Prakash Adhikari August 28, 2021

काठमाडौं, १२ भाद्र । क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने,क्षेत्रीय र महाधिवेशन तथा महासमिति चयनमा सबे जिल्लालाई समान मापदण्ड कायम गर्नुपर्ने लगायतका माग राख्दै रिले अनशनमा बस्नुभएका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले अनशन तोड्नु भएको छ ।

क्रियाशील सदस्यता विवाद टुंग्याउने जिम्मा पाएका नेताहरु कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकले शनिबार साँझ पार्टी कार्यालय सानेपा पुगेर माग पूरा भइसकेकोले अनशन अन्त्य गर्न अनशनकारी जिल्ला सभापतिहरुलाई जानकारी गराउनुभएपछि अनशन अन्त्य भएको हो।

अनशन तोडाउन पुग्नुभएका नेता सिटौलाले जिल्ला सभापतिहरुले उठाएका सबै माग पूरा भइसकेकोले अब जिल्ला सभापतिहरुलाई आफ्नो शक्ति ममहाधिवेशनको मैदानमा देखाउनु पर्ने अवस्था आएकोले सोको तयारीमा लाग्न आग्रह गर्नुभएको थियो ।

आज रिले अनशनमाकाठमाडौं, उदयपुर र संखुवासभाका जिल्ला सभापति रहनुभएको थियो । क्रियाशील सदस्यहरुको सूची यथाशीघ्र उपलब्ध गराउनुपर्ने लगायतका माग राखेर मंगलबारदेखि विभिन्न जिल्लाका सभापतिहरुले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा रिले अनशन शुरु गर्नुभएको थियो ।

सभापतिहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका लागि बनाइएको दोहोरो मापदण्ड हटाई एउटै बनाउनुपर्ने र क्रियाशील सदस्यता विवाद मापदण्ड अनुसार अन्त्य गर्नुपर्ने माग राखेर अनशन शुरु गर्नुभएको थियो ।

जिल्ला सभापतिहरुको अनशन अन्त्यका लागि शनिबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा बस्नुभएको थियो ।

छलफलमा जिल्ला सभापतिहरुले उठाएह्का सबै माग पूरा गर्ने सहमति भएपछि नेतात्रय सिटौला, रिजाल र लेखक पार्टी कार्यालय पुगेर अनशन अन्त्य गर्न अनशनकारी जिल्ला सभापतिहरुलाई अनुरोध गर्नुभएके थियो ।

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म निर्धारण गरेको छ ।

क्रियाशील सदस्यता विवादको कारण यही भदौ १६ देखि १९ गतेसम्म निर्धारण भएको महाधिवेशनको प्रक्रिया शुरु हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन गर्ने मिति तोकेको हो ।

नयाँ कार्य तालिका अनुसार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।

 

Share Now

Leave a comment.