Prakash Adhikari August 19, 2021

काठमाडौं, ३ भाद्र । नेपालमा थप ३३ जनाको कोभिडका कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बिहीवार अपराह्ण प्रकाशित गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा थप ३ हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २ हजार १ सय २६ जना निको भएका छन्।

कुल १६ हजार ४ सय ३८ परीक्षण गर्दा १८.७ प्रतिशतमा कोभिड सङ्क्रमण देखिएको हो।

तीमध्ये झन्डै ४ हजार ५ सय जनामा एन्टिजन परीक्षण गरिएकोमा ७ सय ५४ जनामा कोभिड पुष्टि भएको हो।

नेपालमा हालसम्म कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ४ सय २९ पुगेको छ भने सङ्क्रमितको कुल सङ्ख्या आठ लाख २० हजार नाघेको छ।


अहिले नेपालमा ४० हजार ५ सय जनामा सक्रिय सङ्क्रमण छ।

कहाँ छन् सङ्क्रमित ?

तीमध्ये ३ हजार ३ सय ८६ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ। अस्पतालमा उपचार गराइरहेकामध्ये ७ सय ३९ जना सघन उपचार कक्ष आईसीयूमा र १ सय ६८ जना भेन्टिलेटरमा छन्।

विगत २४ घण्टामा सबैभन्दा बढी काठमाडौं जिल्लामा ६ सय २९ सङ्क्रमित भेटिएका हुन्।

अहिले काठमाडौंमा ८ हजार ९५ जना, भक्तपुरमा १ हजार ४ सय ४९ जना र ललितपुरमा २ हजार २ सय ६ जना गरी उपत्यकामा कुल ११ हजार ७ सय ५० जनामा सक्रिय सङ्क्रमण छ।

नेपालभरि २१ जिल्लामा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप १९ जिल्लामा २ सय देखि ४ सय ९९ सक्रिय सङ्क्रमित रहेका मन्त्रालयको तथ्याङ्क छ।(बीबीसीबाट)

Share Now

Leave a comment.