Prakash Adhikari August 27, 2021

काठमाडौं, ११ भाद्र । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि पार्टी सभापतिको पहिलो औपचारिक घोषणामा बहालवाला उपसभापति विमलेन्द्र निधिले बाजी मार्नुभएको छ ।

वडा अधिवेशन १८ गतेबाट सुरु हुने निश्चित भएपछि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आज(शुक्रबार) नयाँ बानेश्वरको थापा गाउँस्थित बानेश्वर बैक्वेटमा आफ्नो सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ ।

सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले आगामी निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने घोषणा गर्नुभएको हो।

उहाँले आगामी वर्ष हुने स्थानीय तह, प्रदेश र संघीय संसदका तीनवटै तहमा नेपाली कांग्रेसलाई बहुमतमा पुर्याउन आफूले सभापतिमा उम्मेदवारी दिने स्पस्ट पार्नुभयो।

उहाँले कांग्रेसलाई मजबुत बनाउँदै रुख छापलाई हिमाल, पहाड, मधेशमा स्थापित गराउन र मतदाता र जनतासँग जोड्न आफूले उम्मेदवारी दिएको दाबी गर्नुभएको छ।

,‘मलाई विश्वास छ, नेपाली कांग्रेसलाई आगामी एक, डेढ वर्षपछि हुने आम चुनावमा, देशको सबै तहको चुनावमा रुख छापलाई जिताउन हामी सफल हुनेछौँ। मेरो सम्पूर्ण ध्यान नेपाली कांग्रेसको सभापति हुनेमा छन्।’उहाँले भन्नुभयो

निधिले नेपाली कांग्रेसको दूरदर्शिताका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै वर्तमान प्रणाली र संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्ने बताउनुभयो।

आफूहरु संघीयता र संविधानको सफल कार्यान्वयनको पक्षमा रहेको कुरा जनतालाई बुझाउनु आवश्यक रहेको भन्दै उहाँले १४ औँ महाधिवेशनबाट कांग्रेसलाई वैचारिक रुपमा प्रष्ट र प्रतिवद्ध बनाएर लगिने बताउनुभयो ।

उपसभापति निधिले कांग्रेसको नेतृत्व गुटबाट माथि उठेर देश र जनताको पक्षमा काम गर्ने स्तरमा पुग्न आवश्यक भएको पनि बताउनुभयो ।

 

Share Now

Leave a comment.