमेरिकाले उद्धार गरेर दोहा पुर्याएको र तीमध्ये १ सय २७ जना आज बिहान नेपाल आइपुगेको बताउनुभएको छ ।

तर परराष्ट्र मन्त्रालयले भने १ सय १८ जना नेपाली काठमाडौं आएको जानकारी दिएको छ।

अफगानिस्तानबाट आएका नेपालीहरुलाई सामाखुसीस्थित एक क्वारेन्टिनमा राख्ने र प्रक्रिया पुर्याएर घर फर्काइने तयारी छ ।उनीहरुलाई लिन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ ।

अफगानिस्तानमा अझै केही नेपालीहरु उद्धारको पर्खाइमा छन् । परराष्ट्र मन्त्रालयले सोमबार साँझसम्म १ सय ३४ नेपालीहरु सम्पर्कमा आएको र सम्पर्कमा आएका सबैलाई उद्धार गर्ने जनाएको छ ।

विद्रोही तालिबान समूहले अफगानिस्तानमा नियन्त्रण जमाएपछि त्यहाँका राष्ट्रपति असरफ घानीले आइतबार देश छाडेर उज्वेकिस्तानमा शरण लिनुभएको छ ।

विभिन्न देशहरुले सेना पठाएर आफ्ना नागरिकहरुलाई उद्धार जारी राखेका छन् । परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघ र सहयोगी देशहरुलाई पत्र लेखेर नेपालीहरुलाई पनि उद्धार गरिदिन आग्रह गरेको छ ।

 

Share Now

Leave a comment.