Prakash Adhikari August 20, 2021

काठमाडौं, ४ भाद्र । नयाँ पार्टी गठनको लागि निर्वाचन आयोगमा निवेदन दिनुहुने वरिष्ठ बामपन्थी नेता माधवकुमार नेपाल र महन्थ ठाकुरले आआफ्ना पार्टीको नाममा सशोधनको निवेदन दिनुभएको छ ।

निर्वाचन आयोगबाट प्राप्त जानकारी अनुार नेता नेपालले आफ्नो प्रस्तावित पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) राख्न माग गर्दै सशोधनको निवेदन दिनुभएको छ ।

नेकपा एमालेबाट विभाजित भई नेता माधव नेपालको अध्यक्षतामा गठित नेकपा एमाले (समाजवादी)ले स्वयं अर्कै नयाँ नाम प्रस्ताव गरी आज निवेदन दर्ता गराएको हो ।

नेकपा एमाले (समाजवादी)ले बुधबार दल दर्ताका लागि दिएको निवेदनमा उल्लेखित दलको नाम परिवर्तन गर्न निवेदन संशोधन दर्ता गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दल दर्ताका लागि आयोगले यही भाद्र ९ गते सनाखतका लागि दलका सदस्यलाई बोलाएको छ । दलका सांसद र कार्यसमिति सदस्यको सनाखतपछि आयोगको बस्ने बैठकले दल दर्तासम्बन्धी निर्णय सुनाउने छ ।

यसअघि माधव नेपाल समूहले प्रस्ताव गरेको नामका विषयमा अनौपचारिक छलफल हुँदा विगत नेकपाकै जस्तो परिस्थिति आउन सक्ने आकलन गरी नाम परिवर्तनका लागि निवेदन संशोधन गरिएको अनुमान छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतबाट भएको फैसलाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई ऋषि कट्टेलको नेकपासँग नाम मिल्न गयो भनी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता खारेज गरेको थियो ।

महन्थ ठाकुरको अध्यक्षतामा गठित जसपा लोकतान्त्रिकको नाम पनि संशोधन गरी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल राख्न निवेदन प्रस्तुत भएको छ ।

आयोगले ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई पनि सनाखतका लागि भाद्र ९ गते नै बोलाएको छ ।

Share Now

Leave a comment.