सानेपा(ललितपुर), १३ फागुन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय सभामा ३ सदस्य मनोनयनका सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको गम्भीर उल्लंघन गरेको ठहर गर्दै त्यसको भत्सर्ना गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय बीपी स्मृति भवन,वीपी नगर, सानेपा ललितपुरमा बसेको बैठकको निर्णय नं ३ मा सो कुरा उल्लेख छ ।
संविधानको धारा ८६ को उपधारा (२) को (ख) बमोजिम राष्ट्रिय सभामा ३ सदस्य मनोनयनका लागि नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले गरेको सिफारिस सम्माननीय राष्ट्रपतिले स्वीकृत नगर्नु संविधानको धारा ६६ को उपधारा (२) को ठाडो उल्लंघन भएको ठहर गर्दै नेपाली कांग्रेसले भनेको छ, ‘निर्वाचन प्रयोजनका लागि गठन भएको सरकारले सबै तहको निर्वाचन सम्पन्न गरेर संविधानको धारा ८६ को उपधारा (२) को (क) बमोजिम राष्ट्रिय सभामा निर्वाचनको प्रकृयाबाट ५६ जनाको चयन गरिसक्दा सोही धारा र उपधाराको (ख) बमोजिम ३ जनाको मनोनयनलाई सिफारिस गर्नु व्यवहारिक र संवैधानिक कदम थियो । यसर्थ, बैठकले सम्माननीय राष्ट्रपतिको कदमलाई असंवैधानिक ठहर गर्दै घोर भत्सर्ना गरेको छ ।’
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरुको फागुन १२ को संयुक्त बैठकले सर्वसम्मत रुपमा पारित गरेको “नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधित तथा परिमार्जन सहित, २०७४)” लाई सर्वसम्मतिले अनुमोदन पनि गरेको छ
आजको बैठकले नेपाली कांग्रेस संसदीय दलको नेता एवं संसदीय दल कार्यसमितिको निर्वाचनका लागि चिनकाजी श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन पनि गरेको छ। समितिमा भीष्मराज आङ्दम्वे र नविन्द्रराज जोशी सदस्य रहेका छन् ।
आजको बैठक प्रारम्भ गर्दै सभापति देउवाले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको गम्भीर समिक्षा गरेर प्राप्त निष्कर्ष बमोजिम पार्टीलाई अघि बढाउने सन्दर्भमा आगामी बैठक मार्फत निर्णय गरिने जानकारी गराएका थिए ।
बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा पार्टीको पराजय र नेपाली कांंग्रसले लिनु पर्ने आगामी कदमका बारेमा लिखित मन्तव्य सहितको भावोत्तेजक प्रस्तुति दिएका थिए ।
बैठकमा केन्द्रीय सदस्यहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल, डा.प्रकाशशरण महत, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्दम्वे, आनन्दप्रसाद ढुंगाना, नविन्द्रराज जोशी, चन्द्र भण्डारी, धनराज गुरुङ, पुष्पा भुसाल, मिन विश्वकर्मा, सिता गुरुङ, चिनकाजी श्रेष्ठ, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, प्रवक्ता विश्वप्रकाश शर्मा, रमेश लेखक र आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्काले निर्वाचनमा नेपाली कांग्रेसको पराजय र आउदा दिनमा निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा आफ्ना विचार राखेका थिए ।